कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

डेब्युमै विश्‍व कीर्तिमान

विनोद पाण्डे

काठमाडौँ — अमेरिकासँगको क्रिकेट विश्वकप लिग–२ का लागि शनिबार नेपाली टोलीले अघिल्लो खेल खेलेकाबाट दुई खेलाडी परिवर्तन गरेको थियो । त्यसबाट नेपाली टोलीमा स्थान पाउने एक थिए कुशल मल्ल । नेपाली राष्ट्रिय टोलीबाट ५० ओभरमा उनी पहिलो खेल खेल्दै थिए ।

डेब्युमै विश्‍व कीर्तिमान

कुशल मैदानमा उत्रिएपछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटका सबैभन्दा कम उमेरका खेलाडी बने । उनलाई शनिबार नेपाली टोलीमा रोहितकुमार पौडेलको स्थानमा ल्याइएको थियो । उनै रोहितले सबैभन्दा कम उमेरमा एकदिवसीय क्रिकेटमा बनाएको अर्धशतकीय कीर्तिमानलाई पनि कुशलले उछिनिदिए । गत वर्ष दुबईमा यूएईविरुद्ध ५५ रन बनाउँदा रोहित १६ वर्ष १४६ दिनका थिए । कुशलले १५ वर्ष ३४० दिनका दिन अमेरिकासँग ५० रन बनाएर कीर्तिमान रचेका हुन् ।


रोहितको स्थानमा आएर रोहितकै कीर्तिमान भंग गर्दा कस्तो लाग्यो ? उनी गलल हाँसी मात्र रहे । इनरुवामा अघिल्लो महिना भएको एमएम कपमा त्रिभुवन आर्मी क्लबबाट खेल्दै उनले नेपाल एपीएफ क्लबविरुद्ध १११ रन बनाएका थिए । ‘मैले राम्रो गरेर भन्दा पनि अरूले बलिङ नराम्रो गरेकाले शतक बनाउन सकेको थिएँ,’ उनको त्यति बेला भनेका थिए ।


अमेरिकासँग यो इनिङ्स खेलेपछि आफूलाई राम्रै ब्याट्सम्यान हुँ भन्ने विश्वास कति लाग्यो भन्ने प्रश्नमा उनी कप्तान ज्ञानेन्द्र मल्लसँगै दिल खोलेर हाँसिरहे । उनी नेपाली टोलीले लय समात्न नसकिरहेका बेला ब्याटिङमा आएका थिए । जसले टोलीलाई ऊर्जा थियो । नेपालले ४९ रन बनाउँदा ५ विकेट गुमाइसकेको अवस्थामा ‘डेब्यु’ गरेका कुशलले डरविहीन इनिङ्स खेले, जसले २०२३ को विश्वकप छनोटको आधार रहेको लिग–२ मा नेपाललाई पहिलो विजय दिलायो । यो घरेलु मैदानमा नेपालको एकदिवसीय अन्तर्राष्ट्रियमा पहिलो विजय पनि हो ।


विश्व कीर्तिमानबारे आफूलाई केही थाहा नभएको जनाउँदै कुशलले भने, ‘यो मेरो पहिलो खेल थियो, नेपालबाट खेल्ने सपना थियो, त्यही सपना पूरा भएकाले पनि होला म आत्मविश्वासका साथ खेलिरहेको थिएँ । टिमका लागि रन बनाउनुपर्छ भन्नेमा थिएँ । टिमलाई राम्रो स्कोरमा पुर्‍याउन म कमजोर बलहरू पर्खिरहेको थिएँ ।’


अर्धशतक बनाएपछि प्रायः ब्याट्सम्यानले दर्शक र पेभेलियन रहेको आफ्नो टोलीलाई ब्याट उठाएर अभिवादन गर्छन् । पहिलो खेलमै अर्धशतक बनाए पनि कुशलले ब्याट उठाएनन् । ‘नेपालको स्कोर जम्मा १३० रन भएको थियो, आफ्नो अर्धशतक भयो भनेर के ब्याट उठाउनु जस्तो लाग्यो । शतक नै हान्छु जस्तो लागेर पनि अर्धशतक बनाउँदा ब्याट नउठाएको हुँ । ओभर धेरै बाँकी थियो, त्यही भएर शतक सोचिरहेको थिएँ,’ कुशलले कारण दिए ।


अमेरिकाका कप्तान सौरभ नेत्राभाल्करले पनि कुशलको इनिङ्सको प्रशंसा गरे । ‘कुशलले आक्रामक ब्याटिङ गर्दै बहादुरी इनिङ्स खेल्न खोजे, त्यसमा सफल भए । नेपाल दबाबमा हुँदा पनि उनले त्यस्तो इनिङ्स खेले,’ उनले भने, ‘उनी पक्कै प्रतिभाशाली खेलाडी हुन् ।’ कुशलको इनिङ्सपछि अमेरिकाको हातबाट खेल उम्कँदै गएको उनको बुझाइ थियो ।


प्रकाशित : माघ २६, २०७६ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?