कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

माइनस १० डिग्रीमा आइस क्लाइम्बिङ

आश गुरुङ

लमजुङ — मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्डेका कर्मा वाङदी गुरुङले आँखै अगाडि झरनामा हिउँ जमेको देखेको धेरै वर्ष भयो । वर्षायाममा उनी झरनामा पुगे पनि हिउँदमा भने कहिल्यै गएका थिएनन् । आफ्नै ठाउँमा ‘आइस क्लाइम्बिङ’ फेस्टिबल भएपछि उनी हेर्न गए । देशी विदेशीले हिउँको पहाड चढेको मात्रै हेरेनन् उनले । आफैं पनि चढे । ‘पहिले अलि डर लाग्यो । पछि एकदमै रमाइलो भयो,’ उनले भने, ‘यस्तो महोत्सव हाम्रै ठाउँमा भएको छ । हामी मनाङी पनि अघि सर्नुपर्छ ।’

माइनस १० डिग्रीमा आइस क्लाइम्बिङ

हुम्डेको पहाडमा जमेको हिउँमाथि केही दिनयता दैनिक ‘आइस क्लाइम्बिङ’ फेस्टिबल भइरहेको छ । अन्नपूर्ण हिमशृंखला अन्तर्गत समुद्री सतहको ३ हजार २ सय मिटरको हिउँचट्टान क्षेत्रमा दैनिक ४० देशीविदेशीले हिउँको झरना चढ्ने र ओर्लिने गरेका छन् । नेपाल क्लाइम्बिङ टिमका अध्यक्ष विनायकजय मल्लका अनुसार आइस क्लाइम्बिङ एउटा सहासिक खेल हो । माइनस १० डिग्रीको वातावरणमा २ जना विदेशीसहितले बिहान १० बजेदेखि अपराह्न साढे ३ बजेसम्म आइस क्लाइम्बिङ गरिरहेका छन् । दुई विदेशीमध्ये क्यानडाका महिला र अस्ट्रियाका पुरुष छन् । नेपाली सहभागीमा ३ महिला छन् ।


काठमाडौंबाट फेब्रुअरी १ तारिखमा हिँडेको टोली हुम्डेमा ३ तारिखमा पुगेका थिए । उनीहरूले मंगलबारदेखि आइस क्लाइम्बिङ थालेका थिए । फेस्टिबल ९ तारिखमा सकिनेछ । ‘यहाँ आइसक्लाइम्बिङ मात्रै होइन, स्कीका लागि पनि निकै सम्भावना रहेछ । हामी स्की पनि खेलिरहेका छौं,’ मल्लले भने । उनका अनुसार स्की प्रशिक्षक समीर थापाले सिकाइरहेका छन् । आइस क्लाम्बिङ सकिएपछि स्की खेलको मज्जा लिइरहेको उनले सुनाए । ‘स्कीमा स्थानीयलाई पनि जोड्ने हो । यसले महोत्सवको अपनत्व स्थानीयमा जगाउँछ,’ उनले भने ।


अन्नपूर्ण हिमशृंखलाबाट झरेको हिउँको झरनामा गत वर्ष पनि फेस्टिबल भएको थियो । आयोजक नेपाल पर्वतारोहण संघका अध्यक्ष शन्तवीर लामाले बताले नेपाल भ्रमण वर्ष २०२० को यो पहिलो साहसिक खेलको फेस्टिबले भएको दाबी गरे । फेस्टिबललाई नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक, नेपाल पर्वतारोहण प्रशिक्षक संघ लगायतले प्राविधिक सहयोग गरेको छ । फेस्टिबलमा आइस क्लाइम्बिङ कोर्ष, फोटोग्राफी, एडभेन्चर फिल्म प्रदर्शनी, स्थानीयका संस्कृति प्रदर्शन गरिनेछ ।


मल्लका अनुसार अन्नपूर्ण हिमशृंखलाको अन्नपूर्ण दोस्रो र तेस्रोबाट बाग्ने १५ वटा बढी झरनामा आइस क्लाम्बिङ गर्न सकिन्छ । ५ सयदेखि १ हजार मिटर उचाइको ६० देखि १ सय डिग्री उचाइसम्मका झरनामा क्लाइम्बिङ गर्न सकिन्छ । ती झरना ३ देखि ५ स्तर (डब्लूआई ३ देखि डब्लूआई ५ सम्म) रहेको छ । प्रशिक्षकहरूका अनुसार डिसेम्बर तेस्रो सातादेखि मार्च दोस्रो सातासम्म यी झरनाहरू आइस बन्ने भएकाले क्लाइम्बिङ गर्न सकिन्छ ।


अन्तर्राष्ट्रिय पथप्रदर्शक पर्वतारोहण प्रशिक्षक प्रेम गुरुङका अनुसार हुम्डे क्षेत्रमा आइस क्लाम्बिङका तालिमहरूसमेत हुँदै आएको छ । ‘आइस क्लाम्बिङ गर्न, यसको आधारभूत तथा एडभान्स तालिमका लागि हुम्डे गन्तव्य हो,’ उनले भने । उनका अनुसार हिउँ बन्चरो, क्रम्पन, डोरी, जुत्ता, हेल्मेटको प्रयोग गरी आइस क्लाइम्बिङ गरिन्छ । यसमा लिड, मल्टिपिच, मिक्स गरी ३ प्रकारले चढ्न सकिने उनले बताए । काठमाडौंबाट गाडीमा एकैदिनमा पुगिने भएकाले पनि हुम्डे क्षेत्र आइस क्लाइम्बिङ गर्ने, हेर्ने र तालिम लिनेका लागि प्रभावकारी र उपयुक्त गन्तव्य मानिन्छ ।

प्रकाशित : माघ २३, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?