पोखरा राइनोजमा स्कटल्यान्डका ओपनर

कान्तिपुर संवाददाता

काठमाडौँ — ट्वान्टी–२० मा स्कटल्यान्डबाट ओपनिङ ब्याटिङ गर्दै आएका जर्ज मुन्सीलाई पोखरा राइनोजले एभरेस्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटका लागि अनुबन्धन गरेको छ । पोखराले यसअघि नै वेस्ट इन्डिजका ब्याटिङ हस्ती क्रिस गेल र तीब्र बलर केसरिक विलियम्सलाई लिइसकेको छ ।

पोखरा राइनोजमा स्कटल्यान्डका ओपनर

देव्रेहाते मुन्सीले सेप्टेम्बरमा नेदरल्यान्ड्ससँगको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ५६ बलमा १ सय २७ रन बनाउँदै स्कटल्यान्डका कप्तान कायल कोएट्जरसँग पहिलो विकेटमा २ सय रन जोडेका थिए । गत वर्ष ईपीएलमा पोखरा राइनोजका कप्तान कोएट्जर नै थिए । पोखरा एकै खेल नजिती पुछारमा रह्यो । मुन्सीले नेपाल आएर पोखराबाट ईपीएलमा खेल्न आतुर रहेको जनाएका छन् । उनले राष्ट्रिय टोलीबाट ३८ ट्वान्टी–२० अन्तर्राष्ट्रियमा ९ सय ८७ रन बनाइसकेका छन् । त्यसमा नेदरल्यान्ड्ससँग बनाएको त्यो शतक र अन्य ५ अर्धशतक छ ।


उनले २५ एकदिवसीय अन्तर्राष्ट्रियमा ५ सय ६२ रन बनाएका छन् । सन् २०१५ मा इंग्ल्यान्ड भ्रमणमा आएको अस्ट्रेलियाविरुद्ध टुर म्यान खेल्दै २६ वर्षे मुन्सीले प्रथम श्रेणीको क्रिकेटमा ‘डेब्यु’ गरेका थिए । ६ फ्रेन्चाइज टोली समावेश ईपीएल मार्च १४ बाट २८ सम्म आयोजना हुनेछ । त्यसमा अर्का स्कटिस खेलाडीको खेल हेर्न आफू व्यग्र रहेको पोखरा राइनोजकी मालिक दीपा अग्रवालले जनाएकी छन् ।

प्रकाशित : फाल्गुन ९, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?