कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सताक्षी गोल्डकप : थ्रीस्टार उपाधि नजिक

अर्जुन राजवंशी

बिर्तामोड — रुस्लान थ्रीस्टार क्लब झिलझिलेमा जारी तेस्रो सताक्षी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । बिहीबार सेमिफाइनलमा आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई ३–१ ले पराजित गर्दै थ्रीस्टार उपाधि नजिक पुगेको हो ।

सताक्षी गोल्डकप : थ्रीस्टार उपाधि नजिक

थ्रीस्टारको जितमा कप्तान विक्रम लामा, डिफेन्डर अनन्त तामाङ र अशोक खवासले गोल गरे । आयोजकका पदम भट्टराईले एक गोल फर्काए ।


शिवसताक्षी नगरपालिका–११ स्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको मैदानमा आयोजकले थ्रीस्टारलाई मध्यान्तरसम्म बराबरीमा रोकेको थियो । थ्रीस्टारले ५९ औं मिनेटमा अग्रता लिएको हो । मिक्चेन तामाङको कर्नर प्रहारमा डिफेन्डर अनन्त तामाङले हेड गोल गरेका थिए । लगत्तै ६० औं मिनेटमा अशोक खवासले गोल गरेर थ्रीस्टारको अग्रता दोब्बर पारे ।


मैदानको बायाँ भागबाट अशोकले गरेको लामो प्रहार आयोजकका गोलकिपर मनोज प्रधानको हातमा फुत्किएर पोस्टभित्र छिरेको थियो । थ्रीस्टारका कप्तान विक्रमले ८२ औं मिनेटमा तेस्रो गोल गरे । दीपेश घलेको छोटो पासमा पेनाल्टी एरियामा रहेका विक्रमले वान टचमै गोल गरे । आयोजकका पदमले इन्ज्युरी समयको तेस्रो मिनेटमा पेनाल्टीमार्फत गोल गरेर अन्तर घटाए । बल अघि बढाएका शिशिर लेखीलाई थ्रीस्टारका दीपेशले बक्सभित्र लडाएपछि आयोजकले पेनाल्टी पाएको थियो ।


थ्रीस्टार सुरुदेखि नै गोललाई प्रयासरत रह्यो । १५ औं मिनेटमा आयोजकका गोलकिपर मनोज अघि बढ्दा सन्जोग राईले प्रहार गरेको बल डिफेन्डरले क्लियर गरिदिएका थिए । २१ औं मिनेटमा थ्रीस्टारकै सुशील राईको प्रहार पोस्ट माथिबाट बाहिरियो । त्यसको दुई मिनेटपछि थ्रीस्टारलाई अग्रता लिनबाट आयोजकका डिफेन्डरले रोके ।


गोलकिपर मनोज बिट भएको अवस्थामा थ्रीस्टारका निशान खड्काको लामो पासमा सन्जोगले गरेको हेड प्रहार गोललाइनबाट डिफेन्सले जोगाए । ४१ औं मिनेटमा आयोजकका आशिष राईले अघि बढाएको बल थ्रीस्टारका डिफेन्डरले क्लियर गरिदिए । तीन मिनेटपछि आयोजकका मनीष थापाको फ्रिकिक बल पनि थ्रीस्टारका डिफेन्डरले जोगाएका थिए । ४८ औं मिनेटमा आयोजकका आशिषको सशक्त प्रहार बतासियो । ५० औं मिनेटमा थ्रीस्टारका सुशीलको छोटो पासमा लालरामले गरेको कडा प्रहार पोस्ट नजिकैबाट बाहिरियो । लगत्तै आयोजकका शिशिरको पासमा मनीष थापाको प्रहार थ्रीस्टारका गोलकिपर पूर्ण चेम्जोङको खुट्टामा लागेर फर्किएको थियो ।


७४ औं मिनेटमा सन्जिव बुढाथोकीको छोटो पासमा रोशन थाम्सुहाङले बक्स नजिक लगेर प्रहार गरे पनि बलले पोस्टको दिशा लिएन । तीन मिनेटपछि आशिषको प्रहार पोस्ट माथिबाट बाहिरियो । इन्ज्युरी समयको चौथो मिनेटमा आयोजकका पदम भट्टराईले बक्स नजिकबाट गरेको कडा प्रहार गोलकिपर पूर्णले पञ्च गरेर जोगाएका थिए ।


थ्रीस्टारका अनन्त तामाङ म्यान अफ द म्याच घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । शुक्रबार सेमिफाइनलमा लिग विजेता मछिन्द्र र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार हुनेछ । विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ जित्नेछन् ।

प्रकाशित : फाल्गुन ९, २०७६ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?