१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रंगभेद, फिक्सिङ र अमान्य गोल

घरेलु फुटबलको सबैभन्दा प्रतिष्ठित ‘ए’ डिभिजन लिगमा यसपालि मैदान बाहिर र भित्रका केही घटना यस्ता रहे
राजु घिसिङ

काठमाडौँ — नयाँ च्याम्पियनको रूपमा मछिन्द्र क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७६ को उपाधि जितेको ठीक एक साता भयो । सहभागी १४ क्लबले मंसिर २८ देखि फागुन ३ सम्म दशरथ रंगशाला र एन्फा कम्प्लेक्स, सातदोबाटोमा ९१ खेल खेले । घरेलु फुटबलको सबैभन्दा प्रतिष्ठित मानिने प्रतियोगिता ‘ए डिभिजन लिग’ मा यसपालि मैदानबाहिर र भित्रका चर्चित ७ घटनाक्रम :

रंगभेद, फिक्सिङ र अमान्य गोल

खुलमखुला फिक्सिङ ?

२०७५ सालको उपाधि होडको प्रतिस्पर्धा चर्किंदै गएको बेला मनाङका प्रशिक्षक सुमन श्रेष्ठले पत्रकार सम्मेलनमै प्रतिद्वन्द्वीमाथि मिलेमतोको आरोप लगाएका थिए । उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले कारबाही गर्नुको सट्टा प्रदेश प्रशिक्षकको पुरस्कार दिएको थियो । त्यसैले हुनसक्छ, यसपालिको लिगमा पनि प्रशिक्षक र अफिसियलहरू खुला रूपमै ‘फिक्सिङ’ को आरोप–प्रत्यारोपमा ओर्लिए ।


विभागीय टिम एपीएफ र सरस्वती युवा क्लब रेलिगेसनबाट कसरी जोगिने भन्ने दबाबमा थिए । ठीक यही बेला मैदानबाहिर चलखेल सुरु भयो । सरस्वतीले नवौं खेलमा आएर हिमालयन शेर्पालाई ४–३ ले हरायो । त्यसअघिका ८ खेलमा २ गोलमात्रै गरेको सरस्वतीको यो लिगमा त्यो नै पहिलो र एकमात्र जित रह्यो । एन्फा कम्प्लेक्सको खेल उस्तै नाटकीय थियो । पहिलो हाफमा ४ गोल भयो । अन्त्यतिर १० मिनेटभित्र ३ गोल थपियो । उक्त खेलमा हिमालयन शेर्पाका गोलकिपर किशोर गिरीलाई मिलेमतोको प्रस्ताव गरेको आरोपमा सरस्वतीका कप्तान दीपेश श्रेष्ठलाई इन्ट्रिग्रिटी अफिसर सुदीप आचार्यको रिपोर्टको आधारमा निलम्बन गरिएको थियो ।

हिमालयन शेर्पाका व्यवस्थापक बिजेन्द्र पुडासैनीलाई पनि निलम्बन गरियो । त्यो जितले पनि सरस्वतीलाई ए डिभिजनमा टिकाउन सकेन । एपीएफले १२ औं खेलमा फ्रेन्ड्सलाई ५–२ ले पराजित गरेपछि मात्रै शीर्ष श्रेणीमै रहने पक्का गरेको थियो । त्यो उसको दोस्रो जित थियो र एन्फा कम्प्लेक्समा ५८० दर्शकबीच भएको उक्त खेलमाथि पनि थुप्रै प्रश्न तेर्सियो । दोस्रो हाफमा ५ गोल भएको उक्त खेलको अन्तिम २ मिनेटमा एपीएफले २ गोल गरेको थियो । हुन त सशस्त्र प्रहरी बलको एपीएफ क्लबले २०६६–६७ को लिगमा रेलिगेसन टार्न संघर्ष गरिरहेको बेला मछिन्द्रमाथि हात पारेको ८–० को जितले नेपाली फुटबलमा ठूलै सनसनी फैलाएको थियो ।


यसपालि प्रशिक्षक र पदाधिकारीहरूले फिक्सिङबारे खुलेरै प्रश्न उठाए । आरोप लगाए । सरस्वतीका प्रशिक्षक प्रदीप नेपाल, अध्यक्ष शिक्षित पराजुली, एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले एकअर्काको नतिजामाथि शंका गर्दै फिक्सिङको आरोप लगाएका थिए । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाका प्रियपात्र पराजुली एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष पनि हुन् । फ्रेन्ड्सका अफिसियल अनुप कार्कीले रेफ्रीमाथि मिलेमतो गराएर खेलाएको दाबी गरे पत्रकार सम्मेलनमै । खुलेरै सार्वजनिक रूपमा आरोप–प्रत्यारोप लगाइरहे पनि एन्फा लाचार रह्यो । उसले न गम्भीर अनुसन्धान नै गर्‍यो, न त आरोप लगाउनेमाथि कारबाही गर्ने हिम्मत नै ।


जाली च्यातिँदा गोल अमान्य

दशरथ रंगशालामा मनाङ मर्स्याङदी र सरस्वतीको खेल भइरहेको थियो । मनाङले आक्रामक खेलिरहेको थियो । उसका फरवार्ड निशान लिम्बुले १५ औं मिनेटमा कठिन कोणबाट बल प्रहार गरे । फस्ट बारबाटै बले जालीको सम्पर्कमा पुग्यो । बल पोस्टभित्र छिरेपछि जालीबाहिरबाट ट्र्याकतिर निस्कियो । कारण जाली च्यातिएको रहेछ । च्यातिएको जालीबाट बल निस्किएकाले नै हुनसक्छ, रेफ्री श्याम दनुवारले निशानको ‘गोल’ लाई मान्यता दिएनन् । खेलाडी र अफिसियलले गोल भएको दाबी गरे पनि दनुवारले अस्वीकार गरिदिए । त्यसैले निशानले पहिलो गोलका लागि संकटाविरुद्धको खेल नै कुर्नुपर्‍यो । आठौं चरणको उक्त खेलको म्याच कमिस्नर थिए एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंह । रेफ्री एसेसर श्याम लामा । सहायक रेफ्रीहरू नानीराम थापामगर र गणेश चौधरी । खेल भने विमल रानाको ४६ औं मिनेटको गोलसँगै मनाङले नै जितेको थियो ।


१२ खेलाडी

एन्फा कम्प्लेक्समा हिमालयन शेर्पाविरुद्ध आर्मीको खेल भइरहेको थियो । दोस्रो हाफको सुरुमै हिमालयन शेर्पाले मिडफिल्डर विनोद गुरुङ परिवर्तन गर्दै भिसोन गुरुङलाई पठाउने तयारी गर्‍यो । फोर्थ अफिसियलले नियमित ‘चेक’ गरेर भिसोनलाई मैदानमा पठाइदिए । जबकि विनोदले मैदानमै खेलिरहेका थिए । यी दुवै खेलाडी करिब १ मिनेट एकसाथ खेलिरहे, जति बेला मैदानमा हिमालयन शेर्पाको खेलाडीसंख्या १२ पुगेको थियो ।


‘विनोद निकालेर भिसोन मैदान छिराउन भनेको थिएँ, तर फोर्थ अफिसियलले ढिला भयो भनेर भिसोनलाई पठाइहालेछन्, उनी पनि छिरेर खेलिहाले,’ त्यो क्षण सम्झिँदै हिमालयन शेर्पाका प्रशिक्षक सन्जीव बुढाथोकीले भने । ११–११ खेलाडीले प्रतिस्पर्धा गर्ने फुटबलमा एउटै टिमले १२ खेलाडी उतारेको दुर्लभ क्षण थियो त्यो । तेस्रो चरणको उक्त खेल आर्मीले २–० ले जितेको थियो ।


बलबिनाको खेल

पाँचौं चरणमा मछिन्द्र र मनाङले २–२ खेल्दै अंक बाँडेका थिए । तर, त्यो नतिजाभन्दा बढी चर्चा भयो बलबिनाको खेलबारे । खेल सकिएलगत्तै मनाङका जगजित श्रेष्ठले मछिन्द्रका फरवार्ड दीपक राईलाई कुहिनाले प्रहार गरेपछि उपाधि होडका टिमहरूबीच दशरथ रंगशालामा तनाव सुरु भएको थियो ।


रेफ्री श्रवण लामाले मनाङका दोस्रो रोजाइका गोलकिपर अशोक बराललाई रातो कार्ड देखाए । एन्फाले उनलाई ६ खेलमा निलम्बन र १० हजार रुपैयाँ जरिवाना गर्‍यो । मनाङकै जगजितलाई ५ खेल निलम्बन र १० हजार जरिवाना तथा रन्जन विष्टलाई २ खेल निलम्बन गरियो । मनाङका किट्स म्यानेजर शिव लामा लिगका सबै खेलमा निलम्बित भए भने १० हजार जरिवानामा पनि परे । झट्का मछिन्द्रलाई पनि पर्‍यो । उसका डिफेन्डर देवेन्द्र तामाङ, दीपक र विजय धिमाल २–२ खेल निलम्बनमा परे । त्यो घटनाले दुवै टिमलाई समस्यामा पारेको थियो ।


अफ्रिकीमाथि रंगभेद !

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा २०६० को दशकयता ‘गेम चेन्जर’ को काम गरिरहेका छन् अफ्रिकी खेलाडीहरूले । एक टिमबाट एउटै खेलमा तीन विदेशी मैदानमा ओर्लन पाउँछन् र यस्तो कोटामा अफ्रिकीकै वर्चस्व रहँदै आएको छ । तीन विभागीय टिमहरू आर्मी, पुलिस र एपीएफमा भने विदेशी खेलाडी राख्ने चलन छैन ।


नवौं चरणमा आर्मीले कप्तान भरत खवासको गोलमा जावलाखेल युवा क्लबलाई १–० ले हरायो । तर, एन्फा कम्प्लेक्समा भरत त्यो गोलका लागि भन्दा पनि अर्कै विषयले चर्चामा आए । उनीमाथि जावलाखेलका फरवार्ड ड्याडी जुनियर वाम्बाले रंगभेदी व्यवहार गरेको आरोप लगाए । पहिलो हाफको इन्ज्युरी समयमा जावलाखेलले फ्रि–किक पाएको थियो र त्यो ‘डेड बल’ प्रहार गर्ने क्रममा रहेका आफ्नै साथीलाई रोक्दै वाम्बाले बल समाते अनि उनले आफूलाई भरतले ‘मंकी’ (बाँदर) भनेको भन्दै रेफ्री कविन व्यन्जनकारलाई सुनाए । रेफ्रीले खेलमा खासै वास्ता गरेनन्, खेल सुचारु गर्न लगाए ।


फ्रि–किक हान्न लागेको अवस्थामा बल समात्ने खेलाडीलाई कार्ड दिने नियम छ तर व्यन्जनकारले न त वाम्बालाई कार्ड दिए न त उनको आरोप सुनुवाई नै गरे । क्यामरुनबाट लिग खेल्न आएका वाम्बाले ‘प्लेयर बक्स’ मै पुगेर पनि प्रशिक्षक र अफिसियललाई भरतले दुईपल्ट बाँदर भनेको भन्दै खेल्न नचाहेको बताएका थिए । पछि साथीहरूले सम्झाइबुझाइ गरेपछि मात्रै उनी खेललाई निरन्तरता दिन तयार भएका थिए । लिगका निर्देशक सन्जीव मिश्रले नेपाली फुटबलमा पहिलोपल्ट लागेको रंगभेदको आरोपबारे अनुसन्धान गर्ने बताए तर उनको बोली बोलीमै सीमित बन्यो । विश्व फुटबलमा रंगेभद र फिक्सिङको आरोपलाई गम्भीर रूपमा लिइन्छ । आरोप प्रमाणित भए लामो अवधिको निलम्बन वा त्यस्तै ठूलो कारबाही गरिन्छ ।

सन्तोषको सय गोल

च्यासलका फरवार्ड सन्तोष साहुखल ‘ए’ डिभिजन लिगको आधुनिक युगमा (२०४६ सालयता) १०० गोल गर्ने पहिलो खेलाडी भए । उनले १८ औं मिनेटमा गोल गर्दै पुलिसविरुद्ध १–१ को बराबरी गरेका थिए र त्यो नै सन्तोषको ‘ए’ डिभिजन लिग करिअरको १ सय गोल बन्यो । अघिल्लो दुई खेलमा गोल गर्न चुकेका च्यासलका यी कप्तानले पुलिसविरुद्ध २ गोल गरेपनि पाँचौं चरणको खेल २–२ मा सकिएको थियो ।


३३ वर्षीय सन्तोषले २०६० सालमा थ्रीस्टारबाट करिअर थालेका थिए र ए डिभिजन लिगको ४२ औं संस्करणमा आएर १ सय गोलको कोसेढुंगा पार गरेका हुन् । उनले यो लिगमा ७ गोल गरे । यससँगै नेपालको शीर्ष डिभिजनको लिगमा उनको गोलसंख्या १०७ पुगेको छ । उनी चार वर्षयता जापानमै बस्छन् र लिग खेल्नमात्रै स्वदेश फर्कने गर्छन् ।


आर्मीका कप्तान भरत खवासले पनि सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ५० गोल यसैपालि पूरा गरे । उनले १२ चरणमा ब्रिगेड ब्वाइजविरुद्ध ३–० को जितमा पाँचौं मिनेटमा बललाई पोस्टको दिशा दिँदै लिगमा आफ्नो करिअरको ५० औं गोल गरेका थिए । यो सिजन ४ गोल गर्दै लिगकै उत्कृष्ट फरवार्डको अवार्ड जितेका उनी ‘ए’ डिभिजन लिगमा २०४६ सालयता ५० गोल पूरा गर्ने आठौं खोडी हुन् । अब उनले १ सय गोल गर्ने लक्ष्य राखेका छन् ।

ह्याट्रिक हिरो

थ्रीस्टारका फरवार्ड सन्जोक राई (तस्बिरमा) ले दसौं चरणमा सरस्वतीविरुद्ध ४–० को जितमा ह्याट्रिक गरे । २०७५ को लिगमा कसैले एउटै खेलमा ३ गोल गरेका थिएनन्, त्यसैले उनी २०७० को लिगपछि ए डिभिजनमा पहिलो ह्याट्रिककर्ता बने । उनले दोस्रो हाफमा १४ मिनेटभित्र ३ गोल गरेका थिए । अन्तिम चरणमा पुलिसका जुमनु राईले पनि फ्रेन्ड्सविरुद्ध ३–० को जितमा ह्याट्रिक गरे ।


लिग च्याम्पियन मछिन्द्रका फरवार्ड दीपक राई, विंगर सुजल श्रेष्ठ, मिडफिल्डर विशाल राई (बी) र गोलकिपर विशाल श्रेष्ठ पनि यसैपालि ह्याट्रिकर्ता भए । उनीहरूको ह्याट्रिक गोलमा होइन, देशकै प्रतिष्ठित लिगको उपाधिमा हो । यी चारै खेलाडीले २०७० र २०७५ सालमा मनाङबाट ‘ए’ डिभिजन लिगको उपाधि जितेका थिए । यसपाली मछिन्द्रको ऐतिहासिक उपलब्धिसँगै उनीहरूले सहिद स्मारक ए डिभिजन लिगको ट्रफी चुमेका हुन् । विशाल राईले लिगकै उत्कृष्ट मिडफिल्डरको अवार्ड पनि जिते ।


सुजल र दुई विशाल एन्फा एकेडेमीको एउटै ब्याचका खेलाडी हुन् । पथरी, मोरङका दीपक पूर्वको प्रतियोगिताबाट उदाएका फरवार्ड हुन् । सुजल र विशाल राई पनि पूर्वकै हुन् भने गोलकिपर विशाल सिन्धुपाल्चोकका । यी चारै खेलाडी गत कार्तिकमामात्रै मनाङ मर्स्याङदी छाड्दै मछिन्द्रका पुगेका हुन् । मछिन्द्रलाई १६ औं लिग च्याम्पियन क्लब बनाउन उनीहरूको प्रदर्शन महत्त्वपूर्ण रह्यो ।

प्रकाशित : फाल्गुन १०, २०७६ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?