आउँदै छन् क्रिस गेल

विनोद पाण्डे

काठमाडौँ — विश्व क्रिकेटका ठूला स्टार हुन्– क्रिस गेल । यी महान् ब्याट्सम्यान कुनै दिन नेपाली क्रिकेट लिग खेल्न नेपाली भूमिमै आउलान् भन्ने सायदै ठानिएको थियो तर यो सम्भव भएको छ । अबको एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा नेपाली क्रिकेटप्रेमीले गेलका ‘विस्फोटक’ ब्याटिङ प्रत्यक्ष आत्मसात् गर्दै खुसीले चिच्याउनेछन्– ‘छक्का...!’

आउँदै छन् क्रिस गेल

गेलले सबै संरचनाको क्रिकेटमा गरी ५९ हजारभन्दा बढी रन बनाएका छन् । उनी ईपीएलमा पोखरा राइनोजबाट खेल्ने भएका हुन् । वेस्ट–इन्डिजका पूर्वकप्तान गेललाई ट्वान्टी–२० का महान् ब्याट्सम्यान मानिन्छ । टेस्ट, एकदिवसीय र ट्वान्टी–२० मा गरी उनका नाममा धेरै कीर्तिमान छन् । इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेंग्लोरबाट खेल्दै उनले ३० बलमा शतक बनाउनुका साथै पुने वारियर्सविरुद्ध २०१३ मा १ सय ७५ रन बनाएका थिए, जुन ट्वान्टी–२० को व्यक्तिगत उच्च स्कोर पनि हो । एक भिडियो सन्देशमा उनले आफूलाई विश्वका प्रमुख र ट्वान्टी–२० को राजा भन्दै आफू नेपाल आएर ईपीएल खेल्न लागेको जनाएका छन् । ‘गेलको विस्फोटक ब्याटिङका लागि नेपाल तयार भएर बस्नु, यो निकै उत्साहजनक हुनेछ । नेपालमा चाँडै भेटौंला,’ उनले भनेका छन् ।


यसपल्ट ईपीएल खेल्न आउने गेलमात्र ठूला नाम होइनन् । वेस्ट–इन्डिजकै ड्वान स्मिथ भैरहवा ग्लाडियटर्सबाट, श्रीलंकाका उपुल थाराङ्गा ललितपुर प्याट्रियट्सबाट र अफगानिस्तानका मोहम्मद सहजाद चितवन टाइगर्सबाट खेल्ने निश्चित भइसकेको छ । दक्षिण अफ्रिकाका हसिम अमलालगायतका विश्व स्टारको नाम यसपल्टको ईपीएलमा जोडिएको छ ।


‘क्रिस गेल पोखरा राइनोजबाट खेल्न लागेका छन्,’ पोखरा राइनोजकी मालिक दीपा अग्रवालले भनिन्, ‘गेल नेपाल आएर मेरो टोलीबाट खेल्न लागेका छन् भन्नेमा अझै मलाई पत्याउन मुस्किल परिरहेको छ ।’


गेल ईपीएल खेल्न इच्छुक भएलगत्तै आफूहरूले एकदमै चाँडो निर्णय गरेका कारण उनलाई भित्र्याउन सफल भएको अग्रवालले बताइन् । ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले विदेशी खेलाडीका हकमा आफूहरूले एउटा बास्केट बनाएर टिमलाई दिएको र त्यसमा गेलका लागि पोखरा राइनोजले तुरुन्तै निर्णय गरेको जनाए । अख्तरले गेल ईपीएलभन्दा विशेष भएको जनाउँदै उनलाई ईपीएलमा ल्याउनका लागि ६ महिनासम्म प्रयास गरिएको सुनाए । ६ फ्रेन्चाइज टोली समावेश ईपीएल मार्च १४ बाट २८ सम्म हुनेछ । त्यसमा हरेक टोलीले टेस्ट खेल्ने राष्ट्रका एक स्टार खेलाडी लिनुपर्ने नियम छ । पोखराले बिहीबार ४० वर्षे गेललाई आइकोनिक खेलाडीका रूपमा घोषणा गरेको हो । गत वर्ष दक्षिण अफ्रिकाका रिचर्ड लेभीलाई खेलाए पनि पोखरा पुछारमा रहेको थियो ।


गेलको पारिश्रमिक भने खुलाइएको छैन । तर गेलको भिडियो र फोटो ईपीएलले पछिसम्म प्रवर्द्धन गर्न पाउनेछ । विदेशी खेलाडीका लागि श्रम स्वीकृति अनिवार्य गरिएको र त्यसका लागि कदम चालिसकेको अख्तरले जानकारी गराए ।


एउटा टोलीले लिग चरणमा ५ खेल खेल्नुपर्छ । गेलले २ वा ३ मात्र खेल्न सक्छन् । ‘गेल मार्च १२ मा आउनेछन् र कति समयका लागि हो भन्ने निश्चित छैन । उनी यहाँबाट सिधै आईपीएल खेल्न जानेछन् । आईपीएलको तालिका अझै नआइसकेकाले उनले ईपीएलमा कति खेल्ने टुंगो लागेको छैन,’ अख्तरले भने । आईपीएलमा गेल किंग्स–११, पन्जाबबाट खेल्दै छन् । आईपीएल मार्च २९ बाट मे २४ सम्म आयोजना हुँदै छ ।

प्रकाशित : माघ १६, २०७६ १४:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?