३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कभर्डहल बनाउँदै पूर्व बक्सर

मकवानपुर — नेपालका लागि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जिताउन सफल बक्सर सुशील घिमिरे अहिले चन्दा संकलन गरेर कभर्डहल निर्माणमा जुटेका छन् ।

कभर्डहल बनाउँदै पूर्व बक्सर

हेटौंडा–५ पिप्लेस्थित बालज्योति माविको मैदानमा एक महिनायता चन्दा संकलन गरेर कभर्डहल निर्माण कार्यमा उनी लागिपरेका हुन् । स्थानीय पूर्वखेलाडीहरूबाट प्राप्त सहयोगबाट हौसिएर सुशीलले करिब ४० लाख रुपैयाँ लागत अनुमान गरिएको कभर्डहल निर्माण थालेका छन् । ‘मकवानपुर बक्सिङ खेलाडीको उर्बरभूमिका रूपमा देशमै कहलिएको ठाउँ हो ।


कभर्डहल नहुँदा समस्या भइरहेको थियो । पछिल्लो समय जुनियर खेलाडीको आकर्षण घटेका कारण व्यवस्थित रूपमा प्रशिक्षण गराउनका लागि कभर्डहल निर्माण सुरु गरिएको हो ।’ उनका अनुसार फागुन महिनासम्म निर्माण सम्पन्न गरिसक्ने लक्ष्यसाथ काम अघि बढेको हो ।हालसम्म पूर्वखेलाडी तथा त्यस क्षेत्रका व्यवसायीबाट ६ लाख ५० हजार रुपैयाँ र ३ लाखबराबरको जिन्सी सहयोग प्राप्त भएको सुशीलले जानकारी दिए । उनका अनुसार कभर्डहलको ५० मिटर लम्बाइ र ३५ मिटर उचाइ रहनेछ । ‘विशेष हामीले बक्सिङका लागि बनाएका हौं । इन्डोर खेल सबै खेलाउन सकिन्छ । भलिबल र बास्केटबलका लागि भने प्रशिक्षण गर्नमात्र हुन्छ ।’ उनले मार्सल आर्ट्सका सबै स्पर्धा त्यहाँ गर्न सकिने बताए ।


‘स्थानीय तहबाट पनि केही सहयोग प्राप्त भएको छ । थप सहयोग उपलब्ध गराउने पनि प्रतिबद्धता आएको छ,’ उनले भने । बजेट अभावमा प्यारापिट निर्माण नगरिने र करिब एक सय दर्शक बसेर हेर्ने मिल्ने गरी कभर्डहल बनाइने छ । ‘प्यारापिटसहित बनाउँदा लागत बढ्छ । त्यसैले प्रशिक्षण र सामान्य जिल्लास्तरीय प्रतियोगिता गराउन हुने गरी निर्माण गरिएको हो,’ उनले थपे ।सुशीलले आफ्नो खेलजीवनमा नेपालका लागि चार अन्तर्राष्ट्रिय पदकसमेत जितेका थिए । त्यसमध्ये उनले श्रीलंका सम्पन्न दसौं सागमा जितेको रजत पदक सबैभन्दा ठूलो हो । ‘व्यावसायिक खेलजीवनपपछि सात वर्ष वैदेशिक रोजगारीमा बिताए । अहिले फेरि भूमिका परिवर्तन गरेर खेलाडी उत्पादन सुरु गरेको छु,’ उनले भने । अहिले हेटौंडामा उनले बक्सिङको प्रशिक्षण गराइरहेका छन् । हाल दैनिक ७० खेलाडीलाई प्रशिक्षित गराउँछन् ।


‘पहिला जस्तो अहिले खेलप्रति युवाको आकर्षण कम छ । धेरै प्रयासपछि यतिको खेलाडी जुटाएर तीन स्थानमा प्रशिक्षण गराइरहेको छु,’ सुशीलले भने । उनीसहित पिप्लेबाट हालसम्म सुसन मानन्धर, सविन नेपाली, साजन ठकुरी तथा तिलकप्रसाद गौतमलगायत खेलाडीले बक्सिङको अन्तर्राष्ट्रिय रिङमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् । उनले सशस्त्र प्रहरीको एपीएफ क्लबबाट खेलेका थिए ।

प्रकाशित : माघ २९, २०७६ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?