३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बलिया दुई विपक्षीसामु नेपाल

‘हामी पहिलोपल्ट एकदिवसीय अन्तर्राष्ट्रियको लिगमा छौं । विश्वकप छनोटको यात्रा पनि भएकाले पहिला जस्तो सजिलो छैन यो । टिमहरु पनि उत्तिकै राम्रा छन् ।’
विनोद पाण्डे

काठमाडौँ — नेपाल र अमेरिका एक समय क्रिकेटमा चिरप्रतिद्वन्द्वी जस्तै थिए । दुवै टोलीलाई एकअर्का माथि जित हात पार्नुलाई ठूलो सफलता हुन्थ्यो । एकखाले प्रतियोगिता नै जिते जस्तै आभाष हुन्थ्यो । हुन पनि नेपाल र अमेरिकाको खेलले त्यो प्रतियोगिताको शीर्षता निर्क्योल गर्थ्यो ।

बलिया दुई विपक्षीसामु नेपाल

कीर्तिपुरस्थित त्रिवि मैदानमा माघ २२ देखि आईसीसी विश्वकप क्रिकेट लिग २ सुरु हुँदा नेपाल र अमेरिकाबीचको प्रतिद्वन्द्विता पुनः ब्युँतिने छ । यी दुई टोली ६ वर्षपछि ५० ओभरको प्रतियोगितात्मक खेलमा प्रतिस्पर्धा गर्न गइरहेका छन् । नेपाल र अमेरिकासँगै लिग २ मा ओमान पनि छ, जुन नेपालको अर्को नियमितकै प्रतिद्वन्द्वी हो ।


सन् २०१४ मा अमेरिकालाई पराजित गरी विश्व क्रिकेट लिगको डिभिजन ३ बाट माथि उक्लेसँगै नेपालले विश्वको शक्तिशाली राष्ट्रसँग आधिकारिक प्रतियोगितामा खेल्नुपरेको छैन । विगतमा डिभिजन ५, डिभिजन ४ मा नेपाल र अमेरिकाबीचको खेल निकै प्रतिस्पर्धात्मक बन्थ्यो । त्यसयता नेपाल उकालो लागिरह्यो भने अमेरिका झर्दै डिभिजन ४ मै पुग्यो । केही वर्षयता अमेरिका उल्लेखनीय प्रगति गरी नेपाललाई पछ्याउँदै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्र बन्यो । सोही कारण अहिले अमेरिका र नेपालको भेट सम्भव भएको हो ।


अमेरिकाले लिग २ मा उत्कृष्ट सुरुआत गरेको छ । ८ मध्ये ६ खेल जितेर अमेरिका शीर्षस्थानमा छ । ओमानले २ खेल आफ्ना राजा सुल्तान काबुस बिन साइद अल साइदको निधनका कारण खेल्न पाएन । त्यसका बावजुत ८ खेलमा ४ विजयसहित ओमान २०२३ को विश्वकप छनोट आधार रहेको यस प्रतियोगिताको चौथो स्थानमा छ । नेपालले लिग २ मा पहिलो खेल खेल्न लागेको हो । त्यति मात्र नभई नेपाल पहिलोपल्ट घरेलु भूमिमा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लाग्दैछ । ‘लिग २ लाई लिएर हामी निकै उत्साही छौं, खेलहरू हाम्रो मैदानमै भइरहेको छ । कीर्तिपुर मैदानमा खेल्नु एउटा सपना जस्तो हो । घरेलु मैदानमा पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल्न लागेकाले त्यसै उत्साही छौं,’ नेपालका कप्तान ज्ञानेन्द्र मल्लले भने । १० वर्षदेखि नेपालको नेतृत्व गरेका पारस खड्काको कप्तानबाट राजीनामा दिएपछि ३ महिनाअघि ज्ञानेन्द्रको काँधमा जिम्मेवारी आएको थियो । उनको कप्तानीमा नेपालले एसीसी इमर्जिङ नेसन्स कप र १३ औं दक्षिण एसियाली खेलकुदमा प्रतिस्पर्धा गरेको थियो । लिग २ नेपालले खेल्न लागेको अहिलेसम्मकै ठूलो प्रतियोगिता हो । त्यसको जिम्मेवारी ज्ञानेन्द्रको काँधमा छ ।



त्यसमा प्रतियोगितामा उत्कृष्ट सुरुआत गरिरहेको अमेरिका र ओमानसँग नेपालले खेल्नुपर्नेछ । ‘हामी पहिलोपल्ट एकदिवसीय अन्तर्राष्ट्रियको लिगमा छौं । विश्वकप छनोटको यात्रा पनि भएकाले पहिला जस्तो सजिलो छैन यो । टिमहरू पनि उतिकै राम्रा छन् । एकदिवसीय अन्तर्राष्ट्रिय लिग खेलिरहेका टिमहरू छन् । विपक्षीहरू बलिया छन् । राम्रो टिमसँग खेल्दै गएपछि हामीले भन्दै आएको टेस्ट मान्यताको लक्ष्यमा पुग्न सकिन्छ,’ ज्ञानेन्द्र कप्तानी चुनौती स्विकार्छन् ।


नेपालले पोखरामा मलेसियासँग ५० ओभरको तीन अभ्यास खेल खेल्दै लिग २ को तयारी गरेको हो । पोखराको प्रशिक्षण राम्रै भएको र मलेसियासँगको खेलले खेलाडीमा अभ्यास खेलको अनुभव गराएको ज्ञानेन्द्र बताउँछन् । उनले पोखरा र कीर्तिपुरको विकेट अलिक फरक भएकाले अहिले कीर्तिपुरको विकेटमा अभ्यस्त हुन तयारी भइरहेको बताए । अमेरिका भने नेपाल र ओमानसँगको खेल तयारीलाई लिएर एक साताअघि भारतको मुम्बई आएको छ । टोलीले त्यहाँ मुम्बई क्रिकेट संघको पहलमा तीन अभ्यास खेल खेल्दै छ । ‘अमेरिका र ओमान अहिले अंकतालिकामा माथि छन् । अमेरिकाको टोलीमा वेस्ट इन्डिज र दक्षिण अफ्रिकामा खेलेका खेलाडी समावेश छन् । अमेरिका अहिले अनुभवी टोली हो, राम्रो पनि गरिरहेको छ । पहिला अमेरिकासँग खेल्दाको जस्तो सजिलो हुँदैन,’ कप्तान ज्ञानेन्द्रले भने, ‘ओमानले पनि १–२ वर्षदेखि धेरै राम्रो क्रिकेट खेलिरहेको छ । उनीहरू पनि धेरै राम्रा छन् । उनीहरूले राम्रो टोलीलाई हराउँदै आएका छन् । चुनौती निश्चय पनि छ । राम्रो क्रिकेट खेल्ने र अगाडि बढाउने हो भने बलियो टिमलाई नै हराउनुपर्छ ।’ नेपालका प्रशिक्षक उमेश पटवाल पनि अमेरिका र ओमानलाई उत्कृष्ट विपक्षीको संज्ञा दिन्छन् ।


अनुभवीको ठाउँमा नयाँ

नेपाली टोलीमा अनुभवी खेलाडी वसन्त रेग्मी र सोमपाल कामी छैनन् । देव्रेहाते भेट्रान स्पिनर वसन्त पारिवारिक कारण र सोमपाल चोटका कारण लिग २ मा उपलब्ध हुन सकेनन् । उनीहरूको स्थानमा कमलसिंह ऐरी, अविनाश बोहरा र कुशल मल्ललाई ल्याइएको छ । तीव्र गतिका बलर कमलले नेपालबाट ‘डेब्यु’ गर्न बाँकी नै छ । अविनाश र कुशलले पनि नेपालबाट ५० ओभरको खेल खेलेका छैनन् । गत वर्ष नेपालले दुबईमा यूएईसँग तीन ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखला जित्दा ६ विकेट लिँदै अविनाश म्यान अफ द सिरिजमा चुनिएका थिए ।


वसन्त र सोमपालको नहुनुको विषयमा कप्तान ज्ञानेन्द्र अनुभवी खेलाडीको अभाव जहिल्यै हुने जनाउँछन् । ‘उनीहरूको अनुभव गेम अवस्था अनुसार जहिल्यै पनि काउन्ट हुन्छ । विभिन्न कारणले उनीहरूलाई हामीले गुमाइरहेका छौं । त्यो सँगसँगै एउटा अवसर के हो भने नेपाल क्रिकेटबारे सोच्नुपर्दा बेन्च स्ट्रेन्थ जहिले पनि राम्रो हुनुपर्छ । विकल्प जहिल्यै हुनुपर्छ । नयाँ खेलाडी आउँदा बेन्च स्ट्रेन्थका लागि काम लाग्छ । नयाँ खेलाडीले राम्रो गर्छन् भनेर टिममा राखिएको छ,’ ज्ञानेन्द्रले नयाँ र पुराना खेलाडीको समिश्रण गर्दै भने, ‘नयाँ खेलाडीको क्षमता कसरी प्रयोग गर्ने त्यसमा उनीहरूको प्रदर्शन देखिन सक्छ ।’


प्रशिक्षक पटवाल नयाँ खेलाडीले मिहिनेत गरिरहेकाले खेल्न पाउने अवसर पाएको र आफूलाई प्रमाणित गर्ने राम्रो मौका हुने बताउँछन् । वसन्त र सोमपाल कत्तिको ‘मिस’ होला भन्ने प्रश्नमा पटवालले आफ्नै शैलीमा भने, ‘मलाई मिसिङ हुन्छ जस्तो लाग्दैन । सही समयमा प्रदर्शन देखाउनु मुख्य हो । हामीले ४–० ले जित्यौं भने कसैले सोमपाल (कामी) मिस भयो भनेर भन्ने छैनन् । हामीले केही खेल गुमायौं भने सोमपाल नभएको अनुभव हुन्छ ।’


ओपनिङ जोडी

कप्तान ज्ञानेन्द्रले आफैं ओपनिङ ब्याटिङ गर्ने निश्चित भएको छ । तर उनको जोडी को हुने भनेर टुंगो लागिसकेको छैन । टिम व्यवस्थापनले पनि यसबारे खुलेर केही जनाएको छैन । जो जहाँबाट खेले पनि नेपाललाई जिताउँ भन्ने नै हो भनेर ज्ञानेन्द्र टिमको ब्याटिङ संरचना खुलाउन चाहँदैनन् । गत वर्ष दुबईमा यूएईसँग एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेयता नेपालले पहिलोपल्ट ५० ओभर खेल्न लागेको हो । दुबईमा ज्ञानेन्द्रले विनोद भण्डारीसँग ओपनिङ गरेका थिए । ‘टिम व्यवस्थापन सबै बसेर ओपनिङबारेमा छलफल गर्ने हो । अहिले मैले र पारसले निरन्तर ओपनिङ गरिरहेको छु ।



विनोदले गर्न पनि सक्छन् नगर्न पनि,’ ज्ञानेन्द्र फेरि ओपनिङ ब्याटिङबारे खुलेनन् । नेपाली टोलीका दुई अनुभवी पारस र ज्ञानेन्द्र ओपनिङ ब्याटिङ जोडी बन्ने सक्ने छनक प्रशिक्षणमा पनि देखिन्छ । प्रशिक्षक पटवाल पनि घुमाउरो पारामा यही संकेत गर्छन् ।


‘मैले कसैलाई ब्याटिङमा अपग्रेड गर्ने होइन । टिममा केहीमात्र ब्याट्सम्यान छन् जो ५० ओभर खेल्न सक्छन् । हामी तिनीहरूबाटै ओपनर छान्ने छौं,’ पटवालले भने ट्वान्टी २० मा नेपालबाट ओपनिङ गर्दै आए पनि पारसले एकदिवसीयमा ओपनिङ गरेका छैनन् । पछिल्लो दुई वर्ष पारसले आफ्नो ब्याटिङ क्रम परिवर्तन गर्दै चौथोबाट माथि उठेर तेसो नम्बरमा खेल्दै आएका थिए । पारसले टिमले चाहे आफू जुनसुकै नम्बरमा पनि ब्याटिङ गर्न तयार रहेको बताइसकेका छन् ।

प्रकाशित : माघ १६, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?