‘ए’ डिभिजन लिग : शीर्षमा आर्मीको पुनरामगन

काठमाडौँ — प्रतिस्पर्धात्मक खेलमा जावलाखेल युथ क्लबमाथि १–० गोलको जित पाएसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लब कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा पुनरागमन गरेको छ । आर्मीलाई ३ अंक दिलाउन कप्तान भरत खवासले दोस्रो हाफमा गरेको गोल निर्णायक बन्यो ।

‘ए’ डिभिजन लिग : शीर्षमा आर्मीको पुनरामगन

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा अधिकांश समय उपाधि दाबेदार आर्मीलाई जावलाखेलले रक्षात्मक बनाइदिएको थियो । राष्ट्रिय टोलीका खेलाडी बाहुल्य रहेको आर्मीका खेलाडीबीच तालमेल नमिलेको अवस्थामा जावलाखेलले पाएका केही अवसरमा खेर फाल्यो ।


यो जितले लिगमा ४ खेल बाँकी हुँदा आर्मीले शीर्षस्थानमा १ अंकको अग्रता बनाएको छ । ९ खेलबाट ६ जित र २ बराबरीले आर्मीसँग २० अंक भएको छ । दोस्रो स्थानको मछिन्द्रको समान स्थितिमा १९ अंक छ । अघिल्लो सिजनको लिगमा अन्तिम दुईभित्र परेपछि यसपल्टको लिगमा मछिन्द्र १ अंकको कारबाहीमा परेको छ । ९ खेलबाट १२ अंकसहित जावलाखेल लिगको सातौं स्थानमा छ । शीर्ष ६ भित्र पर्ने उसको लक्ष्य कठिन बनेको छ ।

जितपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले मध्यपंक्ति र अग्रपंक्तिबीचको तालमेल हुन नसक्दा अधिकतम अवसर सिर्जना गर्न आफ्नो टिम चुकेको स्वीकारे । ‘हामी ३ अंक लिनका लागि आएका थियौं । त्यो पूरा भयो । लिग उपाधिको दौडमा एउटा चरण पूरा गरियो । यसैगरी बाँकी ४ चरणमा अनुकूल नतिजा निकाल्नुपर्नेछ,’ मंगलबारको खेलबारे प्रशिक्षक न्यौपानेले भने, ‘आज मिडफिल्डबाट बल राम्रोसँग सप्लाई हुन सकेन । हाम्रा खेलाडीले तीव्र गतिमा खेलेका थिए, त्यसैले पनि धेरै मिसपास भए । भरतले एक्लो प्रयासमा गोल गर्न सके, भाग्यवशस हामीले जित्यौं ।’


‘अहिलेसम्म हामीले ३ गोलमात्र खाएका छौं । यसर्थमा हाम्रो रक्षापंक्ति बलियो छ । तर आजको खेलमा हाम्रा गोलरक्षक विकेश कुथु धेरै व्यस्त हुनुपर्‍यो । उनले धेरै राम्रा बचाउहरू गरे,’ उनले थपे ।

जावलाखेलका प्रशिक्षक नरेश थापाले रणनीतिअनुसार खेले पनि गोल गर्न नसक्दा अंक गुमाउनुपरेको बताए । ‘राष्ट्रिय टिमका खेलाडीले भरिएको बलियो टोलीविरुद्ध हामीले रक्षात्मक खेल्ने र काउन्टर एट्याकमा गोल गर्ने रणनीति बनाएका थियौं । त्यसअनुसार दुवै हाफमा केही अवसर पनि निस्कियो । तर गोल गर्न सकिएन,’ उनले भने, ‘हामीले कम्तीमा १ अंक खोस्ने प्रयास थियो । त्यसो हुन नसक्दा कठिन भएको छ । तर शीर्ष ६ भित्र पर्ने प्रयास जारी राख्नेछौं ।’


खेलको ११ औं मिनेटमै आर्मीले अग्रता बनाउने अवसर खेर फालेको थियो । टंक बस्नेतको क्रसमा बक्सभित्र अनमार्क नवयुग श्रेष्ठले बल नियन्त्रण गर्न असफल भए । पहिलो हाफमै जावलाखेलले पनि गोलको उत्कृष्ट अवसर खेर फालेको थियो । सुजित बुढाथोकीको क्रसमा फोडे फोफानाको प्रहारमा आर्मीका गोलरक्षक विकेश बिट भइसक्दा जावलाखेलका अर्का स्ट्राइकर ड्याडी जुनियरको खुट्टामा लाग्दा गोललाइनबाट बल आउट भएको थियो ।

दोस्रो हाफमा जावलाखेलले थप ३ अवसर पायो । ६६ औं मिनेटमा रुपबहादुर लामाले बक्सबाहिरबाट गरेको सशक्त प्रहार विकेशले पन्च गरेर क्लियर गरिदिए । ७१ औं मिनेटमा सीमान्त थापाको प्रहार क्रसबार नजिकैबाट बाहिरियो ।


त्यसको तीन मिनेटपछि आर्मीले अग्रता बनायो । मध्यक्षेत्रबाट सन्तोष तामाङले दिएको लामो पास सदुपयोग गरी कप्तान भरतले बक्सभित्रबाट पहिलो बार च्याप्दै प्रहार गरेको भली जावलाखेलका दोस्रो रोजाइका गोलरक्षक अरुण ब्लोनको ठीक माथिबाट आकर्षक गोलमा परिणत भयो । त्यसयता ८५ औं मिनेटमा दिलेन लोक्तानको कर्नरमा अडमा डोउम्बियाको हेड आर्मीका सेसेहाङ आङदेम्बेले गोललाइनबाट क्लियर गरेपछि जावलाखेलको बराबरी अवसर चुक्यो ।

सरस्वतीको नाटकीय जित


पहिलो खेलमा तालिकाको पुछारमा रहेको सरस्वती क्लबले हिमालयन शेर्पामाथि ४–३ गोलको नाटकीय जित निकालेको छ । लिगको ८ चरणसम्म सरस्वतीले २ गोलमात्र गरेको थियो । तर मंगलबार एउटै खेलमा ४ गोल गर्न सफल भयो । लिगमा सरस्वतीको यो पहिलो जित पनि हो । ९ खेलबाट टोलीसँग ४ अंक छ । शेर्पाको समान खेलबाट ७ अंक छ र पुछारबाट तेस्रो स्थानमा छ ।

खेलपछि पराजित टिमका प्रशिक्षक सन्जीव बुढाथोकीले आफ्ना खेलाडीले फितलो प्रदर्शन गरेको स्वीकारे । ‘आज हाम्रा लागि जित्नैपर्ने खेल थियो । आज हामीले खेल्न सकेनौं । सबैले आ–आफ्नो जिम्मेवारी निभाउन सकेका छैनन् । खोइ, आज खेल्न नसकेको हो कि निकै फितलो देखियो,’ खेल मिलेमतोको शंकाबारे सोधिएको प्रश्नमा बुढाथोकीले भने, ‘यसको अनुसन्धान गर्ने जिम्मा तपाईंहरूकै हो ।’


पहिलो जितपछि सरस्वतीका प्रशिक्षक प्रदीप नेपालले भने आफ्ना खेलाडीले शतप्रतिशत प्रदर्शन गरेकोमा खुसी व्यक्त गरे । उनले भने, ‘आज हामीलाई ३ अंक आवश्यक थियो । मैले मेरा खेलाडीलाई आज जितिएन भने रेलिगेसनमा जान्छौं भनेको थिएँ । हामी दबाबमा थियौं तर खेलाडीले शतप्रतिशत खेले । दुवै टिमका लागि यो खेल जित्नैपर्ने भएकाले हाइस्कोरिङ भएको हो ।’

सरस्वतीले पाँचौं मिनेटमै गोलको खाता खोलेको थियो । काजिम सुसारीले पूर्णबहादुर श्रेष्ठको पासमा गोल गरे । त्यसको ५ मिनेटपछि नै शेर्पाले बराबरी गोल फर्कायो । रवि थापामगरको फ्रिकिकमा आशिष गुरुङले हेड गोल गरे । जहाँ सरस्वतीका गोलरक्षकले पत्तै पाएनन् । ३५ औं मिनेटमा विनोद केसीले सुसारीको क्रसमा गोल गर्दा सरस्वतीले पुनः अग्रता बनायो । तर पहिलो हाफको अन्तिम मिनेटमा विजय श्रेष्ठले शेर्पाका लागि गोल गरे र खेल बराबरीमा ल्याए ।


दोस्रो हाफमा सरस्वतीले २ गोल थप्यो । ८४ औं मिनेटमा सुसारीले व्यक्तिगत दोस्रो गोल गरे भने मनीष थापाले ८९ औं मिनेटमा गोल गरी ४–२ को अग्रता दिलाए । इन्ज्युरी टाइमको अन्तिम मिनेटमा रवि थापामरले फ्रिकिकमा गोल गरी अग्रता छोट्याए पनि शेर्पाको हार टार्न सकेनन् ।

भाेलिका खेल

मनाङविरुद्ध संकटा

१५ः०० बजे

एन्फा कम्प्लेक्स, सातदोबाटो

प्रकाशित : माघ १४, २०७६ २१:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?