कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

सन्तोषजनक नतिजाको पर्खाइमा नेपाल

अमेरिकासँग बुधबार हुने दोस्रो खेलमा पनि जित हात पार्दै नेपाल त्रिकोणात्मक शृंखला टुंग्याउने तयारीमा छ
विनोद पाण्डे

काठमाडौँ — नेपालसँग क्रिकेट विश्वकप लिग २ मा खेल्दा अमेरिकासँग बुधबार धेरै विकल्प हुने छैन । ओमानले लगातार चार खेल जितेर ‘क्लिन स्विप’ गरिसकेको छ । नेपालसँग पराजित भएमा अमेरिकाले नतिजाको हिसाबमा ठीक उल्टो ‘क्लिन स्विप’ हार बेहोर्नुपर्नेछ । 

सन्तोषजनक नतिजाको पर्खाइमा नेपाल

अमेरिकाले तीन खेल हारिसकेको छ । त्यसमा दुई खेल ओमानसँग छ । ओमानसँग दुवै खेल हारेको नेपालले अमेरिकासँगको खेलमा ३५ रनको जित पाएको थियो । अमेरिकासँग दोस्रो खेलमा पनि जित हात पार्दै नेपाल सन्तोषजनक नतिजासाथ त्रिकोणात्मक शृंखला टुंग्याउने तयारीमा छ । अमेरिका भने पहिलो जित हात पार्न व्यग्र छ ।


ओमानविरुद्ध मंगलबार निसर्ग पटेलले अर्धशतक र एरोन जोन्सले अविजित ४७ रन बनाएकाले अमेरिकाका प्रशिक्षक जिम्मी पेमेन्ट नेपालसँगको खेलमा आशावादी छन् । ‘अरु खेलाडीले पनि यस्तै खेल्नुपर्नेछ । पटेल र जोन्सको प्रदर्शनले हामीलाई ठूलो बल दिएको छ । फिल्डिङमा हामी ७५ प्रतिशतमात्र देखिएका थियौं, ओमानजस्तो टोलीसँग खेल्दा त्यसको सजाय पाएका छौं,’ पेमेन्टले भने । नेपालसँगको पहिलो खेलमा अमेरिकाले चार सिमर खेलाएको थियो । शर्ट पिच बलमा नेपालले कमजोरी देखाएर अमेरिकाले तीव्र गतिको बलिङबाट आक्रामण गरे पनि त्यो पूरा सफल हुन सकेको थिएन । त्यसैले बुधबार अमेरिकाले लेग स्पिन अलराउन्र तिमिल पटेललाई खेलाउन सक्छ । उनले नेपाल ११ सँगको अभ्यास खेलमा ४ विकेट लिएका थिए । त्यसपछि उनलाई ओमानसँगको पहिलो खेलमा मात्र खेलाइएको छ, त्यसमा उनले ४ ओभरमात्र बलिङ गरे । तर प्रशिक्षक पेमेन्ट मूलपानी भएको अभ्यास खेलको विकेट क्रिकेटको मर्मअनुरुप नभएको बताउँदै पटेललाई खेलाउन सकिने बताउँछन् ।


‘हामीले आफ्नो क्षमताअनुसार खेल्न सकेका छैनौं, हामी आफ्नो योजना अनुसार पनि खेल्न सकेका छैनौं । खेलाडीहरू पनि फर्ममा छैनन्, राम्रो प्रदर्शन दिन सकेका छैनन् । इयान हल्यान्डलाई छाड्ने हो भने हाम्रो शीर्ष ब्याटिङपंक्तिको योगदान खासै छैन । स्पिन बलिङसामु हाम्रो ब्याटिङमा केही समस्या छ । तर आफ्नो खेलमा आत्मविश्वास पनि देखिएको छैन,’ अमेरिकालाई विजय दिलाउने आशामा रहेका प्रशिक्षक पेमेन्टले भने । विनोद भण्डारी र कुशल मल्लको अर्धशतकमा नेपालले १ सय ९० रन बनाए पनि अमेरिकासँगको पहिलो खेल जितेको थियो । अमेरिकासँगको त्यो खेल कुशलको एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ पनि थियो र त्यसमा ५० रन बनाउँदै उनी एकदिवसीय अन्तर्राष्ट्रियमा अर्धशतक बनाउने सबैभन्दा कान्छा खेलाडी बनेका थिए । अमेरिकाको ब्याटिङ स्पिन आक्रामणविरुद्ध कमजोर रहने गरेको छ, त्यसमा पनि विशेष गरी देव्रेहाते स्पिन बलिङमा ।


कुशलको आगमनले टोलीमा एक अतिरिक्त स्पिन बलर थपेको छ । यसले नेपालको अलराउन्ड पक्षलाई बलियो बनाएको छ । कुशल र अर्का देव्रेहाते स्पिनर सुसन भारीलाई झेल्नु अमेरिकाका लागि सजिलो हुने छैन । अमेरिकाको कमजोरी बुझेर नेपालले देव्रेहाते अर्का स्पिनर ललितनारायण राजवंशीलाई पनि खेलाउन सक्छ । ओमानसँगको पहिलो खेलबाट एकदिवसीय अन्तर्राष्ट्रियमा ‘डेब्यु’ गरेका सुसनले ३ खेलमा ७ विकेट लिइसकेका छन् भने ललित नेपालबाट पहिलो खेल खेल्ने आशामा छन् ।

ब्याटिङमा विनोद र कुशलप्रति नेपालको नयाँ आशा जागेको छ । एकरुपको प्रदर्शन गर्न नसकेका विनोदले शृंखलाका तीन खेलमा १ सय २० रन बनाएका छन् । कुशलले ओमानसँगको खेलमा पनि २८ रन बनाउँदै नेपाली टोलीलाई नयाँ जोस दिएका थिए । ओमानसँग अर्धशतक बनाएका कप्तान ज्ञानेन्द्र मल्लले ७८ रन बनाएका छन् । पूर्व कप्तान पारस खड्काबाट नेपाली टोलीले धेरै आशा राखेको छ ।


इल्यासको घरेलु मैदान

सन् २००० ताका एडनान इल्यास एसियाली क्रिकेटको एसोसिएट स्तरमा निकै चर्चामा आएको नाम थियो । उनले उमेर समूहको एक खेलमा १ सय ९९ रन बनाएका थिए । नेपालले सन् २००३ मा पाकिस्तानको कराँचीमा एसीसी यू–१९ एसिया कप जित्दा एडनान म्यान अफ द सिरिजमा चुनिएका थिए । एडनानले जस्तै एकै खेलमा उनका भाइ अकिब इल्यासले प्रदर्शन गर्न नसके पनि नेपाली क्रिकेटमा अहिले चर्चाका पात्र हुन् ।


नेपालसँगको खेलमा अविजित १ सय ९ रन बनाउँदै अकिब ओमानबाट एकदिवसीयमा शतक बनाउने पहिलो खेलाडी बनेका थिए । उनको त्यो क्रममा मंगलबार लगातार दोस्रो खेलमा पनि जारी रह्यो । उनले अमेरिकासँग १ सय ५ रन बनाए । ‘लगातार दुई शतक बनाउनु जस्तो राम्रो अनुभूति ब्याट्सम्यानका लागि धेरै हुँदैन । दुई लगातार शतकका साथै लगातार म्यान अफ द म्याच पनि पाएको छु,’ अकिबले भने, ‘यस्तो कठिन विकेटमा रन बनाउन सजिलो छैन । त्यसमा रन बनाएर सबै खेलमा आफ्नो टोलीलाई जिताउनुका महत्त्व नै अर्कै छ । यस्तो अनुभति त ब्याट्सम्यानले सपनामा मात्र देख्छन् ।’


अकिब आफ्नो सफलताको श्रेय आफ्ना दाइ एडनानलाई दिन्छन् । सन् २०१६ को विश्वकप ट्वान्टी–२० यता एडनानले ओमानको टोलीबाट खेलेका छन् । दाइको श्रेयले नै आफू यहाँ आइपुगेको अकिब बताउँछन् । लिग २ मा उनी १० खेलमा सर्वाधिक ६ सय १० रन बनाउँदै अन्य ब्याट्सम्यानभन्दा २ सय रनले पछाडि छन् । उनले पछिल्ला ९ इनिङ्समा २ शतक र ४ अर्धशतक बनाएका छन् ।


‘हुनसक्छ म अहिले राम्रो समयमा छु । नेट्समा हामी टेक्निकमा समय खियाइरहेका थियौं । ब्याटिङ प्रशिक्षकले हाम्रो टेक्निकमा ध्यान दिइरहेका छन् । हामीले सबै खेलमा राम्रो गरिरहेका छौं । आत्मविश्वासले पनि मलाई राम्रो खेल्न प्रेरित गरिरहेको छ । विपक्षी टोलीका बलरले राम्रो नगरेको पनि हुनसक्छ । तर हाम्रा बलरले धेरै राम्रो बलिङ गरिरहेका छन्,’ अकिब आफ्नो र टोलीको सफलताको श्रेय खोतल्छन्, ‘राम्रो दिन चलिरहेको समयमा सबै राम्रो हुन्छ । बलिङमा आउँदा म पहिलो बलमै विकेट लिन सकिरहेको छु । शर्ट बल होस् वा राम्रो मैले विकेट लिइरहेको छु । यो खेल जीवनको एउटा हिस्सा । कहिले राम्रो दिन हुन्छ कहिले नराम्रो । अहिले मेरो राम्रो दिन चलिरहेको छ ।’


उनले कठिन मिहिनेतको फल आइरहेको जनाए । पछिल्लो तीन वर्ष धेरै राम्रो गरिरहेकाले यसै वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपमा पनि छनोट हुन सफल भएको उनको ठम्याइ छ । मंगलबार पनि उनले अर्धशतक पूरा गरेपछि दर्शकतर्फ नै पहिला ब्याट उठाएका थिए । ‘मलाई दर्शकमाझ खेल्न मनलाग्छ । यहाँ आएर खेल्नुको आनन्द हामी उठाइरहेका छौं । यहाँ क्रिकेट खेल्दा निकै मजा आउँछ, त्यसले पनि हामीलाई सहयोग गरिरहेको छ,’ अकिबले भने, ‘नेपाल हामीलाई घरेलु मैदानजस्तै छ । दर्शकहरू हामीलाई समर्थन गरिरहेका छन्, उनीहरू क्रिकेटको समर्थन गर्छन् । घरेलु मैदानमै खेलिरहे जस्तो लाग्छ । घरेलु मैदानबाहिर गएर खेलिरहेको जस्तै लाग्दैन ।’


नेपालमा आएर ४ खेलमा ३ सय २ रन बनाएपछि उनलाई एभरेस्ट प्रिमियर लिगका फ्रेन्चाइज टोलीले नजर लगाएका छन् । उनी भन्छन्, ‘म विश्वको कुनै पनि कुनामा गएर खेल्न चाहन्छु । अवसर पाएँ भने नेपालमा पनि आएर खेल्नेछु । हेरौं, भविष्यमा के हुन्छ । तर अहिलेसम्म नेपालमा आएर फ्रेन्चाइज खेल्न कहींबाट प्रस्ताव आएको छैन ।’

ओमानको ‘क्लिन स्विप’

ओमानले अमेरिकालाई ९२ रनले पराजित गरी क्रिकेट विश्वकप लिग २ मा ‘क्लिन स्विप’ गरेको छ । त्रिकोणात्मक शृंखलाका सबै चार खेल जित्नेक्रममा ओमानले अमेरिका र नेपालमाथि २–२ जित हात पारेको हो । ओमानले यस शृंखलामा लगातार चौथो खेल जितेर अमेरिकासँगको दूरीलाई अझ फराकिलो बनाएको छ ।


कप्तान जिसान मक्सुद र उपकप्तान अकिब इल्यासको शतकमा ओमानले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित ५० ओभरमा ६ विकेट गुमाई २ सय ७६ रन बनायो । जवाफमा आएको ओमान ३९.१ ओभरमा १ सय ८४ रनमा अलआउट भयो । अमेरिकाले पहिलो तीन खेल नै हारिसकेको छ र टोलीले बुधबार नेपालसँग अन्तिम खेल खेल्दै छ ।


ओमान १० खेलमा ८ विजय हात पार्दै १६ अंकका साथ शीर्षस्थानमा छ । शृंखलाअघि शीर्षस्थानको अमेरिका ११ खेलमा ६ मा विजय हात पार्दै १२ अंकसाथ दोस्रो स्थानमा छ । नेपालले ३ खेलमा एकमात्र जित हात पार्न सकेको छ ।

कीर्तिपुरको टर्निङ विकेटमा अमेरिकाका ब्याट्सम्यान मंगलबार पनि जम्न सकेनन् । निसर्ग पटेलले ३६ बलमा ५२ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रियमा अमेरिकी खेलाडीले बनाएको यो सबैभन्दा तीव्र अर्धशतक हो । उनले ४ चौका र ४ छक्का प्रहार गरे । पहिलो दुई खेलमा ओपनरको रूपमा असफल भएका एरोन जोन्स ४७ रन बनाई अविजित रहे । जोन्सले ७९ बल खेली ३ चौका प्रहार गरे । ओपनर जेभियर मार्सल २३, इयान हल्यान्ड २८ र रुस्टी थेरोन १२ रनमा आउट भए । ओमानका अकिब इल्यास र बिलाल खानले ३–३ तथा कप्तान जिसन मक्सुदले २ र मोहम्मद नदिमले १ विकेट लिए ।


यसअघि ओमानबाट मक्सुदले १ सय ९ र इल्यासले १ सय ५ रन बनाएका थिए । इल्यासको यो लगातार दोस्रो शतक हो । नेपालसँगको खेलमा १ सय ९ रन बनाउँदै इल्यास एकदिवसीय अन्तर्राष्ट्रिय शतकमा बनाउने ओमान पहिलो खेलाडी बनेका थिए । त्यसलाई निरन्तरता दिँदै मंगलबार पहिला मक्सुद र त्यसपछि इल्यासले शतक बनाएका हुन् । जतिन्दर सिंह ९ र खावर अली १० रन बनाएपछि इल्यास र मक्सुदले तेस्रो विकेटमा २ सय १६ रनको साझेदारी गरे । मक्सुद आउट हुने पहिलो खेलाडी थिए । उनले १ सय ९ बल खेली १० चौका र ४ छक्का प्रहार गरे । मक्सुद र इल्यास दुवैलाई अमेरिका कप्तान सौरभ नेत्राभाल्करले आउट गरे । इल्यासले १ सय २३ बल खेली ११ चौका र १ छक्का प्रहार गरे । सन्दीप गौड १३ रनमा अविजित रहे । अमेरिकाबाट नेत्राभाल्कर र रुस्टी थेरोनले ३–३ विकेट लिए ।

प्रकाशित : माघ २९, २०७६ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?