२२ औं बुढासुब्बा गोल्डकपको तयारी पूरा
सुनसरी — आयोजक धरान फुटबल क्लबले २२ औं आमन्त्रण बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबलको तयारी पूरा भएको जनाएको छ । धरान रंगशालामा बिहीबार पत्रकार सम्मेलनमा आयोजकका अध्यक्ष किशोर राईले भने, ‘मोफसलमा निरन्तर बुढासुब्बा गोल्डकप भइरहेको छ । २२ औं संस्करणलाई अझ फरक र विशेष बनाउन सबै तयारी पूरा गरेका छौं ।’
फागुन १० देखि १७ सम्म धरान रंगशालामा हुने प्रतियोगिता विजेताले पाउने राशिमा वृद्धि गरिएको अध्यक्ष राईले बताए । विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउने छन् । गत वर्ष विजेताले ८ लाख र उपविजेताले ४ लाख पाएका थिए । व्यक्तिगत पुरस्कारतर्फ उत्कृष्ट खेलाडीले होन्डाको एक थान स्कुटी पाउनेछन् । सर्वाधिक गोलकर्ताले ३५ हजार, म्यान अफ द म्याचले १५ हजार, विधागत उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २५ हजार पाउने क्लबका महासचिव प्रताप तामाङले बताए ।
प्रतियोगितामा आयोजक धरान फुटबल क्लब, भारतको युके फुटबल क्लब, मोरङको बेलबारी फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, मेची नेत्रालय काकडभिट्टा ट्रेनिङ सेन्टर, मछिन्द्र क्लव र भारत पश्चिम बंगालको दुर्गापुर फुटबल क्लबसहित ८ टिम प्रतिस्पर्धीर् हुने छन् । आयोजकले एक साताअघिसम्म जापान युनिभर्सिटी टिम सहभागी हुने भनेर सोहीअनुसार टाइसिट तयार गरेको थियो । तर विश्वव्यापी कोरोना भाइरसका कारण जापानी टिम सहभागी हुन नसक्ने भएपछि पश्चिम बंगालको दुर्गापुर आउन लागेको आयोजकले जनाएको छ ।
क्लबका अध्यक्ष राईले यसपालि ७० वर्षमाथिका वृद्ध र ६५ वर्षमाथिका वृद्धालाई निःशुल्क प्रतियोगितामा प्रवेश दिइने बताए । उनले भने, बुढापाकाले पनि खेल हेरेर मनोरन्जनसँगै घरपरिवारका नयाँपुस्तालाई फुटबल खेलप्रति प्रेरित गरुन् भनेर निःशुल्क प्रवेश व्यव्स्था गरिएको हो ।’ वृद्धवृद्धाबाटै उत्कृष्ट दर्शकसमेत छनोट गरेर सम्मानित गरिने क्लबले जनाएको छ । करिब सात हजार दक्षक क्षमताको प्यारापिटलाई सजाउने काम पूरा भएको जनाएको छ । तर पूर्वघोषित भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को प्रयोग गर्न नसक्ने क्लवले जनाएको छ ।
टुंगो लागेन आयोजक टिम
प्रतियोगितामा आयोजकका खेलाडी बिहीबारसम्म निश्चित भएको छैन । वाइ पाएको आयोजक धरान र भारतको युके एफसीबीच उद्घाटन खेल छ । आफ्नो क्लबको टिम तयारी अझै पूरा नभएकोबारे आयोजक अध्यक्ष किशोर राईले भने, ‘आर्थिक समस्याकै कारण क्लबले तलव दिएर खेलाडी राख्न नसक्दा टिम तयार गर्न समस्या भएको हो । धरानका सबै खेलाडी अरू नै क्लबबाट खेलिरहेका छन् । त्यसमाथि यसपालि एकै समयमा राष्ट्रियस्तरमा तीन प्रतियोगिता भइरहेका छन् । त्यसले गर्दा आयोजकले धरानकै ए र बी डिभिजनका स्थानीय खेलाडी समावेश गरेर टिमको तयारी गरिरहेको छ ।’ आयोजकको टिम तयारी सागर घिमिरेले गरिरहेका छन् । टिममा दुई अफ्रिकन र एक नागाल्यान्डका खेलाडी राख्ने तयारी भएको जनाइएको छ ।
प्रकाशित : फाल्गुन ९, २०७६ ०८:४६