भाग्य बलियो कि कर्म ?

राजु घिसिङ

काठमाडौँ — सामान्यतः कुनै पनि प्रतियोगितामा उत्कृष्ट खेलाडीहरूकै टिम च्याम्पियन हुने गर्छ । टिमको सफलताको आधार तय गरेका च्याम्पियन खेलाडीहरू नै व्यक्तिगत अवार्डमा पनि हाबी हुने गर्छन् । प्रशिक्षकको अवार्डमा पनि उस्तै हुन्छ । कुनै अवार्ड मुख्य उपाधि नजिक पुग्ने खेलाडीको हातमा पनि पर्छ । यसपालि सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शनिबार नयाँ च्याम्पियन बनेको मछिन्द्र क्लबले व्यक्तिगत अवार्डमा वर्चस्व कायम गर्न सकेन ।

‘ए’ डिभिजन लिगको डेब्युमै मछिन्द्रका प्रवेश कटुवालले उत्कृष्ट प्रशिक्षकको अवार्ड जिते । विशाल राई (बी) उत्कृष्ट मिडफिल्डर भए । बाँकी व्यक्तिगत चार अवार्ड अरु क्लबकै पोल्टामा पर्‍यो । उपविजेता आर्मीका कप्तान भरत खवासले उत्कृष्ट फरवार्डको अवार्ड चौथोपल्ट हात पारे । यो लिगमा लयमा फर्किन संघर्षरत उनले ४ गोल गरे, जबकि सर्वाधिक गोलकर्ताको सूचीमा उनीभन्दा अगाडि छन् एपीएफका आशिष लामा (९ गोल), च्यासलका सन्तोष साहुखल (७), मनाङका अन्जन विष्ट (६), विमल राना (६) र आर्मीकै नवयुग श्रेष्ठ (६) । यो अवार्ड जित्ने आफैंले पनि नसोचेको भरतले प्रतिक्रिया दिए । घरमा टेलिभिजनमा लिगको अन्तिम खेल हेरिरहेका थ्रीस्टारका सेन्टर–ब्याक अनन्त तामाङ पनि हतारिँदै अवार्ड थाप्न दशरथ रंगशाला आइपुगे । उत्कृष्ट डिफेन्डरको अवार्ड जितेका उनी आफैं आर्मीका सेन्टरब्याक विकास खवासको प्रदर्शनलाई यो लिगकै राम्रो मान्छन् । अनन्तले ४ गोल पनि गरेका थिए । निर्णायक खेलमा आर्मीसँगै उसका मिडफिल्डर सन्तोष तामाङ चुक्दा मछिन्द्रमा प्रभावशाली देखिएका विशाल राई ‘बी’ उत्कृष्ट मिडफिल्डरको अवार्डका मुख्य हकदार बनेका थिए ।


मनाङका दीप कार्कीले उत्कृष्ट गोलकिपरको अवार्ड हात पारे । यो लिगमा तेस्रो भएको उनको टिमले ८ गोल बेहोरेको थियो । मछिन्द्रका विशाल श्रेष्ठले पनि उति नै गोल बेहोरेका थिए । आर्मीका गोलकिपर विकेश कुथुको पोस्टमा भने ७ गोलमात्र भएको थियो । उदीयमान खेलाडीको अवार्ड एनआरटीका मिडफिल्डर दर्शन गुरुङले प्राप्त गरे । सन्दकपुर इलामका २० वर्षीय उनले १ लाख रुपैयाँ हात पारे । अरु उत्कृष्ट ४ खेलाडी र प्रशिक्षकले जनही १ लाख ५० हजार पाए ।


उत्कृष्ट गोलकिपर

दीप कार्की (मनाङ मर्स्याङदी)


मेरो लागि लिग राम्रो अनुभव रह्यो । राम्रो प्रदर्शन भयो । यो अवार्ड पाउँछु भन्नेमा आत्मविश्वासी थिएँ किनभने तीनपल्ट म्यान अफ द म्याच भएको थिएँ । यसले भविष्यमा राम्रो हुन्छ । दक्षिण एसियाली खेलकुद (साग) को टिममा भएकाले आत्मविश्वास बढेको थियो । राष्ट्रिय टिममा बोलायो भने आफ्नो उत्कृष्ट दिन्छु भन्ने लाग्छ ।


उत्कृष्ट डिफेन्डर

अनन्त तामाङ (थ्रीस्टार)


यो अवार्ड पाउँछु भन्ने सोचेकै थिइनँ । घरमा बसेर टीभीमा खेल (आमी–मछिन्द्र) हेरिरहेको थिएँ । एक्कासि फोन आयो, म त छक्क परें । टिमका लागि जति गर्नुपर्ने थियो, त्यति गर्न सकिनँ । यो मैदानमा आज (शनिबार) थ्रीस्टार खेलिरहेको हुनुपर्ने थियो तर अलि मिहिनेत नपुगे जस्तो लाग्यो । सोचेको चाहिँ भएन । ‘ए’ डिभिजन लिग यो मेरो पहिलो हो । एकदमै राम्रो भयो । धेरै सिक्न पाइयो । अब आउने दिनहरूमा धेरै कुरा सजिलो हुन्छ । धेरै खेलाडी छन्, नामै तोकेर भन्नुपर्दा विकास खवास (आर्मी) उत्कृष्ट छन्, मलाई एकदम मनपर्छ । यो लिगमा उनको प्रदर्शन एकदम राम्रो थियो । आर्मीको सबै खेल हेरे, एउटै पोजिसन भएकाले मनपर्छ । मलाई यो लिगमा उत्कृष्ट डिफेन्स विकास (खवास) जस्तो लाग्छ किनभने आज आर्मी जुन ठाउँमा छ त्यहाँ पुर्‍याउन विकासको प्रदर्शन एकदम महत्त्वपूर्ण छ ।


उत्कृष्ट मिडफिल्डर

विशाल राई 'बी’ (मछिन्द्र)


मैले छपल्ट लिग खेलें । जितेको यो लगातार तेस्रो हो । क्लब फरक भए पनि मान्छे एउटै हो । तेस्रोपल्ट जित्दा व्यक्तिगत अवार्ड पनि पाएँ, धेरै खुसी लाग्यो । मछिन्द्रले जित्दा थप खुसी किन पनि लाग्यो भने जुन हामीले खेल्दाखेल्दै बीचमा बजारमा हल्ला जति खर्च गरे पनि हुँदैन रहेछ भन्ने थियो । यसले भविष्यमा अरु खेलाडीलाई पनि राम्रो हुन्छ । नतिजाले नै सबै कुरा प्रमाणित गरिदियो । मिडफिल्डमा राष्ट्रिय टिमकै खेलाडीहरूले राम्रो खेले । अन्जन विष्ट (मनाङ), सन्तोष तामाङ (आर्मी) ले राम्रो गरे । मेरै टिमका विदेशी पनि राम्रा थिए । यो लिगमा म आफूलाई त्यस्तो खतरा भन्दिनँ । टिमले राम्रो खेल्यो, टिमले जित्यो त्यो नै मेरो लागि सबैभन्दा ठूलो खुसी हो । मछिन्द्रभन्दा मनाङमा खेल्नु धेरै दबाब हुन्थ्यो, किनभने त्यो ऐतिहासिक क्लब हो । तर पछि सबैले पैसा–पैसा, स्टार भन्दाभन्दै अलि–अलि दबाब भयो ।


उत्कृष्ट फरवार्ड

भरत खवास (आर्मी)


धेरै नै दुःखी छु, व्यक्तिगत उपलब्धि भए पनि मैले लिग अघि जिम्मेवारी अर्कै पाएको थिएँ । त्यो जिम्मेवारी निभाउन नसकेको महसुस भइरहेको छ, यसमा एकदम दुःखी छु । हाम्रो टिमको लक्ष्य लिग च्याम्पियन हुने थियो तर सकिएन । लिगमा चौथोपल्ट उत्कृष्ट फरवार्डको अवार्ड पाउँछुभन्ने सोचेको थिइनँ, त्यसरी खेलेको थिइनँ, अवार्ड पाएँ, तर खुसी छैन । धेरै गोलको कुरा गर्दा एपीएफको आशिष लामाले पाउला (अवार्ड) कि भन्ने लागेको थियो । उनको स्कोरिङ उच्च (९ गोल) थियो । तर, यसरी हुने रहेनछ, जसले मिहिनेत गर्छ, त्यसको कदर हुन्छ भन्ने लाग्यो । यसले मलाई धेरै नै प्रोत्साहन दिनेछ । अझ खेल्न सक्दोरहेछ, धेरै कुरा गर्नुछ जस्तो लाग्यो । धेरै लक्ष्य बोकेर हिँडेको छु, अझ मिहिनेत गर्न यो अवार्डले प्रोत्साहन गर्छ ।


उत्कृष्ट प्रशिक्षक

प्रवेश कटुवाल (मछिन्द्र)


मेरो फुटबल करिअरकै सबैभन्दा गर्विलो क्षण हो । यसलाई शब्दमा बयान गर्नै सक्दिनँ । ‘ए’ डिभिजनमा पहिलोपल्ट प्रशिक्षक हुँदै लिग च्याम्पियनको कोच र उत्कृष्ट प्रशिक्षक हुनुको सीमा नै छैन । यसअघि झापा ११ को युथ टिम र सिनियर टिम हेरिरहेको थिएँ । उस्ताउस्तै थियो ए डिभिजनमा हेर्नु र झापा ११ हेर्नु । मैले हेरेकै केटाहरू मछिन्द्रमा थिए, उनीहरूलाई मैले बुझेको थिएँ । त्यसैले पनि सजिलो भयो । मैले आफैं पनि सँगै खेलेको र कोच गरेको केटाहरू थिए । मैदानमा खेलाडी र प्रशिक्षकको भूमिका थियौं भने बाहिर हामी साथीजस्तै थियौं/छौं । मैदानभित्र त भइहाल्यो, बाहिर पनि सम्पर्क, समन्वय राम्रो थियो । त्यसैले च्याम्पियन बन्न मदत पुग्यो । हाम्रोमा सबै खेलाडी स्टार छन् । स्टार खेलाडीलाई सम्हाल्न गाह्रो हुन्छ जस्तो लागेको थियो । तर, जति सोचेको त्यस्तो गाह्रो भएन । राम्रो समन्वय र समझदारी भयो । खेलाडी छँदा २०६९ मा थ्रीस्टारबाट लिगको उपाधि जितेको थिएँ । टिमको मुख्य जिम्मेवार (कोच) भएकाले त्योभन्दा यो विशेष लाग्यो । प्रशिक्षकको भूमिकामा गहन र बृहत् जिम्मेवारी हुन्छ । सेकेन्ड इनिङ्स जस्तै हो यो ।


उदयमान खेलाडी

दर्शन गुरुङ (एनआरटी)


पहिलोपल्ट लिग खेल्दै पाएको अवार्डप्रति धेरै खुसी लागिरहेको छ । सोचेको थिइनँ यो (अवार्ड) पाउँछु भनेर । लिग खेल्न सक्दिनँ होला भन्ने सोचेको थिएँ, खेल्दै गएपछि मिहिनेत गरे सक्दोरहेछ भन्ने थाह भयो । मैले ‘ए’ डिभिजन लिग खेल्छु भन्ने नै सोचेको थिइनँ । मिहिनेत गरेअनुसार राम्रो प्रदर्शन गरें । हाम्रो टिमले ५–६ खेल राम्रो खेल्यो, पछिल्ला नतिजाहरू भने हल्का नराम्रो भयो ।


प्रकाशित : फाल्गुन ४, २०७६ ०८:५३

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

जसले इमान गुमाएनन्

सुटकेस भएका यात्रुको नम्बर थिएन, तुरुन्तै ट्राफिक प्रहरीको १०३ मा फोन गरेर उनले सामान छुटेको बारे जानकारी गराए 
मकर श्रेष्ठ

काठमाडौँ — ट्राफिक प्रहरीले उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ६० जना ट्याक्सी चालकलाई गत सोमबार कारबाही गर्‍यो । मिटरमा जान नमान्ने, बढी भाडा लिने, मिटर बिगार्ने चालक कारबाहीमा परेका हुन् । मादक पदार्थ सेवन गर्ने, लेन मिच्ने, जेब्रा क्रसमा सवारी रोक्ने, फुटपाथमा पार्किङ गर्ने, जथाभावी हर्न बजाउनेसहित कुल २ हजार ५२ चालक सोही दिन कारबाहीमा परे ।

कारबाहीमा पर्ने चालकको भीडमा बा २ ज ४०७१ नम्बरको ट्याक्सी चालक नवीन सिग्देल भने अपवादमा परे । त्यस दिनमात्रै होइन उनी पछिल्लो वर्षकै इमानदार चालकको सूचीमा दरिए । त्यही दिन बा ५ ख २१६ नम्बरको बसमा छुटेको सुटकेस फिर्ता नगरेपछि ट्राफिक प्रहरीले चालकलाई बोलाएर फिर्ता गराउन लगाए । चालकलाई साथमा राखेर सामान फिर्ता गरेको फोटोसमेत सार्वजनिक भयो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार साउनयता मात्रै चार हजार २९८ ट्याक्सी चालक कारबाहीको दायरामा आइसकेका छन् । अघिल्लो वर्ष १२ हजार ७४९ चालक कारबाहीमा परेका थिए । नवीनले ‘इमानदार चालक’को उपमा पाउनुको कारण भने आफ्नो ट्याक्सीमा भेटेको सुनसहितको सुटकेस फिर्ता गर्नु हो । ‘अरू चालकले गाडीमा सामान छुटे पनि फिर्ता नगरेपछि सीसी क्यामेरा हेरेर पत्ता लगाउनुपर्ने हुन्छ । नवीनले गाडीमा सामान देख्नेबित्तिकै १०३ मा फोन गरेर जानकारी गराए,’ ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले भने, ‘उनी अब इमानदार चालकको सूचीमा परे ।’ ट्राफिक प्रहरीले इमानदार चालकलाई सम्मानसमेत गर्ने गरेको छ ।

नवीनले १३ तोला सुन, मेडिकल रिपोर्ट र अन्य महत्त्वपूर्ण सामान भएको यात्रुको सुटकेस फिर्ता गरेर इमानदारी देखिएका हुन् । अमेरिकाबाट फर्केकी लक्की रिजालसहित पाँचजनाको समूहलाई उनले सोमबार लाजिम्पाटबाट थापाथलीसम्म ल्याएका थिए । थापाथलीसम्म आएको ट्याक्सीको भाडा मिटरमा २२४ उठेको थियो । रिजालले ३०० दिइन् । उनीहरू झर्नेबित्तिकै नवीनले बानेश्वर जाने यात्रु पाए । बानेश्वरबाट अर्को टिप चक्रपथ लिएर गए ।

त्यहाँबाट बालाजुको माछापोखरीमा यात्रु झारेर उनी आफ्नो स्टेसन बसुन्धारा फर्किए । चोकमा अरू ट्याक्सी क्यूमा रहेकाले उनी ट्याक्सी सफा गर्न लागे । ‘त्यसबेला पो डिकीमा सुटकेस देखेँ,’ उनले भने, ‘तर त्यसबेलासम्म रिजालले ट्याक्सीमा सामान छुटेको निवेदन ट्राफिक प्रहरीलाई दिइसकेकी थिइन् । निवेदनका आधारमा ट्राफिक प्रहरीको खोजतलास शाखाले सीसी क्यामेरामा ट्याक्सी नम्बर पत्ता लगाउन पहल थालेको थियो । जब चालकले नै सुटकेस छुटेको जानकारी गराए, तर थप अनुसन्धान गर्नै परेन । ट्राफिकले चालक नवीनलाई सामान लिएर बग्गीखाना बोलाए । सुनसमेत रहेको सुटकेस फिर्ता गरेपछि यात्रु रिजालले चालक नवीनलाई धन्यवाद मात्रै दिइनन्, झोलामा भएको एउटा सुनको सिक्री नै उपहार दिइन् । नवीनले सुरुमा लिन अस्वीकार गरे पनि उपस्थित सबैको आग्रहपछि सुन उपहार स्वीकार गरे । ‘मलाई कसैको छुटेको सामान राखेर वा बढी भाडा उठाएर कमाउनु छैन,’ उनले भने, ‘आफ्नो मेहनतको कमाइ नै मिठो हुन्छ ।’

बर्दियाको गेरुवा गाउँपालिका–४ रामबगरका नवीनले ट्याक्सीमा छुटेको सामान फिर्ता गरेको खबर केहीबेरमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छायो । आफन्त र साथीहरूले उनको इमानदारीको प्रशंसा गर्दै बधाई दिए । ‘गाउँ र जिल्लाको इज्जत राखेको भन्दै साथी र आफन्तले फोनबाट बधाई दिँदा थप हौसला मिल्यो,’ उनले भने, ‘सडकमै भेटिने ट्याक्सी चलाउने साथीहरूले पनि भेटेर बधाई दिए ।’

२५ वर्षीय नवीन मासिक पाँच हजार तिर्ने गरी एउटा कोठा भाडामा लिएर बसेका छन् । एमबीबीएसको तयारी गरिरहेका भाइ र नायव सुब्बाको तयारी गरिरहेकी बहिनी पनि उनीसँगै बस्छन् । दुवैको पढाइखर्च उनकै काँधमा छ । गाउँमा रहेका आमाबुबालाई घरखर्च पठाउने दायित्व पनि उनकै हो । आठ वर्षअघि काठमाडौं छिरेका उनले केही वर्ष चाउमिन फ्याक्ट्रीमा काम गरे । सोलार कम्पनीमा मार्केटिङ म्यानेजर पनि भए । त्यसपछि उनी ट्याक्सी लाइनमा आए । ‘ट्याक्सी धनीलाई दैनिक १५ सय बुझाउनुपर्छ,’ दुई वर्षदेखि ट्याक्सी चलाइरहेका उनले भने, ‘महिनाको त्यस्तै ३५ हजार बस्छ ।’

ट्याक्सी वा अन्य सवारीसाधानमा छुटेको सामान फिर्ता नगरेपछि यात्रुले दिएको निवेदकको आधारमा ट्राफिक प्रहरीले सीसीटीभी र यातायात व्यवस्था कार्यालयबाट गाडीको पहिचान गर्ने गरेको छ । यदि उनले ट्याक्सीमा भेटेको सामान फिर्ता नगरेको भए ट्राफिक प्रहरीले सीसी क्यामेरा हेरेर पत्ता लगाउँथ्यो । गाडी नम्बर पहिचान गरेर फिर्ता गर्न बोलाउँथ्यो । यसरी बोलाइएका चालकलाई प्रहरीले जरिवाना तिराउँदैन । सबै चालकले देख्ने गरी बिहान ९ देखि ११ बजेसम्म सडकमा स्वयंसेवकको रूपमा खटाउने गरेको छ । साउनयता ४५ जनालाई स्वयंसेवकको रूपमा खटाइसकिएको छ । ट्याक्सीमा सामान हराएको भन्दै साउनयता ३०८ वटा निवेदन परेका छन् । यसमध्ये २०४ जनाको सामान फेला पारेको छ ।

बिहीबारमात्रै बा २ ज ३३११ नम्बरको ट्याक्सी चालक आफैले १७ हजारसहितको झोला ट्राफिक प्रहरीलाई फिर्ता गरेका छन् । ‘सबै चालकले आफ्नो गाडीमा छुटेको सामान मानवताको नाताले फिर्ता गर्नुपर्छ,’ नवीन भन्छन्, ‘तपाईं यात्रु भएर सोच्नुस् त, आफ्नो महत्त्वपूर्ण सामान छुट्दा कति चिन्ता हुन्छ ?’

प्रकाशित : फाल्गुन ४, २०७६ ०८:५२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×