वाग्मती गोल्डकप : हिमालयन शेर्पा फाइनलमा

सुवास विडारी

मकवानपुर — हिमालयन शेर्पा क्लब तेस्रो वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता–२०७६ को फाइनल प्रवेश गरेको छ । शुक्रबार भएको सेमिफाइनल खेलमा च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै शेर्पा फाइनलमा पुगेको हो । 


उपाधिका लागि शेर्पाले आइतबार जावलाखेल युथ क्लब र संकटा क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। वाग्मती गाउँपालिकास्थित जनता माध्यामिक विद्यालयको मैदानमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा शेर्पाको जितमा विजय श्रेष्ठले दुई गोल गरे।


शेर्पाले खेलमा पेनाल्टी गोलमार्फत् अग्रता लिएको थियो। खेलको सातौं मिनेटमा च्यासलका डिफेन्डरले ह्यान्ड गरेपछि पाएको पेनाल्टीमा श्रेष्ठले गोल गरे।


खेलको पहिलो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा च्यासलका लागि विदेशी खेलाडी काजिम भुसाराले बराबरी गोल फर्काए। पहिलो हाफमा राष्ट्रिय टोलीका सदस्य समेत रहेका सुनिल बलले प्राप्त दुईवटा उत्कृष्ट अवसरलाई गोलमा परिणत गर्न सकेनन्।


दोस्रो हाफमा शेर्पाको तर्फबाट ७५ औं मिनेटमा पुनः श्रेष्ठले गोल गरे। उनले सिक्स यार्ड बक्समा सुरज हमालले उपलब्ध गराएको बलमा गोल गरेका थिए। खेलको अन्तिम मिनेटमा अमिर श्रेष्ठले उपलब्ध गराएको सुन्दर पासलाई सदुपयोग गर्न सुनिल बल पुनः चुके। खेलको ५२ औं मिनेटमा शेर्पाका आशिष गुरुङले गरेको हेडिङ बारमा लागेर फर्किएको थियो।


खेलमा शेर्पाका लागि दुई गोल गरेका श्रेष्ठ ‘म्यान अफ दी म्याच’ घोषित भए। उनले नगद पाँच हजार रुपैयाँ प्राप्त गरे।प्रतियोतिगाअन्तर्गत् शनिबार दोस्रो सेमिफाइनल खेल हुनेछ। प्रकाशित : फाल्गुन ९, २०७६ १८:०४

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

टाइब्रेकरमा संकटाको भाग्य

सुवास विडारी

मकवानपुर — टाइब्रेकरमा विजयी हुँदै संकटा क्लब तेस्रो वाग्मती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

वाग्मती गाउँपालिकास्थित जनता माविको मैदानमा बिहीबार संकटाले वीरगन्ज युनाइटेड क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गरेको हो । निर्धारित ९० मिनेटमा ३–३ गोलको बराबरी भएपछि खेलको छिनोफानो सिधै टाइब्रेकरबाट भएको थियो । टाइब्रेकरमा संकटाका अमित तामाङ, राजेन्द्र रावल, मेसोक र दीपेश आले मगरले गोल गरे । संकटाका विदेशी खेलाडी आर्नेस्टको प्रहार आकासियो । वीरगन्जका आशालाल चौधरी र सन्जय चौधरीले गोल गरे । विवेक चौधरी र अजय चौधरी गोल गर्नबाट चुके ।

संकटाको जितपछि प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । शुक्रबार सेमिफाइनलमा च्यासल युथले हिमालयन शेर्पा तथा शनिबार अर्को सेमिफाइनलमा जावलाखेल युथले संकटासँग खेल्ने छन् ।
खेलको सातौं मिनेटमा गोल गर्दै संकटाले अग्रता लिएको थियो । विदेशी खेलाडी मेसोकले हेडबाट गोल गरेका थिए । वीरगन्जले ११ औं मिनेटमा खेल बराबरीमा ल्यायो । वीरगन्जबाट कृपा चौधरीले गोल गरे । इन्ज्युरी समयमा वीरगन्जका विवेक चौधरीले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

पहिलो हाफमा संकटामाथि वीरगन्ज हाबी भए पनि दोस्रो दोस्रो हाफमा संकटाले सुधारिएको खेल प्रदर्शन गर्‍यो । संकटाले लगातार दुई गोल गर्‍यो । ६८ औं मिनेटमा रोमन लिम्बु र ७५ औं मिनेटमा राजेन्द्र रावलले गोल गरेका थिए । अन्तिम दुई मिनेट बाँकीमा वीरगन्जबाट कृपा चौधरीले पुन गोल गर्दै खेल बराबरीमा गरेका थिए । कृपा म्यान अफ द म्याच घोषित भए । उनले ५ हजार रुपैयाँ पाए ।

प्रकाशित : फाल्गुन ८, २०७६ २१:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×