कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

जागिर, चोट र गोल

भरत खवास ‘ए’ डिभिजन लिगमा ५० गोल गर्ने आठौं खेलाडी भएका छन्
राजु घिसिङ

काठमाडौँ — आर्मीका कप्तान भरत खवास एन्फा कम्प्लेक्समा मंगलबार ब्रिगेड ब्वाइजविरुद्ध ३–० को जितमा पाँचौं मिनेटमा गोलको खाता खोलेसँगै सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ५० गोल पूरा गर्ने आठौं खेलाडी बनेका छन् ।

जागिर, चोट र गोल

२०६३ सालमा संकटाबाट करिअर सुरु गरेका भरतले त्यो सिजनको लिगमा सरस्वतीविरुद्ध ५–० को जितबाट शीर्ष लिगमा गोलको खाता खोलेका थिए । संयोगले त्यो पनि खेलको पहिलो गोल नै थियो । यो सिजनको चौथो गोलसँगै ५० गोलको कोसेढुंगा भेट्टाएका २८ वर्षीय भरतले भने, ‘यो लिगमा गोल गर्न एकदमै गाह्रो त पक्कै हुन्छ ।


सुखदुःख सबैले सहयोग गरे, प्रोत्साहन दिए र यहाँसम्म आइपुगें । ५० गोल गरें । यो नै अन्तिम होइन, १०० गोल गरेका सन्तोष दाइ (साहुखल) लाई पछ्याउने कोसिस गर्नेछु । तर सजिलो पक्कै छैन ।’ च्यासलका फरवार्ड सन्तोष यसैपालि आधुनिक लिगमा १०० गोल गर्ने पहिलो भएका थिए । उनको गोलसंख्या १०३ पुगेको छ ।


आधुनिक लिग (२०४६ यता) मा सन्तोष साहुखल, रमेश बुढाथोकी, वसन्त थापा, जीवेश पाण्डे, सुरेन्द्र तामाङ, अनिल गुरुङ, गणेश लावतीपछि ५० गोल पूरा गर्ने आठौं खेलाडी बनेका हुन्, भरत । हरैंचा, मोरङका भरत एन्फा एकेडेमीमा हुर्किएका खेलाडी हुन् । भरत र जुमनु राईको अग्रपंक्ति २०६८ सालमा खुबै जमेको थियो । त्यो सिजनको लिगमा १४ गोल गरेपछि भरत नेपाली सेनाको अधिकृत तहमा भर्ती हुँदै त्रिभुवन आर्मी क्लबमा पुगेका थिए । उनले पुलिसअघि एक सिजन फ्रेन्ड्सबाट पनि खेल्न भ्याए ।

प्रायजसो भरतको खेल हेर्न उनका पत्नी रुमा अवाले रंगशाला धाउने गर्थिन् । यसपालि पनि उनी १० महिनाकी छोरी स्वर्णिकालाई लिएर प्यारापिटमा हुटिङ गरिरहेकी हुन्थिन् । मंगलबार बिहान ८ः४५ बजे सातदोबाटोमा सुरु भएको खेलमा भने उनी आइनन् । ‘बिहान खेल भयो । ल्याउने मान्छे नभएर छोरी आइनन्,’ भरतले भने, ‘५० औं गोल छोरीप्रति समर्पित गर्न चाहन्छु ।’


भरतले राष्ट्रिय टिमबाट १० गोल गरेका छन्, जुन सर्वाधिक गोलकर्ता नीराजन रायमाझी र हरि खड्का (१३ गोल) नजिक छ । ‘मान्छेलाई जति भए पनि सन्तुष्टि हुँदैन,’ भरतले भने, ‘५० गोल खासै लक्ष्य थिएन । हरि र नीराजन दाइको रेकर्ड तोड्ने लक्ष्य छ । सेनाको तालिम र चोटले कति खेल छुटाउनुपर्‍यो । तर, त्यो १३ गोलको रेकर्ड तोड्छु भन्ने आत्मविश्वास छ ।’ कीर्तिमान १४ गोल कि लिगको उपाधि ? उनी सचेत देखिए, ‘आर्मीलाई लिग जिताउने ।’


उनले १३ वर्षमा सात सिजन लिग खेल्दै ५० गोल पूरा गरेका हुन् । गत वर्ष ७ गोल गर्दै लिगकै सर्वोत्कृष्ट फरवार्डको पुरस्कार जितेका भरत यो सिजन सर्वाधिक ८ गोल गरेका आशिष लामा (एपीएफ) भन्दा ४ गोल पछाडि छन् । केही वर्षयता भरत विपक्षीको पेनाल्टी क्षेत्रमा पहिलाजस्तै खतरनाक देखिन छाडेका छन् । यसैपालि पनि नवौं चरणमा जावलाखेलविरुद्ध १–० को जितमा गोल गरेपछि उनले अर्को गोलको लागि १२ औं चरण कुर्नुपर्‍यो ।


‘दुई वर्ष क्याडेट कोर्स गरें, त्यसले फुटबललाई अलि बिगार्‍यो नै,’ उनले भने, ‘हरेक खेलमा गोल गर्न गाह्रो हुन्छ । ५० गोल गरें । १०० गोल गर्न गाह्रै हुन्छ, अबको लक्ष्य ६० राखुँला । कोसिस गर्नेछु ।’ उनले थपे, ‘कहिले हात भाँच्चियो र स्टिल राखेरै खेलें । खुट्टाको शल्यक्रिया गरें । जण्डिस भयो । टाउको फुट्यो । चोटले पनि धेरै असर गर्‍यो मलाई ।’


भरत खवासको ५० गोल

वर्ष
क्लब
गोल
२०६३
संकटा

२०६६–६७
फ्रेन्ड्स

२०६८
पुलिस
१४
२०६९
आर्मी
११
२०७०
आर्मी

२०७५
आर्मी

२०७६
आर्मी

प्रकाशित : माघ २९, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?