कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोक्यो तालमाथि आइस हक्की र स्केटिङको परीक्षण खेल सम्पन्न

कान्तिपुर संवाददाता

गोक्यो — सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु अन्तर्गत गोक्यो ताल–३ मा आइस हक्की र स्केटिङ सफलतापूर्वक परीक्षण गरिएको छ । शुक्रबार बिहान प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उक्त हक्की तथा स्केटिङको उद्घाटन गरेका हुन् ।
रुस, अमेरिका,क्यानडा, भारत, लगायत देशका १७ जना खेलाडीले हक्की तथा स्केटिङ खेलेका थिए।

४८ सय मिटर उचाईमा रहेको गोक्यो तालमाथि खेल गर्नुको प्रमुख कारण भ्रमण वर्ष २०२० सफल बनाउन रहेको नेपाल भ्रमण वर्षका राष्ट्रिय संयोजक सुरज वैद्यले बताए ।


उनले भने, ‘योचाहीँ परीक्षण मात्रै हो । अब आगामी दिनमा यसलाई निरन्तरता दिनुपर्छ । साहसिक खेल पर्यटनलाई प्रोत्साहन तथा आर्कषण गर्नका लागि यो खेल आयोजना गरिएको हो ।’


करिब २३ जना सहभागी रहेको उक्त कार्यक्रममा राजदूत र खेलाडी सहभागी थिए ।

‘यस्तो खेललाई अझै प्रचार प्रसार गर्नुपर्छ । पर्यटन क्षेत्र आम्दानीको स्रोत पनि हो । प्रदेश–१ मा यस्ता धेरै ठाउँ छन् । यसलाई प्रदेश १ ले अझै एक्प्लोर गर्नेछ,’ मन्त्री राईले भने ।

प्रकाशित : फाल्गुन २, २०७६ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्

‘राजा, आज भ्यालेन्टाइन्स डे हो, ह्याप्पी भ्यालेन्टाइन्स डे!’

बुनु थारु

काठमाडौँ — २०७३ साउन १५ गतेको त्यो दिन नआएको भए राजेन्द्रमान श्रेष्ठ र आराधना राणा सायद आज प्रेम दिवस धुमधामसँगै मनाइरहेका हुन्थे । धुमधाम यस अर्थमा कि यही बुधबारमात्रै ३० वर्षे प्रहरी सेवाबाट राजेन्द्रमानले अवकाश पाएका थिए । त्यसैले सायद आज फुर्सदको दिनलाई उनले थप रोमाञ्चक बनाउँथे होलान् ।तर, उनी कोमामा छन् । न बोल्न सक्छन् र न त कुनै प्रतिक्रिया व्यक्त गर्न नै । 

त्यो दिन आराधना कोठामा बसेर कुकुरसँग खेलिरहेकी थिइन् । करिब ९ बजे हुँदो हो । फोनको घण्टी बज्यो । श्रीमान् एसएसपी राजेन्द्रमान श्रेष्ठको फोन रहेछ । त्यतिबेला उनी क्षेत्रीय प्रहरी तालीम केन्द्र विराटनगरका एसएसपी थिए ।

राजेन्द्रमानले साथीहरुसित ब्याडमिन्टन खेल्दै गरेको जानकारी गराए । हालखबर सोधेर फोन राखे ।

श्रीमतीलाई मनपर्छ भनेर उनैले घरमा कुकुर ल्याइदिएका थिए । एकछिनमै आराधनाको फेरि फोन बज्यो, राजेन्द्रमानको अफिसबाट आएको रहेछ । ‘म्याम, सर बेहोस भएर लड्नु भएको छ । तपाईं तुरुन्त आउनुपर्‍यो,’ कुनै सहकर्मीले फोनमा अत्तालिँदै भने ।

अघि भर्खर हाँसीखुसी कुरा गरेको मान्छे कसरी बेहोस् भए होलान् ? सायद केही नखाएर कमजोरीले ढलेका होलान् ? यस्तै अड्कल लगाउँदै उनी धरान पुगिन् । राजेन्द्रमानलाई विपि प्रतिष्ठान लगिएको थियो ।

आराधना अस्पताल पुग्दा प्रहरीका उच्च अधिकारीहरु उपस्थित थिए । धेरैजना अफिसर एकैपटक देख्दा आराधनाको मन झन् आत्तियो ।

ब्याडमिन्टन खेल्दै गर्दा लडेका उनको हृदयगति अचानक बन्द भएको र केही सेकेन्ड रक्तसञ्चार रोकिएको अवस्थामा मस्तिष्कमा अक्सिजन पुग्न नसकेको अवस्था रहेछ ।

उनी त्यहाँ पुगेको २–३ घण्टापछि मात्र भित्र जाने अनुमति दिइयो । उनी जब भित्र पसिन् देखिन् राजेन्द्रमान पल्टिरहेका छन् र हातखुट्टामा मेसिन लगाइएको छ ।

अब त उठेर बोल्लान्, अनि भन्लान् आराधना आयौ ? यही आशमा २२ दिन जति बसिन् अस्पतालमा । हरेक दिन कसैको फोन आउँदा श्रीमानकै खुसीको खबर होला भनेर झटपट उठाउँथिइन् । अहँ, तर उनी बोलेनन् । आजसम्म पनि बोलेनन् । उनी अहिलेसम्म पनि त्यही खबरको प्रतिक्षामा छिन् ।


...


यो घटना घटेको साढे ३ वर्ष भइसक्यो । उनी अझै उनको बोली सुन्नको लागि तड्पीरहेकी छिन् । यी घटनाको फ्ल्यास्कब्याकमा गइरहँदा उनले आफूलाई सम्हाल्न सकिनन् ।

‘उनको बोली सुन्न हरेक दिन तड्पन्छिु...’ यति भन्दा उनका आँखा आँसु झरे ।

आँसु रोकिएपछि उनले फेरि सामान्य रुपमा कुरा अगाडि बढाइन् ।

‘लक्ड इन सिन्ड्रोम’ को यो अवस्थामा स्याहारमा दिनरात नभनी खटिरहेकी आराधनालाई हरेक दिन राजेन्द्रमानमा सुधार होला भन्ने पर्खाइ छ । उनको जीवन अहिले त्यही पर्खाइमा व्यतित भइरहेको छ । सुनौलो बिहानीको पर्खाइमा रहेकी आराधना सकेसम्म दह्रो बन्ने प्रयास गर्छिन् ।

काठमाडौंको वीरेन्द्र प्रहरी अस्पतालमा विशिष्ठ क्याबिनमा छिर्दा आराधना राजेन्द्रमानकै स्याहार लागेकी थिइन् । बेडमा राजेन्द्रमान बिनाकुनै हलचल पल्टिरहेका थिए । उनको त्यो मुहारको चमकता हराएको छ । त्यहाँ छिर्ने जोसुकैको मन त्यो कारुणिक अवस्था देख्दा खिन्न हुन्छ ।

उनी दुब्लो देखिन्छन् । आँखा तथा मुख यताउता चलाइरहन्छन् । कुनै प्रतिक्रिया भने जनाउन सक्दैनन् ।

कुरा गर्दै गर्दा राजेन्द्रमानको खाना खाने समय भयो । पेटमा प्वाल पारेर जोडेको ट्युबमा ‘पेग’ (सिरिन्जले नापेर) खानेकुरा, झोल र औषधि दिइन्छ । उनले झोल तयार पारिन् र सिरिन्जले नापेर हालिदिइन् ।

निकै संवेदनशील शल्यक्रिया ‘ट्र्याकियोस्टोमी’ (घाँटीमा प्वाल पारेर स्वासप्रस्वासका लागि ट्युब जोड्ने प्रक्रिया) गरेर जोडिएको पाइपको सहारामा उनको स्वासप्रस्वास चलिरहेको छ । उनको लाइफलाइन हो त्यो । मस्तिष्क र शरीरका अंगबीच सञ्चार (संवाद) अवरुद्धको स्थिति छ । त्यो अवस्थामा पनि आफ्नो हिम्मत डगमगाउन दिएकी छैनन् आराधनाले ।

...

राजेन्द्रमान र आराधना दुवै नेपालगञ्जवासी हुन् । राजेन्द्रमानको घर आदर्शनगर हो भने आराधनाको सदरलाइन । दुवैको घर १५–२० मिनेटको दुरीमा पर्छ । सानैदेखि भारतमा बसेर पढेकी उनी छुट्टीको समयमा घर आउने गर्थिन् । उनकी दिदीका साथी थिए राजेन्द्रमान । दिदीको पछिपछि लाग्ने बानीका काराण दिदीका सबै साथीहरुलाई उनले पनि चिन्थिन् । उनी दिदीकै साथीहरुसँग कहिले लुकामारी खेल्ने गर्थिन् त कहिल्यै स्केटिङ अनि ब्याडमिन्टन । राजेन्द्रमानलाई उनले पनि साथीजस्तै व्यवहार गर्थिन् । उनीहरु बीच उमेरको अन्तर पनि धेरै थिएन । राजेन्द्रमानलाई सबैले राजु भनेर बोलाउँथे उनी पनि त्यसरी नै बोलाउँथिन् ।

सँगै हिँड््ने, बोलिराख्ने साथीहरुबीच कतिबेला प्रेम अंकुराउन पुग्यो दुवैलाई पत्तै भएन ।

विगतको रमाइलो अनि प्रेमिल प्रसंग निकाल्दा आराधना बिस्तारै मुस्कुराइन् । धमिलिन पुगेको अनुहारमा एकाएक उज्यालोपन आयो ।

‘सुरुमा कसले प्रपोज गर्‍यो त ?’

उनले मुस्कुराउँदै बोलिन्, ‘म त लजालु मान्छे अलि कम पनि बोल्थें, उनैले प्रपोज गरे ।’

दुवैको परिवारबीच चिनाजान थियो । आराधनाले ब्याचलरको पढाइ सिध्याएर नेपालगञ्जको मोर्डन पब्लिक स्कुलमा पढाउन थालिसकेकी थिइन् भने राजेन्द्रमान पनि प्रहरीमा भर्ना भइसकेका थिए । त्यो २०४६ सालतिरको कुरा हो ।

बिहेको प्रस्ताव दुवैले आआफ्नो परिवारलाई राखे । राजेन्द्रमानको परिवारले राम्रो प्रतिक्रिया दिए तर, आराधनाको घरमा भने अलि समस्या पर्‍यो । कारण थियो अन्तर्जातीय विवाह ।

आराधना परिन् राणा परिवारकी छोरी, राजेन्द्रमान नेवार । आराधना पनि उनी बाहेक अरुसित बिहे नगर्ने भनेर अड्डी कसेर बसेकी थिइन् ।

आराधनाका बुवा मम्मीले नमानेपनि सन् १९९३ मार्च ३ मा दुवैले नेपालगञ्जको बागेश्वरी मन्दिरमा गएर विवाह गरे । सानो बा आमाले कन्यादान गरिदिए ।

बुहारी भएर राजेन्द्रमानको घरमा भित्रिएको करिब ५ महिनापछि मात्रै उनले माइती जाने हिम्मत जुटाउन सकिन् । पछि बुवामम्मीले पनि माने ।

अन्तर्जातीय विवाह भएपनि आफूलाई कुनै समस्या नपरेको उनी बताउँछिन् ।

भारतमा पढेकोले होला आराधनाको लवज पनि त्यस्तै सुनिन्छ । उनी प्रफुलित मुद्रामा भन्छिन्, ‘अन्तर्जातीय विवाहमा यस्तो परिवार पाउनु ठूलो भाग्य हो । कहिल्यै परिवारबाट रोकटोक भएन ।’

बिहेको दुई वर्ष पछि छोरी साम्भवीको जन्म भयो । त्यसको ठीक दुई वर्ष पछि शिवमान । छोरा हाल अमेरिकामा पढिरहेका छन् भने छोरी नेपालमै एक संस्थामा काम गर्छिन् ।

‘श्रीमानको धेरै ठाउँमा सरुवा हुँदा पट्यार लाग्दैन थियो त ?’

उनी हाँस्दै भन्छिन्, ‘मलाई त झन् मजा पो लाग्थ्यो । रमाइलो लाग्ने । धेरै ठाउँ घुम्न पाएँ । धेरै जिल्लाहरु घुमियो ।’

...

हाँसिराख्ने, जिस्किराख्ने राजेन्द्रमान एकदमै ‘जोली नेचर’का थिए । गीत गाउनुपर्ने, रमाइराख्ने मान्छे सबैसँग छिट्टै घुलमिल हुन्थे । काममा लगनशील बानी थियो ।

कहिल्यै रिसाउँदैनथे, बरु आराधना रिसाइदिन्थिन् । रिसाउँदा के कुरा हो भनन् भनेर मज्जाले फकाउने गरेको आराधना सम्झिन्छिन् ।

राजेन्द्रमान जुत्ताको एकदम सौखिन रहेको अनुराधा बताउँछिन् ।

‘जुत्ता लगाएर बेडमै पल्टेर मज्जाले जुत्ता हेरेर बस्थे । अझ बेड निरै राख्थे,’ उनले राजेन्द्रको नौलो स्वभाव हौसिँदै बताइन् ।

खेलकुदमा एकदमै रुचि थियो राजेन्द्रमानको । त्यसैले त आराधना पनि उनको रुचि अनुसारको गिफ्ट दिन्थिन् ।
‘त्यो भ्यालेन्टाइन हामीले दिल्लीमा मनाएका थियौँ । उनले मलाई घडी दिएका थिए । मैले भने ब्याडमिन्टन खेल्दा लाउने टिसर्ट,’ उनले रमाइला दिन सम्झिँदै खुल्दै गइन् ।

भ्यालेन्टाइन डेको स्मरण गर्दा आराधना केही नोस्टालजीक बन्न पुगिन् । ड्युटीको कारणले भेट हुन नपाएपनि एक अर्कालाई वीस भने गर्थे दुवैले ।

कसले सुरुमा वीस गर्ने भनेर त प्रतिष्पर्धा नै चल्थ्यो नि । उनी खुसी देखिइन् ।

सपराइज दिनमा राजेन्द्रमान माहिर रहेको बताउँदै आराधना भन्छिन्, ‘केही खबर नगरिकनै छुट्टीमा घर आइदिन्थे ।’

...

रमाइलो गरिराख्नु अनि बोलिरारख्नुपर्ने मान्छे यसरी हलचल नगरी वर्षौंसम्म सुतेको देख्दा आराधनाको मन रुन्छ । उनी सम्हालिन सक्दिनन् । तर, फेरि राजेन्द्रमानको अनुहार हेर्छिन्, माया झन् बढी लागेर आउँछ । उनी चित्त बुझाउँछिन् । छोराछोरीको अनुहार हेरेर पनि मन केही हल्का बनाएकी छिन् उनले ।

जीवनकी सहयात्री उनी अहिले नर्स जस्तै बन्न पुगेकी छिन् ।

केही नगरी बस्दा मनमा कुरा खेल्छ भनेर उनी खाली बस्दिनन् । फुर्सद पाइहालिन् भने राजेन्द्रमान सुतिरहेको ठाउँमा गएर टिभी हेर्छिन् ।



‘खाली समय त हुँदैन तर मन एकछिन बहलिन्छ भनेर पाकिस्तानी सिरियल हेर्छु,’ उनले टिभी नियाल्दै बोलिन् ।

श्रीमानको स्याहार गर्ने रुटिनमा केही पनि तलमाथि हुन दिएकी छैनन् उनले । औषधि खुवाउने, नुहाइदिने, सरसफाइ गरिदिने, लुगा फेरिदिने, मसाज गरिदिने, कोल्टे फेरिदिने उनी समयसमयमा गरिरहन्छिन् । बिहान बेलुका केहीबेर ह्विलचेयरमा राखेर खुला ठाउँमा लान्छिन् पनि ।

...

त्यो हँसिलो अनुहार सम्झिँदा र अहिले यो अनुहार नियाल्दा आराधनाका कति दिन रोएरै बिते थाहा छैन । उनी मुटु दह्रो बनाएर बस्न खोज्छिन् । तर, मनै त हो, कहिले कतै च्वास्स घोची हाल्छ ।

राजेन्द्रमानले आँखा डुलाउँदा आफैंलाई हेरेको झैं लाग्छ उनलाई । कोमामा रहेका राजेन्द्रमानलाई चिकित्सकहरुले पर्ख र हेरको स्थितिमा रहेको बताउँछन् ।

बिहान घरमा रहँदा कल आयो भने हस्पिटलबाटै आएको जस्तो लाग्छ । ‘उनी होसमा आएकी भन्ने भान हुन्छ,’ उनी सुक्सुकाउँदै बोलिन्, ‘आश नै टुट्न दिएको छैन । मलाई चिनोस्, छोराछोरीलाई चिनोस्, भन्ने हो । हिम्मत हारेको छैन ।’

जबसम्म गर्न सक्छु त्यतिबेलासम्म सेवामा खटिने आराधनाको विश्वास छ । यस्तो परिस्थितिमा राजेन्द्रमान रहँदा पनि आराधनाको उनी प्रतिको प्रेममा कमि आएको छैन ।

...

राजेन्द्रमान नबोलेपनि उनीसँग एक्लै बोलिरहेकी हुन्छिन् आराधना । एक्लोपन महसुस हुन दिएकी छैनन् ।

भ्यालेन्टाइन डेको दिनमा आज उनको आधा मन रमाइरहेको होला, आधा दुखित होला ।

कोमामा रहेका श्रीमानले सायद आराधनाका कोमल औंलाको स्पर्श महसुस गर्न नसक्लान् । उनले बोलेका शब्दहरुको जवाफ फर्काउन नसक्लान् । तर, उनी आफ्नो प्रेमलाई सदैव अजर र अमर बनाइराख्ने प्रयत्नमा छिन् ।
र, यसवर्ष पनि अघिल्ला वर्षझैं कानमा फुस्फुसाउनेछिन् ‘राजा, आज भ्यालेन्टाइन डे हो, ह्याप्पी भ्यालेन्टाइन्स डे !’

प्रकाशित : फाल्गुन २, २०७६ १७:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×