कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नवीन सँगसँगै प्रवेश

राजु घिसिङ

काठमाडौँ — नेपालले पहिलोपल्ट एसियालीस्तरमा छनोट पार गरेर एएफसी यू–१७ च्याम्पियनसिप (सन् २०००) भियतनाममा खेलेको थियो । त्यही टिमका खेलाडी हुन् नवीन न्यौपाने र प्रवेश कटुवाल । उमेर समूहको राष्ट्रिय टिममा यू–२३ सम्मै सँगै खेले ।

नवीन सँगसँगै प्रवेश

झन्डै दुई दशकको करिअरमा यी दुई क्लबमा पनि एक सिजन सहकर्मी भए, मनाङ–मर्स्याङ्दीका लागि २०६३ मा । एकैसाथ राष्ट्रिय लिग २०७२ सकिएपछि ‘बुट’ थन्क्याएका यी दुई शनिबार भने प्रतिद्वन्द्वीका रूपमा उत्रिँदै छन्, मैदानकै नजिक टचलाइनमा । ‘ए’ डिभिजन लिगमा नवीनले आर्मी सम्हालेका छन् भने प्रवेशले मछिन्द्र ।


नवीनले यू–१६ को क्याम्पमा हुँदै नक्साल युवा मण्डलबाट २०५४ सालमा ‘ए’ डिभिजन लिग खेलेका थिए । प्रवेशले क्याम्पबाहिर जाने मौका पाएनन् । त्यसैले उनको पहिलो ‘ए’ डिभिजन लिग बन्यो २०५७ को, जहाँ उनी थ्रीस्टारबाट खेलेका थिए । नवीन लामो समय राष्ट्रिय टिममा रहे तर धेरैजसो बेन्चमै सीमित भए । प्रवेशले भने नवौं साग २००४ (यू–२३) मा बेन्चमै सीमित भएपछि राष्ट्रिय टिमतिर मन लगाएनन्, प्रशिक्षककै कारण पनि हुन सक्छ । त्यसैले उनले सिनियर राष्ट्रिय टिमबाट औपचारिक रूपमा खेल्नै पाएनन् । नवीन र प्रवेशको करिअरलाई गणेश थापा र गीता राणाको नेतृत्वको लडाइँले पनि असर गरेको थियो ।


यी दुई एएफसी ‘ए’ लाइसेन्स कोचिङ कोर्स गरेपछि प्रशिक्षकको जिम्मेवारीतिर ढल्किएका हुन् । कोचिङ करिअरमा पनि प्रवेशभन्दा एक ब्याच सिनियर हुन् नवीन । नवीनले चारपल्ट ‘ए’ डिभिजन लिगको उपाधि जितेका छन् । चारै उपाधि मनाङबाट (२०५७, ०६०, ०६२ र ०७०) । प्रवेश थ्रीस्टारसँग २०६९ मा च्याम्पियन भए । नवीनले नक्साल, एनआरटी र हिमालयन शेर्पाबाट पनि खेले भने प्रवेशले मनाङ, आरसीटी, मछिन्द्र र झापा–११ का लागि पनि मिडफिल्ड सम्हाले ।


प्रशिक्षकका रूपमा गाह्रो कि खेलाडीको भूमिकामा ? ४० वर्षीय नवीन भन्छन्, ‘खेलाडीभन्दा प्रशिक्षक बन्न धेरै गाह्रो । हरेक खेलाडी, सब्स्टिच्युटदेखि बाहिरको जिम्मेवारी हेर्नुपर्ने भएकाले प्रशिक्षकको धेरै ठूलो भूमिका हुने रहेछ । उनीभन्दा १ वर्ष कान्छो प्रवेशले भने, ‘दाइकै कुरामा सहमत छु । नेपालमा धेरै गाह्रो छ, बाहिर कोचिङ स्टाफ हुन्छ तर यहाँ एउटै व्यक्तिले कोण राख्नेदेखि खेलाडीलाई हेर्ने, उसको मानसिक अवस्था, आनीबानी विचार गर्ने सबै काम प्रशिक्षकले गर्नुपर्छ ।’


प्रशिक्षकका रूपमा नवीन र प्रवेश नकआउट फुटबलको फाइनलमा धेरैपल्ट भेट भइसकेका छन् । त्यसमा बाजी नवीनले नै मारेका छन्, झापा गोल्डकप र माईभ्याली गोल्डकपमा ।टचलाइनमा सँगसँगै देखिँदाको अनुभवबारे प्रवेशले भने, ‘हामी दुवै खेलेरै आएका प्रशिक्षक हौं धेरै खुसी लाग्छ । नवीन बोले, ‘टचलाइनमा हामी दुवै सँगै हुँदा गर्व लाग्छ । सँगै खेलेका कति साथीहरू विदेश गए । हामी यतिका वर्षदेखि फुटबलमा लागिरहेका छौं । नेपालको परिप्रेक्ष्यमा लिग कहिले हुन्छ, कहिले हुँदैन । निरन्तर छैन । निरन्तर भइदिए हामीजस्तै सँगै खेलेका अरू पनि प्रशिक्षक हुन्थे होला ।’ उनले थपे, ‘हामीले एकअर्काले आ–आफ्नो ठाउँमा काम गर्ने हो, आ–आफ्नो टिमलाई जिताउन प्रयास गर्ने हो । टचलाइनमा एउटै पुस्ताको कोचले शीर्ष टिम हेर्दै छौं, यसले गर्व महसुस गराउँछ ।’


यी दुवै भलाद्‌मी छविका खेलाडी हुन् । ‘प्रवेशलाई हामी पहिलादेखि नै बेबी भन्थ्यौं,’ नवीनले सुनाए, ‘एकदमै मिलनसार, झैझगडा कोहीसँग कहिल्यै नगर्ने, सबैलाई सम्मान गर्ने व्यक्ति हुन् उनी ।’ नवीनबारे प्रवेशले भने, ‘टिममा उहाँलाई बाहुन, बाजे भनेर जिस्क्याउँथे तर म सम्मान गर्दै सधैं दाइ नै भन्छु । एकदमै मिलनसार र भलाद्मी हुनुहुन्छ । हामी भेट्दा सधैं रेला गर्छौं, रमाइलो गर्छौं । अब दाइ च्याम्पियन हुने कि म ? एउटा रमाइले पक्ष भइरहेको छ ।’


प्रवेश राइट विंग्सबाट नवीनले गरेका सटीक क्रस अहिले पनि सम्झिन्छन्, ‘घोप्टेर क्रस फाल्थे, सेन्टरबाटै पनि एदकमै राम्रो, किलर क्रस, टच गर्नेबित्तिकै गोल हुन्थ्यो, फरवार्डलाई सजिलो र विपक्षीले पनि आफ्नै पोस्टमा गोल गर्न पुग्थे । दाइ राष्ट्रिय टिमबाट खेल्न नपाउँदा छक्क लाग्थ्यो ।’ नवीन भन्छन्, ‘प्रवेशको प्लेमेकरको भूमिका एदकमै राम्रो । बल पोजेसन राख्ने, बल एदकमै होल्ड गर्ने, सप्लाइ गर्ने, सप्लाइ एकदमै पर्फेक्ट हुन्थ्यो ।’


भरत–विराज

संयोग नै मान्नुपर्छ, आर्मीका कप्तान भरत खवास र मछिन्द्रका कप्तान विराज महर्जन एन्फा एकेडेमीको एउटै ब्याचका खेलाडी हुन् । भरतले पुलिसमा छँदा ‘ए’ डिभिजन लिगको उपाधि जितेका थिए । विराजले मनाङबाट ट्रफी उठाइसकेका छन् । मछिन्द्रका अरू थुप्रै खेलाडी च्याम्पियन भइसकेका छन् । भरत भने विजेता भइसकेका आर्मीका एक्लो खेलाडी हुन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा फोटो सेसनपछि भरतले विराजलाई भने, ‘आज तिमी उठाऊ (ट्रफी), भोलि म उचाल्छु ।’ विराज हाँसेमात्रै । ‘ए’ डिभिजन लिगको नयाँ च्याम्पियन जो बन्छ, उसैले उचाल्नेछ ट्रफी । विराज वा भरत ? शनिबारको नतिजाले प्रस्ट पार्ने नै छ ।

प्रकाशित : फाल्गुन ३, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?