१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अन्योलमै मनाङ मर्स्याङ्दी

मनाङका अधिकांश खेलाडी अन्यत्रै गए । औसत टिममात्र बन्यो । त्यसैले तेस्रो स्थानमै चित्त बुझायो ।
हिमेश

काठमाडौँ — जति बेला दशरथ रंगशालामा ‘एमएमसी’ भनेर समर्थकको भावना पोखिन्छ, खुबै मीठो सुनिन्छ । ‘एमएमसी फर एभर’ मनाङ मर्स्याङ्दी क्लबका समर्थक समूह हो । यसले देखाउँछ, नेपाली फुटबलमा पनि कुनै क्लबको ‘डाइहार्ट फ्यान’ हुनसक्छ भनेर । तर फेरि जति बेला भर्खर टुंगेको सहिद स्मारक लिग ‘ए’ डिभिजन लिगको अंकतालिकामा यही क्लबलाई खोज्नुपर्छ । प्रस्ट देखिन्छ, क्लब आफैं भने अन्योलमा छ । क्लब नेतृत्वलाई कस्तो दिशा लिने हो, त्यसमा दुविधा छ ।

अन्योलमै मनाङ मर्स्याङ्दी

पूर्व गोलरक्षक विकास मल्लले धेरै होइन, एकै सिजन मनाङका लागि खेले । उनी अहिले पनि भन्छन्, ‘खेलाडीलाई माया गर्ने कुनै क्लब छ भने त्यो मनाङ नै हो ।’ गत वर्ष मात्र अनिल गुरुङले यही मनाङ छाड्न चित्त दुखाउनुप‍र्‍यो । उनी भन्थे, ‘राम्रो व्यवहार नै भएन ।’ यसपल्टको लिगमा किन मनाङले औसत टिम मात्र बनाएको भनी अध्यक्ष छिमी उर्गेन गुरुङलाई सोध्ने हो भने उस्तै धुमिलिएको उत्तर आउँछ, ‘हामी फुटबल खेल्ने कि नखेल्नेमै अल्झिरहेका छौं ।’ यो अन्योल नभए के त ? एउटा तथ्य के निश्चित छ भने नेपाली फुटबललाई जति धेरै मनाङ चाहिन्छ । यही मनाङलाई उत्तिकै नेपाली फुटबल चाहिन्छ । नेपाली फुटबलमा सफलताको पर्याय हो मनाङ । फुटबल नै मनाङको परिचय हो । नेपाली फुटबलमा कसैले व्यावसायिक फुटबल भित्र्याएको थियो भने त्यो मनाङले थियो । अझ सिधैभन्दा कुनै क्लबले खेलाडीलाई पारिश्रमिक दिन सुरु गरेको थियो भने त्यो मनाङ नै थियो । त्यसैले त मनाङले कीर्तिमान आठपल्ट माथिल्लो डिभिजनको लिग उपाधि जित्यो ।


फेरि मनाङले पस्कने फुटबलको स्पष्ट धार हो । यो टिम अधिकांस स्टार खेलाडीले भरिएको हुन्छ । यसले राम्रो फुटबल पनि खेल्छ । प्रत्येक नेपाली फुटबल खेलाडीका लागि मनाङबाट एकैपल्ट भए पनि खेल्ने सपना हुन्छ । त्यसैले नेपालका ठूला स्टार भन्न मिल्ने को मात्र खेलाडीले मनाङबाट खेलेनन् होला ? जसले खेल्न पाएन, त्यसले मनाङमा पाइने जादुयी अनुभव गुमायो । तर यही मनाङले यसपल्टको लिगमा आफ्नो परम्परा कायम राख्न चाहेन ।


अघिल्लो पटक लिग जित्दाका अधिकांश खेलाडी अन्यत्रै गए । मनाङले औसत टिममात्र बनायो । त्यसैले तेस्रो स्थानमै चित्त बुझायो । मनाङको नाममा १३ खेलबाट खाली २८ अंकमात्र रह्यो । त्यसो त मनाङमा नाम नचलेका खेलाडी नै नभएको पनि होइन, तर टिम आफैंमा औसतमात्र देखियो । यही टिमको मदतले मनाङले सुरुआती तीन चरणका सबै खेल मात्र जितेन, तीनै खेलमा ‘क्लिन सिट’ पनि राख्यो । लिगमा मनाङले आफ्नो पकड गुमाएको चौथोदेखि सातौं चरणको बीचमा हो ।


सबैभन्दा पहिले मनाङलाई सधैं दुःख दिने फ्रेन्ड्सले १–१ को बराबरीमा रोक्यो । त्यसयता उसले मछिन्द्र, हिमालयन शेर्पा र थ्रीस्टारसँग बराबरी खेल्यो । यो अधिकतम उपलब्ध १२ अंकमा मनाङले हात पारेको ४ अंकमात्र थियो । यहीबाट मनाङ उम्कन सकेन ।


सरस्वतीलाई आठौं चरणमा हराएसँगै मनाङले ५ खेल त जित्यो, तर यो उपाधि जित्नका लागि पर्याप्त रहेन । च्यासलसँगको खेल गुमाउनु मनाङका लागि ठूलो घाटा साबित भयो । गत वर्षबाट मनाङले सम्भवतः आफ्ना केही मात्र खेलाडीलाई कायम राख्न सकेको भए, लिग उसकै हुने थियो । टिमले लय समात्न नसक्नु पछाडि एउटा ठूलो कारण मछिन्द्रसँगको खेलमा देखिएको दुर्भाग्यपूर्ण हात हालाहालको स्थिति पनि हो । एकजना खेलाडीले आफ्नो अविवेकका कारण खेल र क्लबलाई कतिसम्म घाटा पु‍र्‍याउन सक्छ भन्ने उदाहरण जगजित श्रेष्ठले राम्रोसँग देखाइदिए । उनले नै खेलमा तनाव थप्ने र झगडाको माहोल सिर्जना गर्ने काम गरे अनि खुरुक्क विदेशतिर लागे ।


प्रशिक्षक टोपे फुजाले लिगको सुरुमै जगजितलाई ‘नेपाली मेसी’ भन्थे । तर उनी गलत साबित भए । लिगको मध्यभागमा मनाङको लय बिग्रिनु पछाडि सबैभन्दा ठूलो कारण यही झगडा रह्यो । मनाङमा अन्योल त प्रशिक्षकलाई लिएर पनि रह्यो । मैदानमा सबै काम गर्थे, यिनै फुजा । रणनीति तयार पार्ने र त्यसैअनुसार खेलाउने काम फुजाकै हुन्थ्यो । तर पोस्टम्याच कन्फ्रेन्समा आउँथे धनेश्वर प्रजापति । उनी खासमा ‘डमी’ प्रशिक्षकमात्र न थिए । उनको काम खाली पत्रकारलाई हँसाउनु मात्र हुन्थ्यो ।


यसबीच पनि मनाङबाट खुसीको समाचार नआएको होइन । मनाङले आफ्नो मुख्य प्रायोजकका रूपमा नेपाल आयल निगमलाई भित्र्याउन सफल रह्यो । मनाङ आफ्नै अभ्यास मैदान (गोलढुंगा) तर्फ अग्रसर हुँदै छ । तेस्रो चरणमा बीबीसीको सामना गर्दा फेरि तनावमै मनाङ विजयी रहेको थियो । सातदोबाटोमा भएको त्यो खेल हेर्नेक्रममा अध्यक्ष छिमी उर्गेन भन्दैथिए, ‘मनाङले खेल्ने फुटबल यस्तो होइन । मनाङले सुन्दर र सफा फुटबल खेल्नुपर्छ ।’ सबैको अपेक्षा पनि त त्यही हो ।

प्रकाशित : फाल्गुन ८, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?