मैदान बाहिरको लडाइँमा सिटी

हिमेश

काठमाडौँ — इंग्लिस फुटबलमा सायद म्यानचेस्टर सिटीमाथि सहानुभूति राख्नेभन्दा त्यसका विरोधी नै धेरै छन् । धेरैअघि म्यानचेस्टर युनाइटेडका लिजेन्ड व्यवस्थापक सर एलेक्स फर्गुसन भन्थे, ‘सिटी भनेको हल्ला बढी गर्ने छिमेकी हो ।’ 

मैदान बाहिरको लडाइँमा सिटी

उनले यतिसम्म भने कि आफ्नो जीवनकालमा सिटीले सफलता चाखेको हेर्न पाइने छैन । फर्गुसनको त्यो इच्छा त पूरा भएन नै, किनभने पछिल्ला केही सिजन सिटीले एकपछि अर्को सफलता हात पारेको छ अनि राम्रो फुटबल खेलिरहेको छ ।


भनिरहनुपर्दैन, सिटी माथि उठेको हेर्न चाहनेमा फर्गुसन पर्दैनथे । अहिले पनि सिटीको प्रिमियर लिग प्रतिद्वन्द्वी क्लब र त्यसका व्यवस्थापक खुसुखुसु सिटीले अबका दुई सिजन युरोपमा खेल्न नपाउने भएपछि आफूलाई कस्तो फाइदा हुन्छ भनेर हिसाब गरिरहेका छन् । त्यसमा युनाइटेड पर्छ नै । सँगै यो हिसाबको जोडघटाउमा संलग्न छन्, चेल्सी, टोटेनहम र आर्सनल जस्ता परम्परागत शक्तिदेखि सेफिल्ड युनाइटेडसम्म । सिटीको अनुपस्थितिमा लिगको पाँचौंमा आउनेको पनि भाग्य खुल्नेछ ।


सबैको एउटै लक्ष्य छ, कम्तीमा सिटीले खेल्न नपाउने भएपछि सिर्जना भएको स्थितिको फाइदा लिने । फेरि यसमा अन्यथा लिनुपर्ने नै के छ र ? बेलायती मिडिया पनि किन हो, सिटीमाथि सहानुभूति राख्न चाहँदैन । फर्गुसन जस्तै यी मिडिया पनि सिटीकै विरोधमा छन् । त्यसैले त गार्डियनदेखि डेलीमेल अनि मिररदेखि सन सबैले सिटीलाई उडाउने काम गरिरहेका छन् । सबैको आशय छ, सिटीमा खाडीतिरको लगानी नआएको भए पनि स्थितिमा खासै ठूलो फरक पर्ने थिएन । यसले क्लबको लोकप्रियता वा विरोधमा कुनै फरक पर्दैनथ्यो ।


सिटीले पछिल्लो समय जति पनि सफलता पाएको छ, त्यो सबै अप्राकृतिक छ । अझ भनौं, यो सबै खाडीतिरको लगानीले मात्र सम्भव भएको हो । नत्र, सिटीसँग न इतिहास छ न गर्विलो संस्कृति नै । अहिले त सिटी भनेको सफलता उत्पादन गर्ने कारखाना भएको छ, जसमा ज्यान छैन । सिटीले जति पनि सफलता हात पारेको छ, त्यो त क्षणिक हो वा सबै पैसाले मात्र सम्भव भएको हो । युरोपेली फुटबल महासंघ (यूईएफए) ले सिटीमाथि दुईवर्ष युरोपमा खेल्न नपाउने गरेर लगाएको प्रतिबन्ध पनि ठीक नै हो भनेर पनि यी मिडियाले लेखिरहेका छन् ।


वास्तवमै अधिकांश बेलायती मिडिया किन सिटी विरोधी भए । बुझिनसक्नु छ । प्रिमियर लिगमा भर्खरै सिटीले वेस्ट ह्यामलाई हरायो, इतिहादमा भएको खेलमा । यति महत्त्व र संगीन मोडमा भएको खेलमा पनि इतिहाद स्टेडियम भने खाली–खाली थियो । तिनै बेलायती मिडियाले भने पनि सिटीको समर्थनको धरातल कमजोर छ भन्ने त देखियो नै । जति त्यस दिनको खेलमा इतिहाद पुगे, धेरैले भने यूईएफएमाथि रिस नै पोखे । अझ केही समर्थकले त सिटीमाथि षडयन्त्र भएको माने । तिनीहरूको तर्क हो, यूईएफएलाई सिटीको सफलता देखिनसक्नु हुन्छ । अबुधाबी युनाइटेड ग्रुपका रूपमा यूएईको लगानी र त्यसले दिएको सफलता हेर्न नसकेर नै यूईएफएले सिटीलाई कारबाही गर्न खोजेको आरोप ती समर्थकको छ । सिटीका विरोधी इंग्ल्यान्डमै मात्र छैनन्, पूरा युरोपमा छ । तिनीहरू पनि चाहन्छन्, सिटीलाई रोक्नैपर्छ । त्यसैले त बार्सिलोनाले खुलेर सिटीमाथि लागेको दुईवर्ष प्रतिबन्धको समर्थन नै गर्‍यो । अरु ठूला क्लबको मनसाय पनि यस्तै यस्तै होला ।


म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओला तस्बिर : रोयटर्स


वेस्ट ह्यामविरुद्धको खेलपछि सिटीको औपचारिक धारणा भने बाहिर आएको छ र यसले तय गरेको छ । अब खेल मैदानभित्र हुनेछैन, मैदानबाहिर हुनेछ । यूईएफएले सिटीलाई दुईवर्ष युरोपमा खेल्न नपाउने गरेर प्रतिबन्ध लगाउनु पछाडिको स्पष्ट कारण हो, आर्थिक आचारसंहिता उल्लंघन गर्नु । सामान्य बोलीको भाषामा भन्दा सिटीमा यसरी पैसा खन्याइएको छ कि त्यसको सही हिसाबकिताब छैन । यस्तो काम रोकिएन भने युरोपेली क्लब फुटबलको समीकरण सधैंका लागि बिग्रिने छ ।


अनि त्यसको पनि अर्थ हो, यस्तै क्रम जारी रहे, त्यही क्लब मात्र सफल हुनेछ, जोसँग पैसा छ । त्यसमाथि यसरी मनपरी खोलो बगे जस्तै पैसा पनि बगाउन सक्ने भनेका त खाडीकै केही देश न हुन् । सिटीका समर्थकले भने यसको विरोधमा गज्जबको तर्क प्रस्तुत गरेका छन् । तिनीहरूको तर्क हो, यस्तो काम सक्नेले त गर्ने हो, नसक्नेले चुप लाग्ने हो । केही समयअघि यस्तै काम चेल्सीमा भएको थियो । तर रिस भने खाली सिटीमै मात्र किन ?


लिगको त्यो पछिल्लो खेलपछि सिटीका सीईओ फेरानो सोरिनोको भनाइ अगाडि आएको हो । उनको पूरा अन्तर्वार्ता क्लबको वेबसाइटमा राखिएको छ । त्यसमा उनले भनेका छन्, यूईएफएले क्लबमाथि ठू–ठूला आरोप त लगाएको छ र त्यसमा कुनै सत्यता भने छैन । उनले भने औपचारिक रूपमा घोषणा गरेका छन्, सिटी कोर्ट अफ आर्बिटेसन अफ स्पोर्टस (कास) मा जानेछ । उनलाई के पनि पूरा विश्वास छ भने यही कासले सिटीलाई निर्दोष पनि साबित गर्नेछ ।


सोरिनोले सिटीसमर्थक इंगित गर्दै भनेका छन्, ‘हाम्रा समर्थक दुई तथ्यमा ढुक्क भए हुन्छ । पहिलो त हामीमाथि जति पनि आरोप लागेका छन्, त्यसमा कुनै सत्यता छैन । दोस्रो तथ्य के भने क्लबले आफूलाई निर्दोष साबित गर्न कुनै कसर छोड्ने छैन । हाम्रा सबै समर्थक हाम्रै पक्षमा छन् भनेर पनि हामी निश्चिन्त छौं । हामीले यो महसुस पनि गरिरहेका छौं । हाम्रासामु जति चुनौती तेर्सिएको छ, हामीले त्यसलाई एक ढिक्का भएर सामना गर्नेछौं ।’


दुईवर्षको प्रतिबन्धपछि सबैभन्दा ठूलो प्रश्न व्यवस्थापक पेप ग्वार्डिओलाको भविष्यसँग जोडिएको छ । धेरैको अनुमान छ, अब ग्वार्डिओला सिटीमा बस्ने छैनन् । तर उनी आफैंले भने स्थिति जस्तै तयार भए पनि अर्को सिजन सिटीमै रहनेछन् । त्यो पनि शतप्रतिशत । अझ उनलाई त आफ्नो पुरानो क्लब बार्सिलोनामाथि पनि रिस उठेको छ । उनले पनि बुझ्न सकेका छैनन्, बार्सिलोना आफैं समस्या छ, किन उसलाई फेरि अर्को क्लबको समस्यामा टाउको दुखाउनुपर्ने भनेर ?


मूल प्रश्न भने त्यो होइन । बरु के हो भने अबका केही दिनमा सिटीलाई लिएर के हुने हो त ? कतै सिटीले यसअघि जितेका केही उपाधि खोसिने त होइन ? अनि जति बेला उसले गलत गरेको आरोप लागेको समय छ, त्यति बेला किनेका सबै खेलाडी बेच्नु पो पर्ने हो कि ? वा यूईएफएको कारबाहीमा समर्थन गर्दै प्रिमियर लिग आयोजकले सिटीलाई थप कारबाही गर्दै घटुवा गरेर तेस्रो डिभिजनमा झारिने त होइन ? त्यो भनेको डिभिजन वानतिर ।


यी सबैको उत्तर अबका केही दिनमा पक्कै पाइनेछ । सिटी पनि चाहन्छ, आफू कासमा गएपछि आफ्नोमाथि लागेको आरोपमा निर्णय आओस् । निर्णय आउन ढिला भए, जति बेलासम्म निर्णय आउने छैन त्यति बेलासम्म आफ्नो अर्को सिजन च्याम्पियन्स लिग खेल्ने अधिकार कायम होस् । स्पष्ट छ, अबका केही दिन क्लबका लागि निकै महत्त्वपूर्ण हुनेछ । तर फेरि तिनै बेलायती मिडियालाई विश्वास गर्ने हो भने मैदान बाहिर खेलिने अबको खेल सिटीका लागि सजिलो पक्कै हुने छैन ।

प्रकाशित : फाल्गुन १०, २०७६ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?