कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिभरपुलको ध्यान जित केन्द्रित

एएफपी

लन्डन — लिभरपुलको काम उस्तै छ । इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा रहन टोलीले त्यसमै ध्यान केन्द्रित गर्दै छ । अरू टिम भने धेरै पछाडि छन् । लिभरपुलले लगातार १५ औं जितको प्रयासमा बुधबार राति लन्डन स्टेडियमको भ्रमणमा निस्कने छ । टोलीले सामना गर्नेछ वेस्ट ह्यामको । यसअघि सारिएको खेल अब हुन लागेको हो । यसबीच लिभरपुल भने आफ्नो क्लब इतिहासमै सबैभन्दा उत्कृष्ट समयबाट गुज्रिइरहेको छ ।

लिभरपुलको ध्यान जित केन्द्रित

लिभरपुलले यस सिजनका २३ खेलमध्ये २२ मा जित निकालेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा १६ अंकले अगाडि छ । डिफेन्डिङ च्याम्पियन रहेको सिटीकै नाममा लगातार १८ लिग जितको कीर्तिमान छ । यसलाई तोड्न सबैभन्दा बलियो प्रत्याशी मर्सिसाइड क्लब नै रहेको छ । उल्भसमाथि प्राप्त २–१ को जितयता लिभरपुल लिगमा लगातार ४० खेलयता अपराजित छ । ‘अहिले मेरो ध्यान लिग उपाधिमा पक्कै पनि छैन,’ व्यवस्थापक योर्गन क्लोपले दाबी गरेका छन् ।


उनको भनाइ हो, लिभरपुलको तत्कालको उद्देश्य आफ्नोसामु रहेको खेल जित्नेमात्र हो । ‘हामी जित्नेक्रम जारी राख्नेछौं, जति बेला उपाधि हात पार्नेछ, त्यही दिनसम्म कुरौं,’ क्लोप मान्छन् । उल्भसविरुद्धको खेलमा सुरुमा जोर्डन हेन्डरसनले गोल गरे । उनकै सहयोगी भूमिकामा रोबर्टो फिर्मिनोले विजयी गोल गरे । यी दुई गोलको बीचमा लिभरपुलले डिसेम्बरमा एभरटनविरुद्ध गोलको अवसर दिएयता पहिलो गोल खाएको थियो ।


लिगमा राम्रो खेलिरहे पनि लिभरपुल एफए कपमा सप्ताहन्तमा स्रुसबरीसँग २–२ को बराबरीमा रोकिएको थियो । अर्को लेगको खेल एनफिल्डमा हुनेछ । क्लोपले फेब्रुअरी ४ मा हुने दोस्रो लेगको खेलमा आफ्नो पहिलो रोजाइका कोही पनि खेलाडीलाई नखेलाउने बताइसकेका छन् । वेस्ट ह्यामविरुद्ध भने उपयोगी साडियो माने उपलब्ध हुने छैनन् । सबै प्रतियोगितामा १३ गोल गरिसकेका माने चोटग्रस्त छन् । उनको स्थानमा जापानी मिडफिल्डर ताकुमी मिनामिनोले मौका पाउन सक्नेछन् ।


वेस्ट ह्याम आफैं भने खराब लयबाट गुज्रिइरहेको छ । टिम रेलिगेसनको ठीक माथि १७ औं स्थानमा छ । ठीक पछाडि रहेका बर्नमाउथ र वाटफोर्डसहित तीनै टिमको समान २३ अंक छ । त्यसैले वेस्ट ह्यामका लागि जित निकै अनिवार्य छ । उसका लागि यो स्थितिमा लयमा रहेको लिभरपुलको सामना उपयुक्त अवसर नहुन सक्छ । ‘लिभरपुल निकै बलियो छ, त्यसैले उसकाविरुद्ध राम्रो खेल्नुबाहेक अर्को विकल्प छैन,’ मिडफिल्ड मार्क नोबल मान्छन् ।

प्रकाशित : माघ १५, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?