थापालाई वेस्टर्न ओपन- खेलकुद - कान्तिपुर समाचार

थापालाई वेस्टर्न ओपन

कान्तिपुर संवाददाता

पोखरा — सूर्य नेपाल गल्फ टुर २०१९–२० अन्तर्गत वेस्टर्न ओपनको उपाधि धनबहादुर थापाले जितेका छन् । पोखराको हिमालय गल्फ कोर्समा शुक्रबार पार ६९ मा उनले उपाधि जितेका हुन् । 

उनले २ अन्डर ६७ कार्ड बनाएर कुल ४ अन्डर २०७ अंक जोड्दै उत्कृष्ट प्रो शिवराम श्रेष्ठमाथि दुई स्ट्रोकको जित दर्ता गरे । श्रेष्ठले ३ अन्डर ६६ कार्ड बनाउँदै कुल २ अन्डर २०५ अंक जोडेका थिए । शुक्र राई प्रतियोगितामा तेस्रो भए । उनले तीन दिनसम्म एक ओभर ७० अंक जोड्दै कुल ३ ओभर २१० अंक बनाए ।


गत सिजनका विजेतासमेत रहेका थापाले १ लाख २५ हजार रुपैयाँ पाए । दोस्रो भएका शिवरामले ७५ हजार र तेस्रो भएका शुक्रले ५५ हजार रुपैयाँ प्राप्त गरे । जयराम श्रेष्ठ २१२ अंकसाथ चौथो हुँदै ४५ हजार रुपैयाँ पाए । सञ्जय लामा र भुवनकुमार रोक्काले समान २१३ अंक जोड्दै पाँचौं भएर ३५ हजार ५०० रुपैयाँ प्राप्त गरे । रवि खड्का ३ ओभर ७२ खेल्दै २१६ मा सातौं भए । उनले ३१ हजार रुपैयाँ पाए । भुवन नगरकोटी र रामकृष्ण श्रेष्ठले २१७ अंक जोडेर आठौं हुँदै २८ हजार रुपैयाँ प्राप्त गरे । विनोद तामाङले २२१ अंकसाथ उत्कृष्ट १० भित्र पर्दै २५ हजार रुपैयाँ पाए । ३२ प्रो र १६ एम्योचर गल्फरले ५४ होल प्रतियोगितमा सहभागिता जनाएका हुन् । शनिबार ७८ गल्फरबीच प्रो–एम खेल हुँदै छ ।

प्रकाशित : फाल्गुन ३, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्

बाँसको हस्तकलाले गुजाराको मेलो

भरत जर्घामगर

(सिरहा) — पाकैरको पुरानो रुख, त्यसको फेदमा बाँसको सामान बनाउँदै स्थानीय । पूर्व–पश्चिम राजमार्गको लहानदेखि ७ किलोमिटर उत्तर वीरनगर गाउँको दृश्य हो यो । गाउँमा अधिकांशजसो डोम जातिको बसोबास छ । 

‘बाँस र पाकैर हामी डोम जातिको पहिचान नै हो,’ ५१ वर्षीय नेविया मरिकले भने, ‘बाँसले गुजारा चलाउँछु, त्यसमा ‘पाकैर’ रुखले जीवनमा श्वास भरिदिन्छ ।’ गाउँ पुग्दा उनी, पत्नी राजकुमारीसहित ६ जनाको परिवार मिलेर आफूभन्दा बुढो रुखमुनि बाँसका घरेलु सामान बनाइरहेका थिए । नेविया परिवारको जीविकोपार्जनको मुख्य आधार पुस्तैनीदेखि गर्दै आएको बंगुरपालन र बाँसका सामग्री उत्पादन नै हो । उनीहरूले बाँसका नाङ्लो, चंगेरी, पंखा, ढकी, ढोक्सो लगायत बनाएर बिक्री गर्दै आएका छन् ।

‘गर्मीमा पाकैरको शीतल छाया नै हाम्रो घर बनिदिन्छ,’ उनले भने । उनको घरनजिकको पाकैर रुख भने बुबा सुनरले रोपेका हुन् । नेवियाका पत्नी राजकुमारीले बिहान बेलुकी त्यही पाकैर रुखको जरामा पूजा गर्छिन् । ‘ससुराले हुर्काएको वृक्ष नै देवघर हो,’ उनले भनिन्, ‘उहाँको सम्झनामा बिहान बेलुकी हामी धुपधुँवार गर्छौं ।’ पाकैरको पात डोम समुदायको पूजा र विवाह कर्ममा समेत चढाउने गरेको उनले सुनाइन् । लहान नगरपालिका–१८ अमहीका ६१ वर्षीय चलितर मरिकको घरमै टाँसिएरको पाकैर रुख छ । २ कठ्ठा ऐलानी जग्गामा दुईवटा फुसको घरमा तीन भाइ छोरा, बुहारी र नातिनातिनासहित चलितर परिवार बस्दै आएको छ । उनीहरू पनि पाकैरको रुखमुनि बसेर पुर्ख्यौली पेशा बाँसजन्य घरेलु सामग्री बनाउँछन् । तराईमा वर्षमा दुई महिना बाहेक अन्य समय अति गर्मी हुने भएकाले पनि डोम समुदायले बाँसजन्य सामग्री बनाउने स्थानका लागि पाकैर रोप्ने गरेको उनले सुनाए ।

भूमिहीन तथा अल्पसंख्यक डोम समुदायको जीविकोपार्जनसँग ‘बाँस’ र ‘पाकैर’ जोडिएको डोम तथा मेस्तर उत्थान समाजका सिरहा संयोजक रामचन्द्र मरिकले बताए । ‘हरेक डोम समुदायको घरअगाडि ‘पाकैर’ रुख हुन्छ’, उनले भने । उनका अनुसार विशेषगरी तराईका सिरहा, सप्तरी, धनुषा, महोत्तरी र सर्लाही लगायतका जिल्लामा बसोबास रहेको डोम समुदायको जीविकोपार्जनको माध्यम बंगुरपालन, बाँसका घरेलु सामग्री निर्माण, बिक्री र सरसफाइलगायत हो ।

जनगणना २०६८ को तथ्यांकअनुसार नेपालभर डोम समुदायको १३ हजार २ सय ६८ जनसंख्या छ । तीमध्ये सिरहामा डोम समुदायको जनसंख्या १ हजार ६ सय २६ छ । संयोजक मरिकले पाकैर वृक्ष डोम समुदायको पुजाआजा (होमजाप), बिहेमा समेत चाहिने र विशेषगरी अन्य बोटबिरुवाको तुलनामा बढी शीतल दिने भएकाले पनि घरअगाडि रोप्ने गरिएको बताए । ‘पाकैरको पात पूजाआजाका लागि प्रयोग गरिन्छ भने यसको फलसमेत डोम समुदायले अचार बनाउँछन्,’, उनले भने, ‘डोम समुदायका प्रायः घरसमेत झुपडी हुने भएकाले परपाहुना आउँदा बस्ने थलो पनि पाकैरको छहारी उपयोगी हुन्छ ।’

वातावरणविद्का अनुसार पाकैर ‘फिकस वाइरेन्स’ प्रजातिको रुख हो । ‘यो छायादार रुखलाई प्रकृतिको उपहार मानिन्छ,’, वन तथा वातावरण संरक्षणका अध्येता दिनेश यादवले भने, ‘वृक्ष–वनस्पति मानव जीवनको पृष्ठभूमि मानिन्छ र यही पृष्ठभूमिमा मधेसका दलित डोम समुदायले जीविकोपार्जनका लागि रोपिएको पाकैर रुख कालान्तरमा पहिचान बन्न पुगेको हो ।’

प्रकाशित : फाल्गुन ३, २०७६ ०८:५८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×