कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिग २ मा नेपालको पहिलो जित

विनोद पाण्डे

काठमाडौँ — नेपालले क्रिकेट विश्वकप लिग २ मा पहिलो विजय हात पारेको छ । नेपालले शनिबार अमेरिकालाई ३५ रनले पराजित गर्दै घरेलु मैदानमा एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो विजय निकालेको हो । नेपालले बुधबार मात्र घरेलु मैदानमा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलेको थियो तर ओमानसँगको त्यस खेलमा विजय निकाल्न सकेको थिएन ।

लिग २ मा नेपालको पहिलो जित

१ सय ९१ रनको विजय लक्ष्य लिएर आएको अमेरिका ४४.१ ओभरमा १ सय ५५ रनमा अलआउट भयो । यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्न आएको नेपाल कुशल मल्ल र विनोद भण्डारीको अर्धशतकमा ४४.१ ओभरमा १ सय ९१ रनमा अलआउट भएको थियो ।


यस त्रिकोणात्मक शृंखलामा नेपालको यो पहिलो विजय हो । नेपाल र अमेरिका दुवैलाई उनीहरूको पहिलो खेलमा ओमानले पराजित गरेको थियो । यसअघिका ९ खेलमा ६ विजय हात पार्दै ७ राष्ट्र सहभागी प्रतियोगिताको शीर्ष स्थानमा रहेको अमेरिकाले पछिल्ला दुवै खेलमा हार बेहोरेको छ । ३६ म्याच खेलेपछि शीर्ष तीन टोली विश्वकप छनोटमा प्रवेश गर्ने प्रावधान छ । ओमानको पनि १२ नै अंक छ र टोली अमेरिकाभन्दा रनरेटमा पछाडि छ । नेपालले आइतबार ओमानसँग खेल्दै छ ।


लिग २ को सर्कलमा पहिलो विजय हात पार्दा खुसी लाग्नु स्वाभाविक नै भएको र यसलाई निरन्तरता दिन जरुरी रहेको कप्तान ज्ञानेन्द्र मल्लले बताए । इयान हल्यान्डले ७५ रन बनाए पनि अमेरिकालाई विजय दिलाउन सकेनन् । उनले १ सय ११ बलको इनिङ्समा ७ चौका प्रहार गरे । ६५ रन बनाउदा ७ विकेट गुमाएको अमेरिकाको स्कोरलाई हल्यान्डले धैर्यपूर्वक खेल्दै लक्ष्य नजिक पुर्‍याएका थिए । करण केसीले ४१ औं ओभरमा हल्यान्डलाई आउट गरेका थिए । इंग्लिस काउन्टी टोली हयाम्पसायरबाट पनि खेलिसकेका हल्यान्डले ओमानसँगको पछिल्लो खेलमा ६५ रन बनाएका थिए ।


अन्तिम जोडी रुस्टी थेरोन र कप्तान सौरभ नेत्राभाल्करले त्यसपछि ११ रन जोडे पनि करणले थेरोनलाई मिडविकेटमा सन्दीप लामिछानेको हातबाट क्याच गराई नेपाललाई सानदार विजय दिलाएका हुन् । थेरोन ९ रनमा आउट भए । नेत्राभाल्कर ३ रनमा अविजित रहे । करिमा गोरेले १० र क्यामरन स्टेभनसनले १९ रन बनाई हल्यान्डलाई राम्रो साथ दिएका थिए । पारस खड्काले स्लिपमा उत्कृष्ट क्याच लिइ हल्यान्डको गोरेसँगको साझेदारी तोड्न सहयोग गरे । करणसँगैं ओपनिङ बलिङमा आएका सन्दीपले एरोन जोन्सलाई आफ्नो पहिलो ओभरमै एलबीडब्लु आउट गरेका थिए ।


तेस्रो ओभरमा करणले स्टेभन टेलरलाई शर्ट लेगमा दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच गराए । त्यसको दुई बलपछि करणले जेभियर मार्सललाई विकेटकिपर विनोद भण्डारीबाट क्याच गराए । सन्दीपले लगातार आफ्नो दोस्रो ओभरमा विकेट लिनेक्रममा मोनाङ्क पटेललाई ४ रनमा एलबीडब्लू आउट गरे । अक्षय होमराज पनि ५ रन बनाई सुसन भारीको बलमा विनोदबाट क्याच भएपछि अमेरिका ११ औं ओभरमा २७–५ को स्थितिमा पुगेको थियो । नेपालबाट करण केसीले ४, सुसन भारीले ३, सन्दीप लामिछानेले २ र कुशल मल्लले १ विकेट लिए ।


‘विकेट सुरुमा गाह्रो नै भइरहेको थियो, बल सजिलै ब्याटमा आइरहेको थिएन । अमेरिकाले आफ्नो हतियार पेस गतिको बलरमा विश्वास देखाएको थियो, त्यसमा उनीहरू सफल नै भइरहेका थिए । हाम्रो सुरुआत फेरि राम्रो हुन सकेन् । विनोद र कुशलको इनिङ्सले हामीले खेलमा पुनरागमन गर्ने मौका दियो,’ ज्ञानेन्द्रले भने, ‘उनीहरूको इनिङ्सपछि हाम्रो स्पिन आक्रामक पनि राम्रो र करण पनि लयमा भएका कारण हामीलाई खेल जित्छौं लागेको थियो ।’


यसअघि कुशल मल्ल र विनोदले अर्धशतकीय इनिङ्स खेलेका थिए । ४९ रनमा ५ विकेटको दयनीय स्थितिलाई सुधार्नेक्रममा कुशलले ५० र विनोदले ५९ रन बनाएपछि नेपालले ४९.२ ओभरमा १ सय ९० रनमा अलआउट भएको थियो । कुशलको यो डेब्यु खेल हो । कुशलले ५१ बलको इनिङ्समा ४ चौका र ३ छक्का प्रहार गरे । उनले विनोदसँग छैटौं विकेटमा ८४ रनको महत्त्वपूर्ण साझेदारी गरी नेपाललाई खेलमा फर्काएका थिए । विनोदले ७९ बल खेली ६ चौका र १ छक्का प्रहार गरेका थिए । उनीपछि आएका करण केसी १२ रनमा आउट भए भने सन्दीप लामिछाने शून्यमा पेभेलियन फर्किए । सुसन आउट हुने अन्तिम खेलाडी थिए । उनले ११ रन बनाए । अविनाश बोहरा ५ रनमा अविजित रहे ।


३ रनको अन्तरमा ४ विकेट गुमाएपछि यसअघि नेपालले २२ औं ओभरमा ४९ रन बनाउँदा ५ विकेटको स्थितिमा पुगेको थियो । ज्ञानेन्द्र र पारस खड्काले दोस्रो विकेटमा ४० रनको साझेदारी गरेपछि नेपाल १ विकेट गुमाई ४६ रनको स्कोरमा पुगेको थियो । तर त्यसपछि ज्ञानेन्द्र २१, दीपेन्द्र ऐरी शून्य, पूर्वकप्तान पारस १९ र आरिफ शेख २ रनमा आउट भएपछि नेपाल नाजुक स्थितिमा पुगेको हो । ओपनर सुवास खकुरेल ३ रनमा आउट भएका थिए । घाइते शरद भेषावकरको स्थानमा ल्याइएका उनले थेरोनको बलमा दोस्रो स्लिपमा क्याच दिन पुगेका थिए ।


अमेरिकाले चार तीव्र गतिको बलर खेलाएर शर्ट बलमा कमजोरी रहेको नेपाली ब्याटिङलाई उदाङ्ग पार्न खोजेको थियो । ज्ञानेन्द्रले पनि स्लिपमा क्याच दिन पुगे । स्टेभनसनले पारसको पनि विकेट लिए । उनको शर्ट पिच बलमा पारस विकेटकिपरलाई क्याच दिन पुगे । दुई बलमात्र खेलेका दीपेन्द्र फुल टस बलमा आउट भए । वैकल्पिक फिल्डर केपी केन्जिगेले उत्कृष्ट क्याच लिदैं आरिफलाई पेभेलियन फर्काएका थिए ।


अमेरिकी कप्तान नेत्राभाल्करले चार जना सिमर खेलाउने आफ्नो निर्णयको रक्षा गरे । भने, ‘हामीले नेपाललाई ४९–५ को स्थितिमा पुर्‍याई दिएका पनि थियौं, त्यो हेर्दा हामीले उनीहरूलाई ४०–५० रन अगावै आउट गर्न सक्थ्यौं जस्तो लाग्छ । रणनितिक हिसाबमा पनि हामीले केही गुमाउन पुग्यौं,’ उनले भने ।


करणको एकरूपता


करण केसीले लगातार दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालबाट ४–४ विकेट लिए । उनले ओमानसँग बुधबारको खेलमा ४७ रन खर्चेर ४ विकेट लिएका थिए । अमेरिकासँग उनले ७.१ ओभरमा १ मेडन राख्दै ४ विकेट लिई म्यान अफ द म्याच प्रदर्शन गरे । उनको यो प्रदर्शन नेपाली बलर एकदिवसीयमा दोस्रो उत्कृष्ट बलिङ प्रदर्शन हो । सोमपाल कामीले गत वर्ष दुबईमा यूएईविरुद्ध ३३ रन खर्चेर ५ विकेट लिनु नेपाली खेलाडीको एकदिवसीयमा उत्कृष्ट प्रदर्शन हो ।


अमेरिकाबाट सर्वाधिक ७५ रन बनाएका हल्यान्डलाई करणले नवौं विकेटको रूपमा आउट गरेपछि मात्र नेपालको विजय निश्चित जस्तो भएको थियो । ‘जब म पुनः बलिङमा आएको थिए, हल्यान्ड अन्तिम ब्याट्सम्यान विशेषज्ञ थिए । म उनलाई आउट गर्न खोजिरहेको थिए । विकेट बलिङका लागि राम्रो थियो, यसलाई राम्रो पक्ष भन्नुपर्‍यो । त्यसैले म उनलाई आउट गर्नेमा विश्वस्त थिए,’ करणले भने, ‘यो विकेटमा धेरै भइसक्यो खेलेको, त्यसैले कस्तो छ भनेर राम्रोसँग थाहा छ । बलिङ विकेट हो यो, स्पिन आक्रामक पनि राम्रै थियो । मिडियम पेसरलाई खेल्न अलिकति सजिलो हुन्छ स्पिनरलाई भन्दा । लाइन र लेन्थमा बलिङ गरिरहने हो भने बलरलाई अवश्य केही न केही हुन्थ्यो ।’


नेपालबाट सन्दीपले एकदिवसीयमा सर्वाधिक १७ विकेट लिएका छन् । आफूले खेलेको पहिलो ५ खेलमा ५ विकेट लिनमात्र सकेका करण लगातार दुई ४–४ विकेटको प्रदर्शनपछि उनी नेपालबाट सर्वाधिक विकेट लिनेमा सोमपालसँगै १३ विकेटमा आएका छन् । अलराउन्ड सोमपाल चोट र घरायसी कारण यसपटक खेलिरहेका छैनन् । करणले आफ्ना नयाँ बल जोडीका बारेमा भने, ‘सोमपाललाई म मिस गरिरहेको छु ।’

प्रकाशित : माघ २६, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?