सताक्षी गोल्डकप : मछिन्द्र अन्तिम चारमा

अर्जुन राजवंशी

बिर्तामोड — लिग च्याम्पियन क्लब मछिन्द्र क्लब झिलझिलेमा भइरहेको तेस्रो सताक्षी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । 

सताक्षी गोल्डकप : मछिन्द्र अन्तिम चारमा

मछिन्द्रले बुधबार अन्तिम क्वाटरफाइनल खेलमा रूपन्देहीको गोर्खा ब्वाइज स्पोर्ट्स क्लबलाई २–१ ले पराजित गरेको थियो । शिवसताक्षी नगरपालिका–११ स्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको मैदानमा बुधबारको खेलपछि सेमिफाइनल समीकरण पूरा भएको छ । मछिन्द्रको जितमा विमल घर्तीमगर र विदेशी खेलाडी एन्ड्रेस नियाले गोल गरे । गोर्खा ब्वाइजबाट एक गोल विदेशी खेलाडी काजिमले फर्काए ।


खेलमा अग्रता भने गोर्खा ब्वाइजले लिएको हो । १६ औं मिनेटमा काजिमले आकर्षक गोल गरे । मध्यभागबाट शक्ति राईले विदेशी खेलाडी ओलाकेजीलाई बल दिए । उनले गोलका लागि काजिमलाई पास मिलाइदिएका थिए । गोर्खाको अग्रता १० मिनेट पनि टिकेन । २५ औं मिनेटमा मछिन्द्रले खेल बराबरीमा ल्यायो । रन्जित धिमालको कर्नरमा विदेशी खेलाडी एन्ड्रेसले गोल गरेका थिए । मछिन्द्रले ३२ औं मिनेटमा पेनाल्टीमार्फत गोल थप्यो । मैदानको बायाँ साइडबाट रन्जितले प्रहार गरेको बल बक्सभित्र रहेका गोर्खा ब्वाइजका सरोज योन्जनको हातमा लाग्दा मछिन्द्रले पेनाल्टी पाएको हो । पेनाल्टीमा विमल घर्तीमगरले गोल गरे ।


बराबरी गोल भएपछि गोर्खा ब्वाइजका खेलाडीले तालमेल गुमाए । २४ औं मिनेटमा ब्वाइजका ओलाकेजीले बक्स नजिकैबाट गरेको प्रहार पोस्टको थोरै माथिबाट बाहिरियो । ४० औं मिनेटमा गोर्खा ब्वाइजका काजिमले गरेको प्रहार फितलो बन्यो । लगत्तै ओलाकेजीको सशक्त प्रहार आकासिएको थियो । ४९ औं मिनेटमा गोर्खा ब्वाइजका ओलाकेजीको पासलाई निराज बस्नेतले हेड गर्न भ्याएनन् ।


५१ औं मिनेटमा मछिन्द्रका विमलको प्रहार गोर्खा ब्वाइजका गोलकिपर सोजित गुरुङले नियन्त्रणमा लिए । चार मिनेटपछि रन्जित धिमालको कर्नरमा एडेलाजा सोमिडेले गरेको हेड गोलकिपर सोजितले आकर्षक ढंगमा बचाए । ६३ औं मिनेटमा गोर्खाका निराज बस्नेतको फ्रिकिक प्रहारमा काजिमको हेड खेर गयो । मछिन्द्रका दीपक राईको कडा प्रहार ७८ औं मिनेटमा गोर्खाका गोलकिपर सोजितले पन्च गरे । फर्किएको बललाई विमल घर्तीमगरले सशक्त प्रहार गरे पनि पोस्ट माथिबाट बाहिरिएको थियो । मछिन्द्रका गोलकर्ता विमल घर्तीमगर म्यान अफ द म्याच घोषित भए ।

प्रकाशित : फाल्गुन ८, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?