थपिएको च्याम्पियन परिचय

हिमेश

काठमाडौँ — काठमाडौं उपत्यकामा जति पनि महत्त्वपूर्ण चाडपर्व मनाइन्छ, त्यसको तिथि मिति र विधिबारे यकिन हुन अझै पनि जनबहालतिर गएर सोध्ने चलन कायम नै छ । जनबहालको मछिन्द्रनाथका पुजारीले भनेपछि त्यसैअनुसार चाड पर्व मनाउने परम्परा अझै पनि भित्री काठमाडौंमा विद्यमान छ । 

अनि त्यसैअनुसार दसैं मनाइन्छ र नेपाल संवत् अनुसार मान्नु पर्ने अन्य पर्व पनि । काठमाडौंका सबैभन्दा पुरानो बस्तीमध्ये एक हो, जनबहाल । ऐतिहासिक रूपमै भन्नु पर्दा यो केलटोल नामले बढी चिनिन्छ । यहींको फुटबल क्लब हो, मछिन्द्र । अनि यसले भर्खरै जितेको छ, सहिद स्मारक लिगको ‘ए’ डिभिजन उपाधि । आर्मीविरुद्धको अन्तिम खेल जित्नु थियो, बराबरी पनि पर्याप्त थिएन । मछिन्द्रले यही निर्णायक खेल जित्यो र बन्यो, सहिद स्मारक लिगको १६ औं च्याम्पियन क्लब । यसको अर्थ हो, अब जही जनबहालको अर्को परिचय पनि थपिएको छ र यो परिचय हो, फुटबल च्याम्पियनको । फेरि इतिहासमै फर्कने हो भने काठमाडौंको सबैभन्दा पुरानो बस्तीका रूपमा मानिन्छ, हाँडीगाउँ । यहाँ कुनै ठूलो प्रकोप परेपछि लगनटोलतिर बस्ती बसेको मानिन्छ ।

त्यही बेला केलटोल पनि बसाइ बसेको थियो । कोलियाहरू आएर बसेको हुनाले केलटोल नाम रहेको पनि भनिन्छ । यी कोलियाको कालान्तारमा के भयो त ? यसबारे ठ्याक्कै उत्तर छैन, तर अनुमान गरिन्छ, सम्भवतः अहिलेका कंसाकार नै कोलिया हुन् । मीठो संयोग के भने मछिन्द्रका अहिलेका अध्यक्ष नै कंसाकार हुन्, प्रमोद कंसाकार । उनीसँग कुराकानी गर्नु पर्छ, थाहा हुन्छ, जनबहालका केही युवाहरू मिलेर धेरै अगाडिदेखि नै फुटबल खेल्ने गर्थे, तर त्यो व्यवस्थित थिएन । त्यहाँतिरका नाम चलेका पूर्व फुटबल खेलाडी हुन्, नीलकाजी शाक्य । अहिले उनी भित्री काठमाडौंका चर्चित र तगडा वडा अध्यक्ष पनि हुन् । उनकै समयतिर पनि मछिन्द्र नाममा फुटबल खेल्ने चलन भने बसिसकेको थियो । जति बेलादेखि व्यवस्थित रूपमा खेल्न थालेको हो, लामो समय ‘बी’ डिभिजनमै रह्यो, लगभग २९ वर्ष ।


मछिन्द्रले ‘ए’ डिभिजन खेलेको भर्खर २०६१ सालदेखि न हो । त्यस अगाडि एक प्रकारले मछिन्द्र आरसीटीको सफलता अगाडि ओझेलमा पर्‍यो । एक किलोमिटर भन्दा कम दूरीमा पर्छन, यी दुई क्लब । तर प्रतिद्वन्द्वी हुन् । आरसीटी त नेपाली लिग फुटबल इतिहासको पर्याय जस्तै हो । यसकै दबदबा अगाडि मछिन्द्र तीन दशकभन्दा लामो समय ओझेलमै पर्‍यो । अब अर्को संयोग कस्तो भने जति बेला आरसीटी ‘बी’ डिभिजनमा छ, मछिन्द्रले भने पहिलोपल्ट माथिल्लो डिभिजनको च्याम्पियन भएको छ ।

आरसीटी जब्बर टिम हुँदा त्यसबाट खेल्ने एक खेलाडी थिए, नीलकाजी । असन र भित्री काठमाडौतिर उनलाई नचिन्ने को नै होला र ? उनी राजनीतिक व्यक्तित्व त हुन् नै, अनि कलाकार पनि हुन् । नाटक र टेलिसिरिल पनि खेले, उनले । दशरथ रंगशालामा भएको अन्तिम दिनको खेलमा दौरा सुरुवालमा सज्जिएर आए । मछिन्द्रले उपाधि जितेपछि त उनको रौनकता नै बेग्लै भइसकेको थियो । उनी ट्रफी वितरण समारोह भइरहेको मञ्चमै पुगे र बने, पूरा काठमाडौं महानगरको प्रतिनिधि नै ।


आर्मीविरुद्धको त्यस अन्तिम खेलसँगै १ सय ४६ खेल खेलिसकेको छ । समयको आधारमा आधा दशक । केही वर्ष रेलिगेसन बच्न संघर्ष गरेको मछिन्द्रले केही वर्ष उपाधिका लागि बलियो चुनौती पनि पेस गरेको थियो, जस्तो ०७० मा । अहिलेका दुई ठूला स्टार रोहित चन्द र किरण लिम्बूलाई स्थापित गर्नुमा पनि मछिन्द्रको ठूलो र निर्णायक हात छ । यसबीच मछिन्द्रले यस्ता केही काम पनि गरेका छन्, जसलाई पटक्कै निको मान्न सकिन्न, भलै यसलाई सिद्ध गर्न ठोस प्रमाण छैन । तर त्यो समय नै त्यस्तो थियो, जति बेला यस्तै यस्तै खराव नियतले फुटबल खेलिन्थ्यो । अब समय फेरिएको छ र फेरिएको छ, नेपाली फुटबल पनि । अनि क्लबमा नयाँ व्यवस्थापन पनि आएको छ, अध्यक्ष छन्, तिनै कंसाकार । यसपल्ट पनि क्लबले उपाधि नै जित्ने मनसायले राम्रै खर्च गर्ने ठूलो मन बनाएको थियो र अब त नतिजा सबैसामु छ । नेपाली फुटबलले अपेक्षा गर्ने यही हो, मछिन्द्रले अबदेखि सधैं सफा मनले फुटबल खेल्ने छ र जित्ने छ, धेरैभन्दा धेरै उपाधि ।


किन उपाधि त ?


लिग सुरु हुन अगाडि कम्तीमा कागजमै सही, तय थियो, यसपल्ट लिग जित्ने सबैभन्दा बलियो टिम कुनै छ भने त्यो मछिन्द्र नै हो । मछिन्द्रले मनाङ मर्स्याङ्दी र थ्री स्टारका प्रमुख ठूला खेलाडीलाई आफूमा भित्र्याएको थियो । ठीक यही बेला मनाङ र थ्री स्टारले भने लगभग ठिक्कका खेलाडी खेलाउने नीति बनायो । उनीहरूको तर्क थियो, राम्रा भनिएका महँगा खेलाडीलाई मात्र खेलाएर के हुने हो र ? हुन पनि ‘ट्रेन्ड’ त्यस्तै बसेको थियो । यही बेला मछिन्द्रले भने ठूलो जोखिम उठायो । यसपल्टको लिगमा जम्मा जम्मी दुई टिमले मात्र फुटबलको ‘फिलोसफि’ अनुसार फुटबल खेले । बाँकी टिमले खेलेको त पुरानै नेपाली पाराले त हो, जता मन लाग्यो, उतै प्रहार गर्ने । मछिन्द्रसँगै आर्मीको खेल मात्र आधुनिक फुटबलको सिद्धान्त अनुसार रह्यो । मछिन्द्रले जति पनि खेलाडी अनुबन्ध गरेको थियो, त्यसमध्ये धेरै फुटबलको भाषा बुझेका थिए, त्यसो भनेको तिनीहरूले सानैदेखि प्राविधिक फुटबल खेल्न सिकेको थियो ।


यसका बावजुत पनि मछिन्द्रको यात्रा सजिलो थिएन् । लिग सुरु हुन अगाडि नै मछिन्द्रको एक अंक ऋनात्मक थियो, पोहोरको लिगमा पुछारबाट दोस्रो स्थानमा रहेको हुनाले । सुरुआती छ चरणको खेलमा मछिन्द्रले १३ अंक बटुलेको थियो, चार जित र दुई बराबरीमा । ठिक्कैको प्रदर्शन थियो, यो । च्यासल र मनाङसँग बराबरी खेलेको थियो । त्यस लगतै मछिन्द्रले हिमालयन शेर्पाविरुद्धको खेल भने २–० ले गुमायो । झरीबीच सातदोबाटोमा भएको त्यस खेलमा मछिन्द्रको केही पनि चलेन ।

तर यो हारको चोटले मछिन्द्रलाई ब्युँझाउने काम गर्‍यो र जित्यो, लगातार छ खेल । यो छ खेलमा मछिन्द्रको लय च्याम्पियन टिमकै जस्तो थियो । यो क्रममा मछिन्द्रले तीन महत्त्वपूर्ण जित निकाल्यो, पुलिस, थ्री स्टार र आर्मीविरुद्ध । यी तिनै खेलमा मछिन्द्रले ‘क्लिन सिट’ पनि कायम राख्यो । अब यस्तो प्रदर्शन गरेको टिमले नजिते कसले जित्ने त ? मछिन्द्रका प्रशिक्षक हुन्, प्रवेश कटुवाल । उनले यसपल्ट प्रशिक्षकका रूपमा ‘ए’ डिभिजनमा डेब्यु गरेका हुन् ।

यी प्रवेश आफ्नो भनाइ राख्नुपर्दा सबैभन्दा पहिले भन्ने गर्छन्, ‘पक्कै पनि ।’ उनको यो बानी जस्तै छ । त्यसलाई नक्कल गर्दै भन्नै पर्छ, मछिन्द्रले वास्तवमै सात खेलमा ‘क्लिन सिट’ राखेको थियो र यसले ‘पक्कै पनि’ देखाउँछ, मछिन्द्रको डिफेन्स कति बलियो छ भनेर ।


अनि यही टिमले पूरा लिगमै सबैभन्दा बढी गोल गरेको थियो, २५ । अब भनिरहनु पर्दैन, यो सबै उपलब्धिका लागि मछिन्द्रको मिडफिल्डले पनि त राम्रै योगदान दिएको थियो ।


मछिन्द्रका विदेशी खेलाडी पनि अरू टिमकोतुलनामा गतिला रहे । यो पनि मछिन्द्रले उपाधि जित्नु पछाडिको प्रमुख कारण रह्यो । मछिन्द्रले यसपल्टको लिगमा कुल २० खेलाडी उतारेको थियो । त्यसमध्ये विमल घर्तीमगर र हेमन गुरुङले त एकै खेल मात्र खेले । अन्यथा अधिकांश समय मछिन्द्रले समान खेलाडीको ‘सेट’ उतारेको थियो । धेरै प्रयोगको आवश्यकता नै परेन । त्यसमध्ये ११ खेलाडीले त गोल नै गरे । अनि रंजित धिमाल, विशाल श्रेष्ठ र विशाल राई ‘बी’ सबै१३ खेल खेले । प्रकाशित : फाल्गुन ५, २०७६ १०:१३

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सेजमा अझै आएनन् उद्योग

उद्योग सञ्‍चालनका लागि ६९ प्लट छुट्याइएकोमा २२ वटा खाली
माधव ढुंगाना

भैरहवा — उद्‌घाटन गरिएको पाँच वर्ष बितिसक्दा पनि यहाँस्थित विशेष आर्थिक क्षेत्र (सेज) ले पूर्णता पाउन सकेको छैन । दुई दशक अवधिमा आधा दर्जन उद्योग स्थापनाका लागि गएका छन् । सञ्चालन सम्झौता गरेका धेरै उद्योगले पूर्वाधार बनाएका छैनन् ।

सेज सञ्चालनमा ढिलाइ भएको जनाउँदै केही उद्योगले सम्झौता रद्द गरिसके । ०७१ मंसिर २ गते तत्कालीन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम र उद्योगमन्त्री महेश बस्नेतले पहिलो पटक उद्घाटन गरेका थिए । त्यसपछि ०७३ फागुन ५ मा तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीले सेजको भवन भन्दै दोस्रो पटक उद्घाटन गरेका थिए ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणका अनुसार सेजमा उद्योग सञ्चालनका लागि ६९ प्लट छुट्याइएको थियो । जसमध्ये यति बेला २२ वटा खाली छन् । पाँच वटा उद्योगले सम्झौता रद्द गरेपछि प्लट खाली भएका हुन् । एउटा उद्योग पूर्ण रूपमा र एउटाले परीक्षण उत्पादन गरेको छ । थप तीन उद्योग स्थापनाको तयारीमा छन् । सम्झौता गरेका अरू उद्योगको अत्तोपत्तो छैन । ‘दुई वर्षअघि लगानी गर्न खोज्ने म पहिलो हुँ,’ सिद्धार्थ ग्रुपका प्रबन्ध निर्देशक राजेश अग्रवालले भने, ‘तीन उद्योग सञ्चालनका लागि सात प्लटमा सम्झौता गरेको थिएँ । १० महिनापछि सम्झौता रद्द गर्न बाध्य भएँ ।’ सेज सञ्चालनमा ढिलाइ भएको र उद्योग स्थापनाका लागि उपलब्ध हुनुपर्ने पूर्वाधार तयार नभएकाले सम्झौता रद्द गर्नुपरेको उनले बताए ।

विशेष आर्थिक क्षेत्र ऐन ०७५ चैत १३ मा संशोधन भएपछि २२ वटा उद्योगले अनुमति लिएका थिए, जसमध्ये सिद्धार्थ ग्रुप अफ इन्डस्ट्रिजका तीन, सुगम नानो हर्बल प्रालि र नुमटल इन्डस्ट्रिजले सम्झौता रद्द गरेका हुन् । उद्योग स्थापना र सञ्चालनका लागि चौबिसै घण्टा उपलब्ध हुनुपर्ने बिजुली, एकद्वार सेवा प्रणाली, प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन, भन्सार, बैंक, बिमा, करलगायत पूर्वाधार तयार हुन नसकेको व्यवसायीको आरोप छ । ‘सेजमा एकद्वार प्रणालीबाट सुविधा उपलब्ध गराउनुको सट्टा घरि यो पुगेन घरि त्यो पुगेन भन्दै फाइल हातमा बोक्दै काठमाडौं धाएका व्यवसायीलाई महिनौं दिनसम्म अल्झाउन थालेपछि सम्झौता रद्द गरें,’ नानो हर्बल प्रालिका सञ्चालक इस्तियाक अहमदले भने, ‘सेजमा उद्योग लगाएपछि सरकारले आफ्ना तर्फबाट निर्वाह गर्नुपर्ने दायित्व र भूमिका सुनिश्चित गर्न सकेन ।’

सेजमा अहिलेसम्म एउटा पनि विद्युत्को ट्रान्सफर्मर राख्न नसकेको व्यवसायीको आरोप छ । सम्झौता रद्द गरेका र सेजमा उद्योग स्थापनाको तयारी गरेका बाहेक नीर इन्डस्ट्रिज, ग्रोबेल इन्नोभेसन प्रालि, आईडीएस इलेक्ट्रिक प्रालि, क्रिएसन वर्ल्ड वाइड प्रालि, अरिभा एग्रिकल्चर प्रालिलगायत आठ उद्योगले स्थापना प्रक्रिया कहिलेदेखि अघि बढाउने हुन् भन्ने टुंगो छैन । यी उद्योगले गत साउनभित्रै प्रक्रिया बढाइसक्नुपर्ने थियो । उद्योगले सम्झौताअनुरूप सेजको जमिनको भाडा मात्रै तिरिरहेका छन् । सेजलाई व्यवस्थित गरी पूर्ण रूपमा सञ्चालनमा ल्याउनका लागि विशेष आर्थिक क्षेत्र नियमावली–०७४ संशोधन भएर आएपछि सहज हुने सेज प्राधिकरणको दाबी छ । सेजमा तत्काल आवश्यक विद्युत् ट्रान्सफर्मर राख्न टेन्डरको प्रक्रिया अन्तिम चरणमा पुगेको र अन्य पूर्वाधार धमाधम तयार हुने क्रममा रहेको प्राधिकरणले बताएको छ । सेजमा केकस्ता खालका उद्योग सञ्चालनका लागि अनुमति दिने, उद्यमीलाई केकस्ता सेवा सुविधा दिने भन्ने सम्झौता गरेर पनि भाडा मात्रै तिरेर बस्ने तर उद्योग स्थापना गर्नेतर्फ चासो नदेखाउने उद्योगलाई के गर्ने भन्ने समस्या छ । सेजमा उद्योग स्थापना गर्न चाहने व्यवसायीलाई एकद्वार प्रणालीबाट छिटोछरितो सेवा दिनेलगायत विषयका लागि सेज प्राधिकरण नियमावली संशोधनको पर्खाइमा छ ।

‘भैरहवा सेजलाई व्यवस्थित र पूर्ण रूपमा सञ्चालनका लागि हामी सेज नियमावली संशोधनको पर्खाइमा छौं,’ विशेष आर्थिक क्षेत्र प्राधिकरणका प्रवक्ता तथा सहसचिव सुन्दर थापाले भने । नियमावली संशोधनका लागि सेज प्राधिकरणले करिब चार महिनाअघि नै मन्त्रिपरिषद्मा ड्राफ्ट पठाइसकेको छ । पहिलाको नियमावलीमा कुनकुन खालका र प्रकृतिका उद्योगलाई सेजमा राख्न दिने भन्नेबारे सूचीकृत गरिएको थियो । सूचीकृत गरिएको र सोचेभन्दा पनि फरक खालका उद्योग पनि आउन सक्ने भएकाले अब सेजमा राख्न नसकिने खालका उद्योगका सूची बनाएर अन्य सबै खालका उद्योगलाई स्थापनाका लागि खुला गरिनेछ । यसका लागि नियमावली संशोधन भएर आउन जरुरी छ ।

अर्कोतर्फ नियमावली संशोधन भएर आएपछि उद्योग सञ्चालनका लागि अनुमति लिएर पनि उद्योग स्थापना गर्नेतर्फ पहल नगरेका उद्योगहरूको नाममा अनुमति खारेज किन नगर्ने भनेर सूचना जारी गरिनेछ । सूचना जारी गरेको निश्चित दिनभित्र उद्योग स्थापना नगरे ती उद्योगको अनुमति खारेज गरी अन्य उद्योगलाई सेजमा आउन बाटो खुला गर्ने मनस्थितिमा प्राधिकरण रहेको थापाले जनाए । ‘सेजमा स्थायी कर्मचारी नभएको र प्रशासनिक कर्मचारीलाई करारमा राख्न नमिल्ने भएकाले कर्मचारीको कमीले एकद्वार प्रणालीबाट सेवा दिन नसकिएको हो,’ उनले भने, ‘स्थायी कर्मचारीका लागि लोकसेवा आयोगमा पठाइएको छ । नियमावली पास भएपछि स्थायी कर्मचारी मागिनेछ ।’

प्रकाशित : फाल्गुन ५, २०७६ १०:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×