नयाँ च्याम्पियनको प्रतीक्षा

आर्मीविरूद्ध मछिन्द्रको शनिबार हुने खेलले ‘ए’ डिभिजन लिगमा उपाधिको टुंगो लाग्‍नेछ
राजु घिसिङ

काठमाडौँ — सहिद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम खेल शनिबार दशरथ रंगशालामा हुँदै छ । त्यही खेलले उपत्यकाको शीर्ष श्रेणीको फुटबल लिगमा नयाँ विजेताको छिनोफानो गर्नेछ, जहाँ भिड्दैछन् आर्मी र मछिन्द्र । जसले जिते पनि त्यो घरेलु फुटबलकै सबैभन्दा प्रतिष्ठित प्रतियोगिताको १६ औं विजेता हुनेछ ।

नयाँ च्याम्पियनको प्रतीक्षा

लिगमा अन्तिम चरणका खेल बाँकी छँदा आर्मी र मनाङले समान ९ जित, २ बराबर र १ हारको नतिजा निकालेका छन् । तर, गत वर्षको रेलिगेसन नहुने लिगमा अन्तिमबाट दोस्रोमा रहेकाले १ अंक घटुवामा परेको मछिन्द्रको खातामा २८ अंकमात्रै छ । त्यो १ अंक मछिन्द्रलाई महँगो पर्नसक्छ ।


किनभने घटुवामा नपरेको भए मछिन्द्र राम्रो गोलअन्तरको आधारमा शीर्षस्थानमा हुने थियो । त्यसको प्रत्यक्ष फाइदा आर्मीलाई भयो र यो विभागीय टिम २९ अंकसहित सबैभन्दा अगाडि छ ।


त्यसैले एक अंकको अग्रता लिएको आर्मीलाई अन्तिम खेलमा मछिन्द्रविरुद्ध बराबरी नतिजा पनि लिग च्याम्पियन बन्न पर्याप्त हुनेछ । मछिन्द्रलाई भने उपाधि हात पार्न आर्मीविरुद्ध जित निकाल्नुको विकल्प छैन । १२ औं चरणमा मंगलबार ब्रिगेड ब्वाइजविरुद्ध ३–० को जित हासिल गरेपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले भने, ‘बराबरी गर्‍यो भने पनि हामीलाई उपाधि जित्ने अवसर छ । तर हामी बराबरीका लागि जाँदैनौं, सुरुबाट दबाब दिने र तीव्र गतिमा खेल्ने शक्ति उपयोग गरेर आधुनिक फुटबल खेल्दै उपाधि जित्न चाहन्छौं ।’


‘बेन्च (सब्स्टिच्युट खेलाडी) बलियो भएकाले पनि यो लिगको उपाधि जित्छौं भन्ने लागेको हो । टिमप्रति विश्वास छ,’ प्रशिक्षक न्यौपानेले थपे, ‘मछिन्द्र पनि उत्कृष्ट टिम छ तर हामी सर्वोत्कृष्ट टिम छौं भनेर उपाधि उठाउन चाहन्छौं ।’ विंगर दिनेश हेन्जन घुँडाको चोटले बाहिरिए पनि अरु सबै खेलाडी अन्तिम खेललाई उपलब्ध भएकाले पनि उनी उत्साही छन् । निलम्बन र चोटबाट आफ्नो खेलाडीलाई जोगाउनकै लागि ब्रिगेड ब्वाइजविरुद्ध एन्फा कम्प्लेक्समा सचेत भएर खेलेको पनि उनले बताए ।


ब्रिगेड ब्वाइजविरुद्धको जितमा कप्तान भरत खवासले पाँचौं मिनेटमै गोलको खाता खोले, जुन उनको ‘ए’ डिभिजन लिगमा ५० औं गोल बन्यो । विकास तामाङले ५४ र टेकबहादुर बुढाथोकीले ७० औं मिनेटमा गोल गरेपछि आर्मीलाई ३ अंक जोड्न गाह्रो भएन ।


‘५० गोल पुगेकामा भरत र टिमलाई बधाई,’ प्रशिक्षक न्यौपानेले भने, ‘टिमले गर्दा नै उनले ती गोल पुर्‍याउन सकेको हो । सोचअनुसारै नतिजा आयो । मछिन्द्रविरुद्धको मुख्य खेल बाँकी छ र त्यसका लागि खेलाडी बचाउनु थियो, बचायौं । अब उपाधि जित्ने लक्ष्यमा पुग्न एक कदम छ ।’ गत वर्षको विजेता मनाङ र थ्रीस्टारबाट नाम चलेका खेलाडीलाई भित्र्याएर पहिलोपल्ट लिग च्याम्पियन बन्ने लक्ष्य राखेको मछिन्द्रबारे उनले भने, ‘पछिल्ला खेलहरूबाट उसको शक्ति घटेको महसुस गरेको छु । हामी यसैमा बलियो छौं ।


पावर र स्ट्रेन्थ उपयोग गर्नेछौं । प्राविधिक रूपमा भने उनीहरू (मछिन्द्रका खेलाडी) धेरै राम्रा छन्, विदेशी खेलाडी पनि । एडेलेजा सोमिडे (फरवार्ड) र विशाल राई बी (मिडफिल्डर) लाई चल्न दिएनौं भने हामीले उपाधि हात पार्छौं जस्तो लाग्छ ।’


आर्मी तीव्र गतिमा खेल्नसक्ने टिम हो तर उसको अग्रपंक्ति उस्तै भरपर्दो देखिएको छैन । सुरुदेखिको त्यो समस्या अन्तिम खेलअघिसम्मै पनि कायम छ । यसबारे प्रशिक्षक न्यौपानेले भने, ‘सुरुबाटै हाम्रा खेलाडीमा समन्वय अभाव देखिएको छ । स्कोरङ निरन्तर नभए पनि गोल चाहिँ भइरहेको छ । अन्तिम खेल महत्त्वपूर्ण छ, त्यसैलाई राखेको हो कि जस्तो पनि भएको छ ।’ उनले थपे, ‘अन्तिम खेल गर या मर नै हो । मछिन्द्रविरुद्ध जितेर उपाधि उचाल्ने आस गरेको छु । खेलाडीको क्षमता र उपाधि जित्नेमा विश्वस्त छु ।’


आजको खेल

हिमालयन शेर्पाविरुद्ध जावलाखेल

१ बजे, एन्फा कम्प्लेक्स

प्रकाशित : माघ २९, २०७६ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?