१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

एनएनआईपीए स्पोर्टस अवार्ड : विमल र निमा सर्वोत्कृष्ट

कान्तिपुर संवाददाता

काठमाडौँ — प्याराग्लाइडिङका विमल अधिकारी र तेक्वान्दोकी निमा गुरुङ १४ औं एनएनआईपीए स्पोर्टस अवार्ड–२०७६ को विजेता बनेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले २०७५ सालभित्र उत्कृष्ट प्रदर्शन गर्ने छनोट अवाड प्रदान गरेको हो । 

एनएनआईपीए स्पोर्टस अवार्ड : विमल र निमा सर्वोत्कृष्ट

२०७५ सालमा भएकामध्ये सबैभन्दा ठूलो प्रतियोगिता १८ औं एसियाली खेलकुदमा नेपालका तर्फबाट सहभागी २८ खेलका एक–एक उत्कृष्ट खेलाडी छनोट गरिएको थियो । इन्डोनेसियामा भएको एसियाडमा नेपालले एकमात्र रजत पदक जितेको थियो । एसियाली खेलकुदमा नेपालले जितेको यो दोस्रो रजत पदक हो ।


रजत विजेता प्याराग्लाइडिङ टिमका कप्तान विमल अधिकारीलाई पुरुष वर्ष खेलाडीबाट सम्मानित गरियो । उनले १ लाख रुपैयाँ पुरस्कार पाए । पोखरा निवासी विमल उडान रद्द भएपछि कार्यक्रममा उपस्थित हुन सकेनन् । ‘दिनभर पोखरा विमानस्थलमा बसेर फर्कनुपर्‍यो । यति ठूलो सम्मानको हकदार बनाइदिएकोमा एनएनआईपीए परिवारप्रति कृतज्ञ छु,’ कान्तिपुरसँगको टेलिफोन सम्पर्कमा विमलले भने, ‘अवार्डमा उपस्थित हुन नसक्दा दुःख लागेको छ । तर खेलको रूपमा परिचित भएको प्याराग्लाइडिङ छोटो समयमै सबैमाझ स्थापित भएकोमा खुसी छौं ।’


‘हामीले यसै वर्षको सुरुमा पल्सर स्पोर्टस अवार्ड पनि पायौं । यसले प्याराग्लाइडिङमा लाग्न युवालाई प्रोत्साहित गरेको छ । म आफैंलाई पनि अझै राम्रो प्रदर्शन गर्न प्रेरित भएको छु,’ प्याराग्लाइडिङको विश्व वरीयतामा समावेश भइसकेका पाइलट विमलले भने ।



२०७५ सालको घरेलु प्रतियोगितामा अपराजित तेक्वान्दोकी निमाले पनि महिला वर्ष खेलाडी अवार्डसँगै १ लाख पुरस्कार थापिन् । उनले राष्ट्रियस्तरका घरेलु प्रतियोगितामा आफ्नो तौल ५३ केजीमुनि अपराजित रहँदै ६ स्वर्ण जितेकी थिइन् । दक्षिण कोरियामा सम्पन्न वर्ल्ड युनिभर्सिटी तेक्वान्दोको एकल र सामूहिक स्पर्धा गरी दुवैमा रजत जितेकी उनले दुबईमा आयोजित फुजेरा ओपनमा कांस्य जितेकी थिइन् । एसियाली खेलकुदमा उनले एक खेल जितेकी थिइन् ।


मंगलबार वसन्तपुर डबलीमा आयोजित अवार्ड कार्यक्रममा २८ खेलका उत्कृष्टमध्येबाट वर्ष खेलाडी छनोट गरिएको हो । उत्कृष्ट हरेकले जनही १० हजार पुरस्कार पाए । उत्कृष्ट पारा एथलिट अवार्डबाट बोसिया खेलकी महिमा कोइराला सम्मानित भइन् । उनले १० हजार रुपैयाँ पाइन् । युवा प्रतिभावान खेलाडी अवार्ड एथलेटिक्सका अजितकुमार यादव र भलिबलकी सरस्वती चौधरीले पाए । उनीहरूले जनही ५० हजार रुपैयाँ थापे । अजितले हङकङमा भएको एसियन जुनियर एथलेटिक्स च्याम्पियनसिपको ३ हजार मिटर दौडतर्फ ऐतिहासिक स्वर्ण जितेका थिए । राष्ट्रिय टोलीकी समेत मुख्य स्पाइकर रहेकी सरस्वतीले घरेलु भलिबलमा एपीएफको टिमबाट एकछत्र राज गरेकी थिइन् ।


बक्सिङ प्रशिक्षक मदन गुरुङ ‘गजराज जोशी स्मृति आदर्श खेल व्यक्तित्व’ बाट सम्मानित भए । पुराना पुस्ताका बक्सिङ प्रशिक्षक ५८ वर्षीय मदनले सन् १९८४ को पहिलो साफ र १९९९ को आठौं साफमा सानदार प्रदर्शनमा रिङबाहिरबाट ठूलो भूमिका निर्वाह गरेका थिए । उनलाई गजराज जोशी स्मृति ट्रस्टबाट ३५ हजारसहित सम्मान गरिएको थियो ।


गोरखापत्र दैनिकका पूर्व फोटोपत्रकार राजेन्द्र चित्रकारलाई उत्कृष्ट खेलपत्रकारको पुरस्कारसहित २५ हजारबाट सम्मानित गरियो । खेलपत्रकारको विश्वस्तरीय संस्था एआईपीएसको स्पोर्टस अवार्डमा उत्कृष्ट कोलम राइटरको अवार्ड जितेका दी काठमाण्डू पोस्टका खेलपत्रकार प्रज्वल ओलीलाई पनि सम्मानित गरिएको थियो ।


वर्ष उत्कृष्ट खेलाडी

विमल अधिकारी (प्याराग्लाइडिङ)

निमा गुरुङ (तेक्वान्दो)

तिलक पुन मगर (आर्चरी)

अजितकुमार यादव (एथलेटिक्स)

दीपेश धामी (ब्याडमिन्टन)

मनीष राजोपाध्याय (बास्केटबल)

पुनम रावल (बक्सिङ)

ओमकार सिंह (फेन्सिङ)

भरत खवास (फुटबल)

टंकबहादुर कार्की (गल्फ)

इन्द्रबहादुर श्रेष्ठ (जुडो)

रेनुका राजवंशी (कबड्डी)

विजय श्रेष्ठ (कराते)

उपेन्द्र थापा (कुराँस)

प्रेरणा कोइराला (लन टेनिस)

गोविन्द चौधरी (पेनाक सिलात)

मिलन शाह ठकुरी (रोलर स्पोर्टस)

रोशन तामाङ (सेपाकताक्रो)

सुस्मिता नेपाल (सुटिङ)

पेम्बा शेर्पा (स्पोर्टस क्लाइम्बिङ)

अमृत थापामगर (स्क्वास)

शुभम् श्रेष्ठ (पौडी)

नविता श्रेष्ठ (टेवलटेनिस)

वसन्त थारु (ट्रायथलन)

सरस्वती चौधरी (भलिबल)

सन्जु चौधरी (भारोत्तोलन)

रमेश गौतम (कुस्ती)

जुनी राई (उसु)

महिमा चौधरी (बोसिया, उत्कृष्ट पारा एथलिट)

मदन गुरुङ (गजराज जोशी स्मृति आदर्श खेल व्यक्तित्व)

राजेन्द्र चित्रकार (खेलकुद पत्रकारिता अवार्ड)

प्रकाशित : फाल्गुन ७, २०७६ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?