कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

च्याम्पिन्स लिग : सबैको चुनौती लिभरपुल

एएफपी

लन्डन — युरोपेली च्याम्पिन्स लिग मंगलबार फेरि फर्कंदै छ । डिफेन्डिङ च्याम्पियन लिभरपुल प्रतियोगिताका कायम अरु सबै टिमका लागि सबैभन्दा ठूलो चुनौती रहनेछ । त्यसमाथि लिभरपुल गत वर्ष उपाधि जित्दाको सम्झना हुने गरी एट्लेटिको म्याड्रिडको सामना गर्न मंगलबार राति वान्डा मेट्रोपोलिटानामो फर्कने छ । लिभरपुल ३० वर्षयता पहिलोपल्ट प्रिमियर लिग उपाधि जितको संघारमा छ ।

च्याम्पिन्स लिग : सबैको चुनौती लिभरपुल

लिभरपुलले अहिलेसम्म यसपल्टको लिग यात्रामा २ अंकमात्र गुमाएको छ । च्याम्पियन्स लिगको क्वाटरफाइनल हुनुअगाडि नै अप्रिलको सुरुमा लिभरपुलले प्रिमियर लिग जित्ने औपचारिकता पूरा गरिसक्नेछ । यसपल्ट लिभरपुलसामु ५ उपाधि जित्ने अवसर छ । त्यसमध्ये टोलीले यूईएफए सुपर कप र क्लब वर्ल्ड कप जितिसकेको छ । व्यवस्थापकमा योर्गन क्लोप आएयता लिभरपुलले च्याम्पियन्स लिगमा पनि लगातार राम्रो गरिरहेको छ ।


जर्मन प्रशिक्षकले एनफिल्डमा बिताएका चार सिजनमध्ये सन् २०१६ मा युरोपा लिग फाइनल खेलेको थियो भने त्यसलगत्तै च्याम्पियन्स लिगमा रियल म्याड्रिडविरुद्ध उपाधि भिडन्तमा उत्रेको थियो । दुवैमा लिभरपुल पराजित रह्यो । तर गत सिजन भने लिभरपुलले टोटेनहमलाई हराएर स्पेनी राजधानीमा युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो उपाधि चुमेको थियो । ‘हामीले यसपल्ट पनि उपाधि जित्ने छौं भनेर दाबी गर्न सक्दैनौं, तर हामी यसका लागि हामी तयार छौं,’ क्लोपले भनेका छन् ।


एट्लेटिको अहिले जुन लयबाट गुज्रिरहेको छ, त्यो आधारमा लिभरपुलका लागि यो बलियो चुनौती भने हुने छैन । प्रशिक्षक डिएगो सिमोनीको भविष्यलाई लिएर ८ वर्षयता पहिलोपल्ट प्रश्न उठेको छ । उपाधि होडमा नरहेको एटलेटिको शीर्ष चारमा स्थान बनाउन पनि संघर्षरत छ । यो सिजन क्लब गोलका लागि संघर्षरत छ । सन् २०१४ र २०१६ को फाइनल खेलेको एट्लेटिकोको डिफेन्स पनि यसपल्ट कमजोर साबित भएको छ ।


लिभरपुल भने पछिल्ला ११ खेलमा लगातार विजयी छ । यसक्रमा टोलीले २४ गोल गरेर एकै गोलमात्र खाएको छ । तर अर्को प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका लागि भने स्थिति दयनीय छ । सिटीमाथि भर्खरै युरोपेली फुटबल महासंघले प्रतियोगिता दुई वर्ष खेल्न नपाउने गरेर प्रतिबन्ध लगाएको छ । यस्तोमा पेप ग्वार्डिओलाको नेतृत्वमा सिटीसामु यसपल्ट उपाधि हात पार्ने एकमात्र अवसर हुनेछ र यसपल्ट पनि सफल नरहेर यसको भविष्यबारे कल्पना गर्न सकिन्न ।


तस्बिर : रोयटर्स

सिटीको प्रतिद्वन्द्वी रियल म्याड्रिड छ । जिनेदिन जिदानको टोली रियल पनि लयमा छ । ला लिगाका पछिल्ला १७ खेलमा रियल अपराजित छ । जिदानले यसपल्ट रियललाई फेरि बलियो र आत्मविश्वासी टिम बनाएको छ । पेरिस सेन्ट जर्मेनले पनि लगातार तीन वर्षको पीडादायी नतिजापछि यसपल्ट अन्तिम १६ मा आफ्नो चुनौती नवीकरण गर्न मंगलबार नै बरुसिया डर्टमन्डको भ्रमणमा जानेछ । डर्टमन्ड जर्मन बुन्डेसलिगामा अहिले उत्कृष्ट लयबाट गुज्रिरहेको छ ।


बार्सिलोनामा च्याम्पियन्स लिगको नकआउट चरण सामना गर्न प्रशिक्षक क्विक सेटिन आएका छन् । उनीसँग यसअघि च्याम्यिन्स लिग खेलाएको अनुभव नै छैन । बार्सिलोनाले नेपोलीको सामना गर्नेछ । घरेलु सफलतामै चित्त बुझाइरहेको युभेन्ट्सले भने लियोनको भ्रमण गर्नेछ भने बायर्नले चेल्सीको चुनौती आत्मसात् गर्नेछ । अन्य खेलमा एटलान्टा र भ्यालेन्सिया तथा टोटेनहम र लेप्जिगले एकआपसको चुनौती बेहोर्नेछन् ।

प्रकाशित : फाल्गुन ६, २०७६ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?