सताक्षी गोल्डकप : थ्रीस्टार सेमिफाइनलमा

अर्जुन राजवंशी

बिर्तामोड — झापाको झिलझिलेमा भइरहेको तेस्रो सताक्षी गोल्डकप फुटबल प्रतियोगितामा सोमबार रुस्लान थ्रीस्टार क्लब विजयी भएको छ ।
शिवसताक्षी नगरपालिका–११ स्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठानको मैदानमा थ्रीस्टारले मोरङको बेलबारी फुटबल क्लबलाई ३–० ले पराजित गरेको हो ।

सताक्षी गोल्डकप : थ्रीस्टार सेमिफाइनलमा

थ्रीस्टारलाई सेमिफाइनलमा पुर्‍याउन सन्जोग राईले २ र सुशील राईले १ गोल गरे । थ्रीस्टारले नवौं मिनेटमा अग्रता लियो । बेलबारीका डिफेन्डर अगाडि बढेको अवस्थामा सन्जोगले गोल गरेका थिए ।


त्यसको ५ मिनेटपछि थ्रीस्टारले अग्रता दोब्बर पारेको हो । १४ औं मिनेटमा सन्जोगको लामो पासमा बक्स नजिकबाट सुशील राईले गोल गरेका थिए । सुशीलले सेकेन्डबार च्याप्दै गरेको वान टच बल जालीको सम्पर्कमा पुगेको थियो । ५४ औं मिनेटमा पुनः सन्जोगले गोल थपेका थिए । लालरामको क्रसपासमा बक्सभित्र रहेका सन्जोगले गोल गर्दै टिमको जित सुनिश्चित गरे ।


खेलमा थ्रीस्टार हाबी रह्यो । ३२ औं मिनेटमा थ्रीस्टारका कप्तान विक्रम लामाले प्रहार गरेको फ्रिकिकलाई अनन्त तामाङले हेड गरे पनि बेलबारीका गोलकिपर सनम राईले नियन्त्रणमा लिए । सुशील राईको पासमा लालरामले ४२ औं मिनेटमा गरेको कडा प्रहार पोस्टको थोरै माथिबाट बाहिरियो । बेलबारीका भुषण सुब्बाले ४५ औं मिनेटमा गरेको फ्रिकिक प्रहार बारमा लागेर बाहिरियो ।


खेलको ५३ औं मिनेटमा थ्रीस्टारका सन्जोग राईले मैदानको दायाँ भागबाट अघि बढाएको बल गोलकिपर सनमले अघि बढेर क्लियर गरिदिए । ६१ औं मिनेटमा बेलबारीका भुवन बस्नेतले बललाई पोस्टको दिशा दिन सकेनन् । त्यसको १० मिनेटपछि बेलबारीका सौरभ कार्कीको कडा प्रहार पोस्ट माथिबाट बाहिरियो । ७८ औं मिनेटमा थ्रीस्टारका सुशान्त श्रेष्ठले फस्टबारमा गरेको प्रहार बेलबारीका गोलकिपर सनमले पन्च गरेर बाहिर पठाए । बेलबारीका विनोद अधिकारीले ८५ र ८७ औं मिनेटमा प्राप्त अवसर सदुपयोग गर्न सकेनन् । दुई गोल गरेका थ्रीस्टारका सन्जोग राई म्यान अफ द म्याच घोषित भए । उनले १० हजार रुपैयाँ पाए ।


मंगलबार त्रिभुवन आर्मी क्लब र दार्जिलिङको एमएफसीबीच प्रतिस्पर्धा हुनेछ । विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने छन् । सतासीधाम स्पोर्टिङ क्लबको आयोजनामा भएको गोल्डकप फागुन ११ सम्म चल्नेछ ।

प्रकाशित : फाल्गुन ६, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?