२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गर्विलो बन्दै पोखरा म्याराथन

दीपक परियार

पोखरा — पोखरेलीहरू एकैठाउँ उभिएर सफल बनाउने बिरलै कार्यक्रममध्येमा पर्छ, पोखरा म्याराथन । हरेक वर्ष प्रजातन्त्र दिवस (फागुन ७) मा हुँदै आएको सफल पोखरा म्याराथन यस वर्ष भने फागुन ३ मा हुँदै छ ।

गर्विलो बन्दै पोखरा म्याराथन

म्याराथन सफल बनाउन स्वदेशमात्र नभै विदेशमा रहेका पोखरेली समेत एकठाउँ जुट्छन् । म्याराथनमा पोखराका विभिन्न शैक्षिक संस्था, सरकारी, गैरसरकारी संस्था, खेलाडी सहभागी हुन्छन् । २०५८ मा भूतपूर्व खेलाडी मञ्च नेपाल गठन भयो । यही संस्थाले २०५९ देखि पोखरा म्याराथन सुरु गरेको हो । पोखरा म्याराथन सुरु भएपछि नै काठमाडौं, लुम्बिनी, एभरेस्टलगायत म्याराथनले स्थान पाएका हुन् । मञ्चका अध्यक्ष तेज गुरुङ पोखरा म्याराथनलाई सबैभन्दा पुरानो, लोकप्रिय र नेपालका अन्य सहरमा आयोजना हुने म्याराथनको पनि मातृ म्याराथन भन्न रुचाउँछन् ।


१४ औं संस्करणसम्म आइपुग्दा पोखरा म्याराथनले धेरै आरोह पार गरेको उनलाई सम्झना छ । ‘कहिले प्रायोजकको अभाव भयो, राज्यबाट कुनै सहयोग भएन,’ उनले भने, ‘प्रायोजकै अभावमा ३ वर्ष म्याराथन नै भएन ।’ खेलकुद मात्र नभै म्याराथनलाई पोखराको विशेष पर्व मान्छन् उनी । विश्वमा विभिन्न मुलुकमा ‘सिटी म्याराथान’ को अवधारणाको विकास भइरहेकाले पोखरालाई त्यसैका माध्यमबाट स्थापित गर्न खेल पर्यटन प्रवर्द्धन गर्ने योजना रहेको उनी बताउँछन् ।


कुनै बेला ३ सय सहभागी नहुने म्याराथनमा गत वर्ष ५ हजारभन्दा बढी सहभागी भए । अध्यक्ष गुरुङले यसपालि म्याराथनमा ७ हजार जना दौडने अपेक्षा गर्छन् । गण्डकी प्रदेश र पोखरा महानगरपालिकाले म्याराथनलाई संरक्षकत्व प्रदान गरेका छन् । प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रमुख संरक्षक र पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसी म्याराथनका संरक्षक हुन् । अर्को वर्षदेख १५ औं संस्करण म्याराथन भने पोखरा महानगरपालिकाले आयोजना गर्ने जिम्मा लिएको छ । मञ्चका पूर्व अध्यक्ष खड्गबहादुर रानाभाट म्याराथन पोखरेलीको संस्कृति बनिसकेको बताउँछन् । ‘यसले पोखरेलीको मनमस्तिष्कमा प्रभाव पार्न सफल भएको छ,’ उनी भन्छन्, ‘विदेशबाट आउने सहभागीले यसलाई थप उचाइमा पुर्‍याएका छन् । सबैलाई एकै सत्रमा बाँध्ने प्रयास पनि हो ।’ मुलुकको खेलकुद विकासमा सहयोग पुर्‍याउने र खेलकुदको महत्त्वबारे जनचेतना अभिवृद्धि गराई समग्र समाजमा खेलसंस्कृतिको विकास गर्ने उद्देश्य म्याराथनले बोकेको छ ।


म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेका अध्यक्ष पुनम गुरुङसहित सहारा युके, बगर भाइ खलक यूकेलगायतको टोली नेपाल भ्रमण वर्ष २०२० लाई म्याराथनमार्फत सहयोग पुर्‍याउँन पोखरा आइसकेका छन् । १४ औं संस्करणको पोखरा म्याराथन सफल बनाउन पोखरेली मञ्च यूकेले भूतपूर्व खेलाडी मञ्च नेपाललाई ७ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ । यूकेमा पूर्व राष्ट्रिय खेलाडी मञ्जु गुरुङ संयोजक रहेको समिति उक्त रकम संकलन गरी प्रदान गरेको हो । पोखरेली मञ्च यूके भूतपूर्व खेलाडी मञ्चको अन्तर्राष्ट्रिय सहयोगी संस्थासमेत हो ।


भलिबलकी पूर्व राष्ट्रिय खेलाडी मन्जु गुरुङ र धावक पाण्डव महतो पनि म्याराथनमा दौडँदै छन् । दुवै क्यान्सर रोगलाई जितेर खेलकुद र सामाजिक अभियानमा जुटेका छन् । समयमै रोगका बारेमा जानकारी पाएर उपचार गर्न सके क्यान्सर निको हुने सन्देश दिन दोस्रोपल्ट पोखरा म्याराथनको १० किलोमिटरमा सहभागी हुन लागेको पूर्व खेलाडी गुरुङले बताइन् ।


पोखरासँग भगिनी सम्बन्ध रहेको जापानको कोमागाने सहरका उत्कृष्ट धावक पोखरा आएका छन् । पोखरा म्याराथनलाई विश्व शान्तिको कामना गर्दै पिस टर्चसहित दौडन १३ देशका २१ विदेशी धावक पोखरा आएका छन् । टोलीको नेतृत्व युनेस्कोका पूर्व अध्यक्ष डेभिडसन हेप्वर्नले गर्नेछन् ।


म्याराथन पोखरा रंगशालाबाट सुरु हुन्छ । म्याराथनको रुटले महानगरका १ देखि १७ नम्बर वडा छुन्छ । रुट पर्ने चोकमा स्थानीय विभिन्न संघसंस्था, आमा समूह र सांस्कृतिक समूहले आ–आफ्नो वेशभूषा, पञ्चेबाजा, भजन, चुड्कासहित सहभागीलाई स्वागत गर्नेछन् । म्याराथन सम्पन्न गर्न ३५ लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ । विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रो हुने खेलाडीले ७५ हजार प्राप्त गर्नेछन् । महिला र पुरुष दुवैतर्फका १० हजार मिटर दौडका विजेताले १५ हजार, ५ किलोमिटर दौड, छात्र र छात्राका विजेताले समान १० हजार, दृष्टिविहीन पुरुष तथा महिला विजेताले ५ हजार, ह्विलचियरका विजेताले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित : फाल्गुन २, २०७६ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?