२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

मछिन्द्रको सान निरन्तर

अर्जुन राजवंशी

बिर्तामोड — स्टार खेलाडीहरूको ज।मघट मछिन्द्र क्लबले एक सातामै लगातार दोस्रो उपाधि जितेको छ । टोलीले आइतबार झापाको झिलझिलेमा सम्पन्न तेस्रो सताक्षी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको हो ।शिवसताक्षी नगरपालिका ११ स्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको मैदानमा भएको फाइनलमा मछिन्द्रले थ्रीस्टार क्लबलाई १–० गोलले पराजित गर्यो ।

मछिन्द्रको सान निरन्तर

मछिन्द्रले साता अघिमात्र निर्णायक खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको थियो । फरवार्ड विमल घर्तीमगरले पेनाल्टीमार्फत तेस्रो मिनेटमा गरेको गोल निर्णायक बन्यो । मछिन्द्रका विदेशी खेलाडी अडेलाजा सोमिडेलाई थ्रीस्टारका अशोक खवासले बक्सभित्र लडाएपछि मछिन्द्रले पेनाल्टीको अवसर पाएको थियो ।


उपाधि जितेको मछिन्द्रले नगद ६ लाख रुपैयाँ र उपविजेतामै चित्त बुझाएको थ्रीस्टारले नगद ३ लाख रुपैयाँ पायो । खेलको ९ औं मिनेटमा विशाल राई ‘बी’ को हेड बल थ्रीस्टारका गोलकिपर पूर्ण चेम्जोङले जोगाए । २३ औं मिनेटमा थ्रीस्टारका लालरामले डिबक्सभित्रबाट गरेको कडा प्रहार बार नजिकैबाट बाहिरिन पुग्यो । ३९ औं मिनेटमा अशोक खवासको पासमा लालरामले गरेको अर्को प्रहार पनि खेर गयो ।


४३ औं मिनेटमा मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठ बिट भएको अवस्थामा लालरामले गरेको प्रहार गोल लाइनमा रहेका डिफेन्डर देबेन्द्र तामाङले बचाए । ४६ औं मिनेटमा रेजिन सुब्बाको पासमा विमान राईको प्रहार अकासिएको थियो । ६६ औं मिनेटमा मछिन्द्रका एन्ड्रेस नियाको प्रहार रिबाउन्ड भएको थियो । उक्त बललाई पुनः विशाल राईले कडा प्रहार गरे पनि किपर चेम्जोङले पञ्च गरेर जोगाए ।


७४ औं मिनेटमा थ्रीस्टारका मिक्चेन तामाङको फ्रिकिक प्रहार पोस्ट बारमा लागेर बाहिरिएको थियो । विजेता टिमका डिफेन्डर देबेन्द्र तामाङ म्यान अफ फाइनल भई नगद १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको पुरस्कार थ्रीस्टारका कप्तान विक्रम लामाले जिते । उनले नगद ५० हजार रुपैयाँ प्राप्त गरे ।


उत्कृष्ट गोलकिपर मछिन्द्रका विशाल श्रेष्ठ, उत्कृष्ट फरवार्ड रेजिन सुब्बा, मिडफिल्डर थ्रीस्टारका रूपेश केसी, डिफेन्डर मछिन्द्रका विदेशी खेलाडी पिटर सेगुन, प्रशिक्षक विजेता टिमका प्रवेश कटुवाल र सर्वाधिक गोलकर्ता सन्जोग राई घोषित भए । प्रतियोगिताको उदीयमान खेलाडीको पुरस्कार आयोजक सतासीधाम स्पोर्टिङ क्लबका सञ्जित राईले पाए । विद्यागत उत्कृष्ट सबै खेलाडीहरूलाई जनही २० हजार रुपैयाँका दरले नगद पुरस्कार प्राप्त गरे ।


४ गतेदेखि सुरु भएको गोल्डकपमा ‘ए’ डिभिजनका चारसहित आठ टिमको सहभागिता रहेको थियो । गोल्डकप स्थानीय सतासीधाम स्पोर्टिङ क्लबले आयोजना गरेको थियो ।

प्रकाशित : फाल्गुन १२, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?