२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

प्रथम पञ्‍चकन्या चेयरमेन कप शनिबारदेखि

कृष्ण थापा

नुवाकोट — पञ्‍चकन्या गाउँपालिकामा शनिबारदेखि 'प्रथम पञ्‍चकन्या चेयरमेन कप भलिबल प्रतियोगिता' सुरु हुँदै छ ।स्थानीयस्तरमा खेल प्रवर्द्धन र खेलाडी पहिचान गर्ने उद्देश्यले पञ्‍चकन्या गाउँपालिकाको आयोजनामा भलिबल प्रतियोगिता हुन लागेको हो ।

प्रथम पञ्‍चकन्या चेयरमेन कप शनिबारदेखि

खेल सोही गाउँपालिकाको वडा नम्बर २ मा रहेको कालिका मावि मिश्रगाउँमा हुनेछ ।


गाउँमा लुकेका खेलाडी पहिचान गरी उनीहरुको क्षमता विकासका लागि भलिबल प्रतियोगिता गर्न लागिएको पञ्‍चकन्या गाउँपालिका प्रमुख तेजबहादुर तामाङले बताए । ‘गाउँ–गाउँमा रहेका खेलाडीको खोजी गरेर खेलाडी उत्पादन गरी खेलको विकास गर्छौं,’ उनले भने ।


प्रमुख तामाङका अनुसार माघ २८ गतेसम्म सञ्‍चालन हुने प्रतियोगिता उद्घाटन शनिबार दिउँसो पूर्वप्रधानमन्‍त्री एव‌ं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले गर्नेछन् । त्यस्तै खेल समापनमा भने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल सहभागी हुने कार्यक्रम छ ।


प्रतियोगिता तयारीका लागि गाउँपालिका अध्यक्षको संयोजकत्वमा मूल आयोजक समिति, उपाध्यक्ष सीता खड्‌काको नेतृत्वमा अतिथि सत्कार र वडाध्यक्षहरुको नेतृत्वमा प्रचारप्रसार, मञ्‍च व्यवस्थापन लगायत उपसमितिहरु बनाइएको छ । प्रचारप्रसार उपसमिति सं‌योजक एवं वडा नम्बर १ का अध्यक्ष मणिनाथ लामिछानेले तयारी करिब अन्तिम चरणमा पुगेको जानकारी दिए । उनका अनुसार टिम दर्ताको लागि बुधबार अन्तिम समयसीमा हो । १२ वटा स्थानीय तह रहेको जिल्लाका तादी, दुप्चेश्वर, बेलकोटगढी, लिखुबाट खेलाडी सहभागी हुने निश्‍चित भइसकेको आयोजकले जनायो ।


प्रतियोगितामा प्रथम हुनेलाई शिल्ड, प्रमाणपत्रसहित नगद १ लाख, द्वितीयलाई ७५ हजार र तृतीय हुनेलाई ५० हजार रुपैयाँ पुरस्कार दिइने छ । चेयरमेन कपमा २५–३० लाख रुपैयाँ बजेट लाग्ने अनुमान आयोजकको छ ।


खेल व्यवस्थापनका लागि मंगलबार पालिकाभित्रका संघसंस्था, विद्यालय, क्याम्पसका प्रतिनिधिहरुसँग सामूहिक छलफल गरिएको थियो । सहभागीहरुले गाउँपालिकाकै पहिचान र प्रतिष्ठा रहेको भलिबल प्रतियोगितालाई सफल पार्न सहयोग गर्ने प्रतिबद्धता जनाएका स्थानीय क्लब पञ्‍चकन्या जनकल्याण युवा समाजका कोषाध्यक्ष रामहरि भण्डारीले जानकारी दिए । छलफलमा विभिन्‍न संघ संस्थाले खेलाडीको आवासका लागि म्याटिस्, कम्बल, कार्यक्रम व्यवस्थापनका लागि स्वागतद्वार निर्माण, यातायातको सुविधा उपलब्ध गराउने घोषणा गरेका थिए ।

प्रकाशित : माघ २२, २०७६ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?