उत्कृष्ट खेलाडीविरुद्ध टिम-वर्क

एउटा टिमका रुपमा उत्कृष्ट प्रदर्शन गरिरहेको आर्मीले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा उपाधिको निर्णायक खेलमा व्यक्तिगत कौशलका आधारमा उत्कृष्ट मानिएको मछिन्द्रविरूद्ध शनिबार प्रतिस्पर्धा गर्दै छ ।
राजु घिसिङ

काठमाडौँ — आर्मी र मछिन्द्र सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७६ को अन्तिम खेलमा प्रतिस्पर्धा गर्दै छन् र यही खेलको नतिजाले नयाँ च्याम्पियनको टुंगो लगाउनेछ । दुवै टिमले ९ जित, २ बराबरी र १ हारको नतिजा निकालेका छन् ।

ZenTravel

तर गत वर्षको लिगमा अन्तिमबाट दोस्रोमा रहेकाले १ अंक घटुवामा परेपछि मछिन्द्र यो सिजन २८ अंकमै सीमित भएको हो । आर्मीको २९ अंक छ । त्यसैले आर्मीलाई अन्तिम खेलमा बराबरी नतिजा पनि च्याम्पियन बन्न पर्याप्त हुनेछ । मछिन्द्रलाई भने ट्रफी चुम्नके लागि १३ औं खेलमा ३ अंक जोड्नुको विकल्प छैन । १ अंक कारबाहीमा नपरेको भए यो समीकरण ठीक उल्टो हुने थियो, गोल अन्तरका आधारमा ।

Meroghar

दशरथ रंगशालामा शनिबार हुने उपाधि होडको निर्णायक खेलको प्रतिद्वन्द्वी आर्मीको बलियो पक्षबारे मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल भन्छन्, ‘आर्मीको बलियो पक्ष नै टिम–वर्क हो । उसका खेलाडी ४–५ वर्षदेखि सँगै खेलिरहेका छन् । हामीले स्टार खेलाडी भेला गर्‍यौं भन्छन्, फुबटलमा त्यो नै बलियो होइन, स्टार खेलाडी भए पनि सुरुमै टिममा सेट हुँदैन । टिमले खेल्ने गेम हो यो, व्यक्तिगत होइन । एउटा टिमले गर्ने कामका रूपमा आर्मी राम्रो छ ।’

आफ्नो टिमको क्षमताबारे नवीन न्यौपानेले भने, ‘हाम्रो विभागीय टिम भएकाले सधैं खेल्नुपर्ने, निरन्तर ट्रेनिङ गर्नुपर्ने र मैदानको उपलब्धता हुन्छ । त्यसैले टिम–वर्क राम्रो भएको हो ।’ प्रतिद्वन्द्वीबारे उनले भने, ‘मछिन्द्रका खेलाडीको व्यक्तिगत कौशल एकदमै राम्रो छ । सबै खेलाडी उत्कृष्ट छन्, नतिजा त्यस्तै आइरहेको छ । विदेशी खेलाडी पनि झन् बलिया छन् । व्यक्तिगत कौशलका आधारमा उनीहरूलाई रोक्न हामीलाई एदकमै गाह्रो हुन्छ ।’

नवीनको कुरामा प्रवेश पनि सहमत छन् । भन्छन्, ‘दाइले भनेजस्तै हाम्रो टिम व्यक्तिगत रूपमा टेक्टिकल्ली धेरै राम्रो छ । टिम–वर्क थोरै नभए पनि विदेशी खेलाडी र व्यक्तिगत रूपमा उत्कृष्ट छौं ।’ उनको टिमले लिगका लागि १५ दिनमात्रै अभ्यास गरेको थियो । आर्मी भने सधैं अभ्यास गरिरहने टिम हो । प्रवेशलाई प्रशिक्षकका रूपमा नवीनको ‘स–साना गल्ती पत्ता लगाएर अर्को खेलमा सुधार गर्ने’ कला एकदमै मनपर्छ । योजनाअनुसार खेलाउने र त्यति धेरै स्टार खेलाडीहरूलाई सम्हाल्ने प्रवेशको खुबीको प्रशंसा गर्छन् नवीन, ‘स्टारहरू सबैलाई सन्तुलित रूपमा खेलाउनु र सम्हाल्नु धेरै गाह्रो हुन्छ ।’

लिगको सुरुबाट आर्मीको स्कोरिङमा समस्या देखिरहेको छ । यसलार्ई स्विकार्छन्, नवीन, ‘हाम्रो स्कोरिङमा समस्या छ । सानो गल्तीमा गोल पनि खाइएको छ । तर यसपालि जित्नुपर्छ है भनेर टिमका सबैले इफोर्ट दिएर खेलिरहेका छन्, त्यो नै हाम्रो टिम–वर्क हो र सबभन्दा बलियो पक्ष पनि ।’ प्रवेशले आफ्नै टिमबारे भने, ‘यो टिम गेम हो, टिम–वर्क नै मुख्य हो । ११ जना होइन, हाम्रोमा १५ जना नै स्टार छन् । यी खेलाडीहरू एउटा टिमका रूपमा हुनु नै सबभन्दा बलियो पक्ष हो ।’

‘नाइट क्लब काण्ड’ को निलम्बनमा परेपछि मैदानमा फर्किंदै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् सन्तोष तामाङले । ‘सन्तोष आएपछि आर्मीको मनोबल धेरै बढेको छ,’ उनीसँग सचेत रहेका मछिन्द्रका प्रशिक्षक प्रवेशले भने, ‘उनी बल सटीक रूपमा फाल्ने गर्छन्, जुन विपक्षीलई खतरनाक हुने गर्छ । बक्स बाहिरबाट फ्रि–किक पनि उस्तै हान्छन् । पास उस्तै सटीक हुन्छ ।’ सन्तोष ४५ दिन निलम्बनमा परेका थिए । ९० दिन निलम्बनमा रहेका फरवार्ड विमल घर्तीमगरले शनिबार मछिन्द्रबाट खेल्दै पुनरागमन गर्नेछन् । सुजल श्रेष्ठ, रेजिन सुब्बा, दीपक राईको चोटले भने टिमलाई नै सताएको छ । हेमन गुरुङ र अभिषेक रिजाल नहुँदाको पीडा त छँदै छ ।

पहिलोपल्ट लिग च्याम्पियन हुने होडमा मनाङ र थ्रीस्टारका नाम चलेका खेलाडीलाई बटुलेर बलियो बनेको हो मछिन्द्र । उसको यो अभियानमा मिडफिल्डर विशाल राई प्रभावशाली देखिएका छन् । यसबाट सचेत छन् आर्मीका प्रशिक्षक नवीन, ‘विशालले एदकमै राम्रो खेलिरहेका छन् । स्कोर गर्ने ठाउँमा पुगिरहेका हुन्छन्, पाएको मौका उपयोग गरिहाल्छन् । डिफेन्स, आक्रमण जहाँ पनि पुग्छन् । सही समयमा सही निर्णय गर्छन् ।’ उनी मछिन्द्रका लेफ्ट–ब्याक रजिन धिमालको प्रदर्शनलाई पनि उत्कृष्ट मान्छन् । सेन्टरब्याक देवेन्द्र तामाङ पनि मछिन्द्रका मुख्य खेलाडी देखिएका छन् ।

आर्मीमा विदेशी खलाडी राख्ने व्यवस्था छैन र यसैमा बलियो बनेको छ तीन अफ्रिकी ल्याएर मछिन्द्र । युवा सेन्टरब्याक विकास खवास निकै उत्कृष्ट लयमा छन् । ‘पहिला राकेश श्रेष्ठले बनाएको छवि विकासमा देखेको छु,’ प्रशिक्षक नवीनले भने । उनी गोलकिपर विकेश कुथुप्रति पनि विश्वस्त छन्, ‘विकेशले राष्ट्रिय टिम, दक्षिण एसियाली खेलकुदमा आफूलाई सावित गरिसकेका छन् । ढुक्क भएर खेल्छन् ।’ उनले ब्रिगेड ब्वाइजविरुद्ध ३–० को जित निकालेको बाहेक सबै खेल गाह्रो भएको उल्ल्खे गर्दै भने, ‘अरूको खेल हेर्दा हामी सजिलै जित्छौं जस्तो लाग्छ तर त्यही टिमले हामीसँग राम्रो खेल्छ । हामी तीव्र गतिमा खेल्ने भएकाले त्यसको विकल्प नपाएको हुन सक्छ र उस्तै खेल्छन् ।’ फरवार्ड दिनेश हेन्जन चोटले बाहिरिएपछि उनको स्थानमा टेकबहादुर बुढाथोकी वा टंक बस्नेतले अवसर पाउनेछन् ।


मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठप्रति पनि विश्वस्त छन् प्रवेश । भन्छन्, ‘विशालले राम्रै गरिरहेका छन्, गोलकिपर हो कहिलेकाहीं त्यस्तो (कमजोरी) भइहाल्छ । तर एपीएफसँग उत्कृष्ट बचाउ गरेका थिए ।’ उनले हिमालयन शेर्पाविरुद्ध २–० को हार प्रतिकूल परिस्थितमा बेहोरेको पनि बताए । सरस्वती, संकटा, फ्रेन्ड्स र ब्रिगेड ब्वाइजविरुद्धको जितबाहेक अरू सबै खेलमा निकै कडा चुनौती बेहोरेको मान्छन् उनी । आर्मी र मछिन्द्रले १–१ खेलमात्रै हारेका छन् । आर्मीले मनाङ र मछिन्द्रले हिमालयन शेर्पाविरुद्ध अंक गुमाएका थिए ।

उपाधि कसले जित्छ त ?
प्रवेशले भने, ‘हामीलाई धेरै चुनौती छ, गाह्रो पनि छ । किनभने आर्मीलाई दुइटा विकल्प छ जित र बराबरीको । हामीलाई जितको विकल्प छैन । सुरुमै लिग च्याम्पियन हुन्छौं भनेको थिएँ त्यसैले हामी जित्छौं भन्ने लाग्छ ।’नवीन भन्छन्, ‘आफ्नो पाटोबाट हेर्दा आफ्नै टिमलाई जिताउन चाहन्छौं । किनभने इतिहास रच्ने अवसर हो । जित्नैपर्छ भन्ने भावना पुलिससँग दुईपल्ट पछाडि परेर पनि कमब्याक गर्दा देखियो । त्यो इफोर्ट लिएर त्यो लेबलसम्म खेल्छन् जस्तो लागेको थिएन ।’

बल ‘होल्ड’ गरेर खेल्न नसक्नु आर्मीको कमजोरी हो । त्यसैले खेलाडीको क्षमताअनुसार रणनीति बनाएको र त्यसैमा सफलता पाइरहेको प्रशिक्षक नवीनले बताए । उनले थपे, ‘हामीलाई बराबरी र जितमा उपाधि जित्ने अवसर छ । तर हामी जितकै लागि खेल्नेछौं ।

मछिन्द्रले पनि जितकै लागि खेल्नेछ । त्यसैले खेल आकर्षक हुन्छ भन्ने लाग्छ ।’ प्रवेशले भने, ‘खेलाडीले आफ्नो क्षमता र स्तरलाई मैदानमा शतप्रतिशत दिए भने जित पक्कै हाम्रो हुनेछ । कहिलेकाहीं क्षमताअनुसार खेल्दैनन् त्यो चाहिँ समस्या छ ।’ उनको टिम आर्मीविरुद्ध लिगमा २०६३ सालयता पहिलोपल्ट जित निकाल्न सकेमात्रै च्याम्पियन बन्नेछ ।

प्रकाशित : फाल्गुन ३, २०७६ ०९:०७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

दुई वर्षपछि छोरो भेटिँदा ...

मनोज पौडेल

(कपिलवस्तु) — दुई वर्षसम्म छोराको खोजी गरिन् । चिन्ताले हाडछाला भइन् । आस मारेर बसिन् । एकातिर श्रीमान्को अपहेलना । त्यसमाथि छोरो हराएपछि बिरक्तिएकी थिइन् । अहिले खुसी फर्किएको छ । उद्धारकर्ता भूमिराज भट्टराईले फोन गरेर घोराही उपमहानगरपालिका–१५ की शोभा केसीलाई छोरो फेला परेको सुनाए । ‘ठूलै युद्ध जिते जस्तो भयो,’ उनले भनिन्, ‘सुरुमा विश्वासै लागेन ।’ 

जब पत्याइन् । त्यसपछिका प्रत्येक मिनेट एक दिनभन्दा बढी लाग्न थाले । कतिखेर भेटुँ जस्तो भयो । रातभरि सुत्न सकिनन् । ‘मन सम्हालेर जिल्ला प्रहरी छिरें,’ बिहीबार उनले भनिन्, ‘तीन बालक चौतारीमा बसेको देखें ।’ तीनमध्ये एक १० वर्षीय रामु पनि थिए । उनलाई देखेपछि भक्कानिँदै अँगालामा हालिन् । खुसी थाम्न सकिनन् । गालामा म्वाइँ खाइन् । रुँदै छोराले आमाको आँसु पुछे । कान्छा छोरा रामु ०७४ पुस ११ बाट अन्नपूर्ण डाँडामा घुम्न गएका बेला हराएका थिए । दुई साथीले रेल हेर्न जाम भनेपछि भारतको गोरखपुर पुगेको रामुले बताए ।

त्यहींबाट उनी झारखण्डको राँची पुगे । उनका साथीहरू गोरखपुरबाट फर्किए । राँचीबाट उनको स्थानीय बालकल्याण समितिले उद्धार गरेको थियो । लामो समय स्थानीय बालकल्याण समितिमा राखियो । मुलुक फर्किने भन्दै रामु भाग्न खोजेपछि रामगढको प्रतापपुरस्थित वत्सल्यधाम बालगृहमा स्थानान्तरण गरियो । ‘बालगृहले सोधपुछ गर्‍यो,’ रामुले भने, ‘नाम र ठेगाना बताएँ ।’ त्यसपछि गृहले दिल्लीस्थित नेपाली दूतावासमा उद्धारका लागि पत्राचार गर्‍यो । दूतावासले प्रहरी प्रधान कार्यालयमा पत्राचार गर्‍यो । त्यहाँबाट दाङ जिल्ला प्रहरीलाई जानकारी गराइयो । दाङ प्रहरीले विपन्न परिवार भएकाले त्यहाँसम्म पुग्न नसक्ने जनाएर यहाँस्थित शान्ति पुनःस्थापना गृहलाई उद्धारका लागि आग्रह गर्‍यो । संस्थाका क्षेत्रीय संयोजक भट्टराईले उद्धार गरेर यहाँसम्म ल्याए । त्यसपछि प्रहरीले आमाको जिम्मा लगायो । छोरालाई ऋणगर्जो गरेर भए पनि सक्दो पढाउने शोभाले बताइन् । नेपाली भुलेका रामु हिन्दीमा मात्र कुरा गर्छन् ।

शोभा छोराछोरीसित बस्छिन् । श्रीमान् मित्रलालले झुक्याएर अर्को विवाह गरेको उनले दुखेसो गरिन् । आफूमाथि दुई सौता ल्याएको उनले बताइन् । ‘श्रीमान्ले रेखदेख गर्न छाडे,’ उनले भनिन्, ‘म पनि वास्ता गर्दिनँ ।’ उनका २ छोरा र एक छोरी छन् । रामुसँगै अन्य बालकलाई उद्धार गरेर ल्याइएको थियो । नेपाली राजदूतावास दिल्लीको समन्वयमा गोरखपुरबाट उद्धार गरिएको हो । प्यूठानको ऐरावती गाउँपालिका–३ का १२ वर्षीय दिलीप जीसी र केशव जीसीलाई परिवारको जिम्मा लगाइएको संस्थाका क्षेत्रीय संयोजक भट्टराईले बताए । केशवलाई माइली आमा मीना र दिलीपलाई आमा सीमाको जिम्मा लगाएर पठाइएको हो ।

प्रकाशित : फाल्गुन ३, २०७६ ०९:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×