ग्वार्डिओला सिटीमै रहने

एएफपी

म्यानचेस्टर — म्यानचेस्टर सिटी व्यवस्थापक पेप ग्वार्डिओलाले आफू क्लबमै रहनेमा विश्वस्त रहेको बताउँदै युरोपेली फुटबल महासंघ (यूईएफए) ले लगाएको प्रतिबन्धविरुद्ध लड्ने प्रतिबद्धता जनाएका छन् ।

ग्वार्डिओला सिटीमै रहने

सिटीले मंगलबार राति इंग्लिस प्रिमियर लिगमा वेस्ट ह्याममाथि २–० को जित रचेपछि उनको यो प्रतियोगिता आएको हो । युरोपेली प्रतियोगिताबाट दुई वर्षको प्रतिबन्ध लागेयता सिटीले खेलेको यो पहिलोपल्ट हो ।


त्यस जितमा रोड्री र केभिन डी ब्रुयनले १–१ गोल गरे । यस खेलबाट प्राप्त ३ अंकपछि सिटीले लिग तालिकाको दोस्रो स्थानमा आफ्नो पकड बलियो बनाएको छ । सिटीको २६ खेलबाट ५४ अंक भएको छ । ‘केही पनि समाप्त भएको छैन । हामी अपिल गर्ने क्रममा छौं, किनभने हामीमाथि लागेको प्रतिबन्ध अन्यायपूर्ण छ । जसरी हामीले मैदानमा प्रत्येक खेलमा संघर्ष गर्ने गरेका छौं, त्यसरी नै यो प्रतिबन्धको निर्णयप्रति पनि लड्ने छौं,’ खेलपछि स्काई स्पोर्टससँग कुराकानी गर्दै ग्वार्डिओलाले थपे, ‘मलाई के तथ्यमा पूरा विश्वास छ भने अन्त्यमा सत्य के हो त्यो बाहिर आउने छ । हामी अर्को सिजन पनि च्याम्पियन्स लिग खेलिरहेका हुनेछौं । अबको सिजनमा के हुनेछ, त्यसको अवस्था जस्तै भए पनि म सिटीमै रहने छु ।’


स्पेनी प्रशिक्षकले जस्तै दाबी गरे पनि अबको वास्तविक खेल सिटीका लागि फुटबलको मैदानमा नभएर बाहिर युरोपेली कोर्टमा हुनेछ, त्यसकै निर्णयले क्लबको भविष्य तय हुनेछ ।


सिटीका कार्यकारी प्रमुख फेरेरन सोरिनोले पनि क्लबमाथि लागेको प्रतिबन्ध फुकुवा गर्न सबै प्रकारको प्रयास हुने बताए । उनले भने, ‘सिटीमा समर्थक दुई तथ्यमा ढुक्क भए हुन्छ । पहिलो तथ्य, हामीले केही पनि खराब गरेका छैनौं ।’ उनले क्लब कोर्ट अफ आर्बिटेसन (कास) मा जाने पनि बताए । उनले थपे, ‘दोस्रो तथ्य के हो भने हामीले आफूमाथि लागेको प्रतिबन्ध हटाउन कुनै पनि प्रकारको प्रयास छाड्ने छैनौं । सिटी समर्थकले त्यसमा कुनै दुविधा नराखे हुन्छ ।’

प्रकाशित : फाल्गुन ९, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?