कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पूर्वाधार उपयोगको चिन्ता

दुर्गालाल केसी

दाङ — आठौं राष्ट्रिय खेलकुदका महत्त्वपूर्ण खेलहरू दाङमा हुने भएपछि हतारहतार संरचना बने । महिला फुटबल र एथलेटिक्स खेलका लागि बेलझुन्डी रंगशाला रातारात निर्माण भयो । निर्माण पूरा नहुँदै खेलकुद प्रतियोगिता सकियो । अहिले पनि रंगशालाको निर्माण जारी छ ।

पूर्वाधार उपयोगको चिन्ता

गत वैशाखमा भएको राष्ट्रिय खेलकुदले जिल्लामा खेलको माहोल नै बेग्लै बनायो । राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलाडीहरू दाङमा जुटे । खेलकुद संरचना निर्माणमा करोडौं लगानी भयो । ती संरचना अब कसरी उपयोग र संरक्षण गर्ने भन्ने चिन्ता बढेको छ । बेलझुन्डीमा सिन्थेटिक प्यारापिटसहितको रंगशाला बनेपछि जिल्लामा खेलकुदको छुट्टै रौनक छाएको छ । रंगशाला निर्माणको काम नसकिए पनि अहिले निरन्तर विभिन्न खेलकुदहरू भइरहेका छन् ।

राष्ट्रिय खेलकुदको समयमा फुटबल मैदान, नाली, साधारण प्यारापिट र सेन्थेटिक एथलेटिक्स ट्र्याक निर्माण गरिएको थियो । भीआईपी प्यारापिट, खेलाडी चेन्जिङ रुम, बैठक रुम, भीआईपी तथा मिडिया घर र मैदानवरिपरि घेराबार निर्माणको काम अहिले चलिरहेको छ । गत असार ७ मा सम्झौता भएको रंगशाला निर्माणको समय गत मंसिर ८ मा सकिएको थियो । फेरि समय थप गरी जेठ मसान्तसम्म लम्ब्याइएको थियो । त्यतिबेलासम्म पनि काम नसकिएपछि अहिले फेरि चैतसम्म म्याद थपिएको छ । २४ करोड २४ लाख ४५ हजार २ सय ९३ रुपैयाँको लागतमा रंगशाला निर्माण भइरहेको छ । बेलझुन्डीको रंगशाला काठमाडौंको दशरथ रंगशालापछि सिन्थेटिक रनिङ ट्र्याक भएको दोस्रो ठूलो हो । सिन्थेटिक ट्र्याकमा लचकदार रबर हुने भएकाले खेलाडीलाई दौडन सजिलो हुन्छ । सिन्थेटिक ट्र्याक चार सय रनिङ मिटरको छ, जसमा एकसाथ आठ खेलाडी दौडन मिल्छ । रनिङ ट्र्याकभित्र १ सय ६ मिटर लम्बाइ र ६८ मिटर चौडाइको खेलकुद मैदान छ ।

आठौं खेलकुदका क्रममा यो रंगशालासहित जिल्लामा पहिलोपटक खेलकुदका धेरै ठूला संरचना निर्माण भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली डाँगीले बताए । ‘एकसाथ धेरै संरचना तयार भएका छन् । यसले खेल गतिविधिलाई धेरै सहयोग पुगेको छ,’ उनले भने, ‘जिल्लामा खेलका लागि पर्याप्त संरचना भइसकेका छन् । यसले खेलाडीलाई पनि उत्साह पुगेको छ ।’ संरचना बन्दै गर्दा दाङमा सात राष्ट्रिय खेल, आठ क्षेत्रीय खेल र पाँचवटा प्रदेश स्तरीय खेल भएको डाँगीले बताए । दाङले मध्यपश्चिम स्तरीय खेलमा प्रथम र प्रदेश स्तरीयमा दोस्रो स्थान हासिल गरेको उनले बताए । पछिल्लो चार वर्षमा मात्रै दाङमा खेलकुद संरचनाका लागि करोडौं लगानी भएको उनले बताए । विभिन्न ठाउँमा साना खेलकुद मैदान पनि बनेको डाँगीले जानकारी दिए । विभिन्न गाउँ र विद्यालयमा ५ देखि २५ लाखसम्मको लगानीमा खेलमैदान बनेको उनले बताए ।

खेलाडी उत्साहित

बेलझुन्डी रंगशाला बनेपछि एथलेटिक्स र फुटबल खेलमा धेरै नै सहजता भएको छ । नियमितजसो खेल खेल्न र विभिन्न प्रतियोगिता सञ्चालन गर्न रंगशालाले सहज बनाएको तुलसीपुरका एथलेटिक्स खेलाडी सिमान पाण्डेले बताए । १३ औं सागमा सहभागी पाण्डे आठौं राष्ट्रिय खेलकुदमा चार सय मिटरको रिलेमा प्रथम भएका थिए । नियमित अभ्यास र खेलकुद प्रतियोगिताका क्रममा रंगशाला उपयोग भइरहेको उनले बताए । ‘प्रतियोगिताहरू नियमित भइरहन सकेमा खेलाडीलाई थप हौसला हुने थियो । पहिले खेलमैदान थिएन । अहिले यस्तो व्यवस्थित रंगशाला बनेको छ,’ उनले भने, ‘यसले खेलकुदका लागि उत्साहजनक वातावरण निर्माण गरेको छ । नियमित खेलहरू हुन सकेनन् भने रंगशालाको प्रयोग हुन सक्दैन ।’

रंगशालालाई नियमित अभ्यास गर्नेभन्दा खेलकुद प्रतियोगिताका लागि मात्रै प्रयोग गर्नुपर्ने फुटबल संघका जिल्ला अध्यक्ष सुशील श्रेष्ठले बताए । ‘रंगशालामा नियमित प्रशिक्षण गर्दा दूबो मर्ने र अन्य संरचना बिग्रने समस्या हुन्छ । सधैँ प्रयोग गर्न सकिँदैन,’ उनले भने, ‘अभ्यास गर्ने अन्य मैदान हुनुपर्छ । यसका लागि हामीले आवाज पनि उठाइरहेका छौं ।’ रंगशाला भएपछि खेलाडीको मनोबल बढिरहेको श्रेष्ठले बताए । ‘खेलकुद संरचना हाम्रा गहना हुन् । यिनलाई कसरी बचाउने भन्ने चिन्ता हो,’ उनले भने, ‘जिल्लामा ठूला प्रतियोगिता सञ्चालन गर्न सकिन्छ । खेलका टिम बलिया हुँदै जान्छन् ।’ खेलकुद संघका कार्यालय पनि रंगशालामा राख्न सकेमा थप संरचना बन्ने र नियमित खेलका गतिविधि हुन सक्ने उनले बताए । ‘जिल्ला, प्रदेश र राष्ट्रिय स्तरका खेल सञ्चालन गर्न खेलकुदको नियमित प्रशिक्षणको वातावरण हुनुपर्छ,’ उनले भने, ‘गाउँगाउँमा सानातिना मैदानमा खेल्ने गरिएको छ । त्यस्ता मैदानमा उपयुक्त संरचना नहुँदा समस्या छ ।’ ग्रामीण भेगबाट कसरी खेलाडी तयार पार्ने भन्नेमा ध्यान दिइरहेको उनले बताए । यसका लागि हरेक स्थानीय तहमा खेलकुदका संरचना तयार हुनुपर्ने श्रेष्ठले बताए ।

राष्ट्रिय खेलकुद परिषद् र युवा तथा खेलकुद मन्त्रालयको वर्गीकरणमा दाङ क श्रेणीमा परे पनि खेलकुद संरचना र गतिविधिहरू सन्तोषजनक नभएको खेलाडी तथा खेलकुद पत्रकार मञ्चका जिल्ला अध्यक्ष लक्ष्मण बस्नेतले बताए । ‘आठौं राष्ट्रिय खेलकुदका क्रममा लमही, घोराही र तुलसीपुरको सहरी क्षेत्रमा केही संरचना बने पनि अधिकांश स्थानीय तहमा मापदण्डअनुसारका संरचना छैनन्,’ उनले भने, ‘खेलकुद विकासमा खेल संरचनाको ठूलो भूमिका हुन्छ तर बनेका संरचना पनि संरक्षणको पर्खाइमा छन् ।’ खेलाडीहरूको उत्साह बढाउन स्थानीय तहले मुख्य भूमिका निर्वाह गर्नुपर्ने बस्नेतले बताए । स्थायी तथा स्वयंसेवी प्रशिक्षकहरूको खोजी गरी नियमित प्रशिक्षण सञ्चालन हुनुपर्नेमा यसतर्फ कसैको चासो नगएको उनले बताए । ‘खेलका संरचनाले खेलाडीलाई उत्साहित बनायो तर खेलकुदका गतिविधि नै छैनन्,’ उनले भने, ‘बनेका संरचना पनि प्रयोगमा आउन नसक्नु विडम्बना हो ।’ खेलकुदको दीर्घकालीन योजना बनाएर काम गर्ने र खेलाडीको मनोबल उच्च राख्ने गरी नियमित खेल गतिविधि सञ्चालन गर्न सक्ने नेतृत्वको अभाव खड्किरहेको उनले बताए ।

संरक्षणको चिन्ता

राष्ट्रिय खेलकुदकै क्रममा लमहीस्थित क्रिकेट मैदानमा १ करोड लगानीमा दूबो रोप्ने, नाला बनाउने, प्यारापिट र चेन्जिङ रुम बनाउने काम भयो । अहिले पनि राष्ट्रिय खेलकुद परिषद्बाट एक करोड बजेट परेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । आठौं खेलकुदमा लमही क्रिकेट मैदानमा महिला क्रिकेट भएको थियो । पहिले मेला महोत्सव लाग्ने क्रिकेट मैदान खेल्नयोग्य भएको थियो । राष्ट्रिय खेलकुदका कारण पहिलोपटक जिल्लामा खेलकुद संरचना व्यवस्थित बनाउने अवसर मिले पनि यसको संरक्षणमा भने समस्या रहेको जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाले बताए । ‘वर्षौंदेखि अलपत्र परेका खेल मैदान खेल्नलायक भएका थिए तर यसको संरक्षणमा कसैको चासो भएन । संरचना संरक्षण गर्ने जिम्मेवार निकाय कोही भएन,’ उनले भने, ‘स्थानीय तहले पनि ध्यान दिएन । अन्य कुनै निकायले पनि चासो लिएको छैन । लमही क्रिकेट मैदानमा बनेका पिचहरू खेल्न नमिल्ने भइसकेका छन् ।’

एकैपटक ठूलो लगानी गर्ने, त्यसपछि कसैले चासो नदिने समस्या रहेको मजगैयाले बताए । ‘बनेका संरचना संरक्षणमा तत्कालै जिम्मेवार निकायले चासो दिनुपर्छ । खेलाडीहरूले मात्रै चासो दिएर भएन, संस्थागत संरक्षणको आवश्यकता छ,’ उनले भने, ‘बनेका संरचना संरक्षण हुन सकेनन् भने लगानी खेर जान्छ । त्यतिबेला बनेका सबै संरचना कसले संरक्षण गर्ने भन्ने अन्योल देखिन्छ ।’ राष्ट्रिय खेलकुदका क्रममा विभिन्न कभर्ड हल पनि बने । ५० लाखमा घोराहीको नवलपुरमा बास्केटबल कोर्ट बन्यो । १ करोड ८८ लाख रुपैयाँमा तुलसीपुरमा कराँते कभर्डहल तथा प्रशिक्षण भवन तयार भयो ।

तुलसीपुरको कभर्ड हल बन्दाबन्दै कराँते खेल भएको थियो । अहिले कभर्ड हलको अन्तिम काम सम्पन्न भइसकेको छ । अझै कम्पाउण्ड र प्यारापिट बनाउन बाँकी रहेको छ ।

आठौं खेलकुदमा घोराहीको कभर्ड हलमा टेबुलटेनिस र व्याडमिन्टन तथा घोराहीकै बास्केटबल कोर्टमा पुरुष र महिला बास्केटबल खेलहरू भएका थिए । संरचनाहरू तयार भए पनि नियमिति प्रतियोगिताहरू हुन नसकेको कराँते संघका जिल्ला अध्यक्ष हरि घर्तीले बताए । ‘संरचना बनेका छन् तर यति नै पर्याप्त छैनन् । भएका पनि राम्रोसँग उपयोग गर्न सकिएको छैन,’ उनले भने, ‘नियमित प्रतियोगिता नभएकाले भएका संरचनाले पनि उमंग थप्न सकेका छैनन् । प्रतियोगिताहरू भइरहन सकेमा मात्रै खेल संरचनाको उचित प्रयोग हुन्छ ।’

प्रकाशित : माघ २५, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?