नेतृत्व छाडेपछिका पारस

विनोद पाण्डे

काठमाडौँ — अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले कात्तिक २७ मा नेपाल क्रिकेट संघ (क्यान) माथि झन्डै चार वर्षदेखि लगाउँदै आएको निलम्बन ससर्त फुकुवा गरिदियो । त्योभन्दा ठूलो आश्चार्य २४ घण्टा नबित्दै भयो । पारस खड्काले कप्तान पद त्याग्ने निर्णय गरे । १० वर्षयता कप्तानको रूपमा एकक्षत्र राज गरेका पारसको त्यो निर्णयप्रति धेरैलाई विश्वास लागेन । 

ZenTravel

स्वयं पारस भने आफ्नो निर्णयमा अडिग थिए । आफूले सोचेर र नेपाली क्रिकेटको भविष्य हेरेरै आफू त्यो निर्णयमा पुगेको पारसले बताउँदै आएका छन् । नेपाली क्रिकेटको कप्तानमा ज्ञानेन्द्र मल्ल स्थानान्तरण भइसके । ज्ञानेन्द्रले पनि पारसको निर्णयलाई सम्मान गर्नुपर्ने बताउँदै आएका थिए । पारसको कप्तानीमा दसवर्ष नै ज्ञानेन्द्र उपकप्तान रहे । उनकै नेतृत्वमा नेपाल अहिले आईसीसी विश्वकप क्रिकेट लिग २ को पहिलो चरण खेल्दैछ ।

Meroghar

माघ २२ देखि काठमाडौंमा हुने अमेरिका र ओमानसम्मिलित त्रिकोणात्मक लिग २ अघि पारसले आफूलाई निकै स्वतन्त्र महसुस गरेका छन् । १३ औं दक्षिण एसियाली खेलकुदपछि कप्तानबिना पारसले दोस्रोपल्ट खेल्दै छन् । कप्तान छाडेपछि आफू अझ ब्याटिङमा केन्द्रित हुन पाएको उनी महसुस गर्छन् । पारसले कप्तानपछि आफ्नो खेलजीवन र मुखैमा आइरहेको लिग २ लाई यसरी वर्णन गरे :
कप्तानीबिनाको यात्रा
अहिले कम जिम्मेवारी छ । खेलाडी छनोटदेखि उनीहरू के केस्ता छन् लगायत धेरै विषयमा समावेश हुनुपर्दैन । त्यो भन्दैमा टोलीको अनुभवी खेलाडी भएको हिसाबमा मैले सबै छाड्न पनि मिल्दैन । एउटा खेलाडीको जिम्मेवारी त छँदै छ । कप्तानी भनेको धेरै जिम्मेवारी लिनु हो । त्यो बाहिर बस्दा चाहिँ आफ्नो खेलमा अलिकति बढी केन्द्रित हुन पाइन्छ । त्यसमा म आफ्नो क्रिकेट जीवनमा रमाइरहेको छु । कप्तान भएर जिम्मेवारी लिँदा पनि मैले त्यसको मजा लिएको थिएँ, अहिले पनि छ । अहिले चाहिँ एउटा खेलाडीका रूपमा अझ राम्रो प्रदर्शन गर्न मन छ । टिमलाई कसरी योगदान दिनसक्छु भन्नेमा छु । अहिले एकदमै रिल्याक्स अनुभव भइरहेको छ ।

मैले कप्तानी छाडिसकेको छु । त्यसमा म एकदमै क्लियर छु । मैले कुनै खेलाडीलाई सुझाव दिनु छ भने त्यसमा कप्तान नै हुनुपर्छ भन्ने छैन । छनोटमा मैले कसलाई राख्ने कसलाई नराख्ने भनेर भनिरहनुपर्दैन । एउटा खेलाडीका रूपमा टिममा छानिन्छु भने म आफ्नो उत्कृष्ट दिन सधैंको जस्तो प्रयास गर्नेछु । कप्तान छाडेपछि ममा धेरै परिवर्तन आएको छ । कप्तान हुँदा धेरै मिडअफमा फिल्डिङ गर्थे । अहिले मिडअफ, स्लिप, स्विपर कभर, लङअफ, लङअन सबैतिर जस्तो बसिरहेको छु । पोजिसनभन्दा पनि प्रभाव देखाउनु महत्त्वपूर्ण हो ।

हल्का महसुस
कप्तानको रूपमा मसँग धेरै स्मरणीय सम्झनाहरू छन् । मलाई लाग्दैन कप्तानी छाडेर मैले केही मिस गरिरहेको छु । त्यो मिस हुने भएको भए म सायद खेल्नै छाड्थें होला । ९–१० वर्षको निरन्तर कप्तानीपछि मैले अहिले आफूलाई निकै हल्का महसुस गरेको छु । यो सबै म शब्दमा वर्णन गर्न सक्दिनँ । टिमले चाहान्छ भने मेरो सुझाव जहिले पनि खुला नै हुनेछ । प्रशिक्षक र कप्तानको एउटा धारणा हुन्छ । उनीहरूले बनाएको जुन एउटा सीमारेखा हुन्छ त्यो मैले कहिल्यै पनि तोडिनँ । मैले जहिल्यै पनि प्रशिक्षक र कप्तानको सम्मान गर्ने गरेको छु ।

सबैको आ–आफ्नो शैली हुन्छ । प्रशिक्षक पनि नयाँ नै छन् । ज्ञानेन्द्र पनि नयाँ नै हुन् कप्तानमा । कस्तो टिम हुन्छ भनेर उनीहरूसँग आफ्नै योजना हुन्छ । सबै कप्तानको आफ्नै योजना हुन्छ । तर अन्त्यमा सबै गणना नतिजाले गर्छ । त्यो नतिजाका लागि कप्तान जो भए पनि खेलाडीले प्रदर्शन दिनुपर्छ । टिमले राम्रो गर्‍यो भने कप्तान राम्रो देखिने हो । कप्तान राम्रो भएर टिम हार्छ भने त्यसको कुनै अर्थ हुँदैन । कप्तानको महत्त्वपूर्ण भूमिका हुन्छ त्यो छुट्टै हुन्छ । टिम हार्‍यो भन्दैमा कप्तानलाई मात्र दोष दिन मिल्दैन । कप्तान आफैं उदाहरणीय हुनु पर्ने त भइहाल्यो । साथै नेतृत्व गरेर पनि उदाहरणीय हुनुपर्छ । तर कप्तान एक्लैले मात्र खेल जिताउन सकिँदैन । हामी अहिले डिभिजन ४, ५ का टोली होइनौं । डिभिजन १ का शीर्ष एकदिवसीय टोलीसँग खेलिरहेका छौं । त्यसैले हरेक खेलाडीले जिम्मेवारीबोध गर्नुपर्छ । एकदिवसीय अन्तर्राष्ट्रिय खेलाडी हुनुको अर्थ बुझ्नुपर्छ । यो बुझेमा कप्तानमात्र नभई नेपाली राष्ट्रिय टोलीलाई नै फाइदा हुनेछ ।

ब्याटिङ पोजिसन
२०१० देखि २०१८ सम्म मैले चौथो नम्बरमा ब्याटिङ गरें । ५० ओभरमा राम्रै भइरहेको थियो । भोलि कति नम्बरमा ब्याटिङ गर्ने त्यो मैले हेरेको छैन । टिमले मलाई कुन स्थानमा माग्छ । ओपनिङमा होस्, वान डाउन होस्, टू डाउन होस् म सबैका लागि तयार छु । मुख्य भनेको बोर्डमा कति रन बनाएको छ भन्ने मात्र हो । नेपालको धेरैजसो ब्याटिङ आलोचना हुने गर्छ । ब्याटिङ सजिलो कला होइन । यो स्तरमा सफल हुने हो भने हामीले अझै धेरै राम्रो ब्याटिङ गर्नुपर्छ । बलिङ र फिल्डिङ पनि त्यस्तै चुस्त हुनुपर्छ । २ सयभन्दा कम रन बनाएर खेल जित्ने स्तरमा हामी अहिले छैनौं । २ सय ५० रन नै हानेर जित्ने भन्ने पनि निश्चित छैन ।

घरेलु मैदानमा एकदिवसीय
नेपाली क्रिकेटको इतिहास हेर्ने हो भने यो सबैभन्दा ठूलो शृंखला हो । हाम्रो पहिलादेखिकै चाहना नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउनुपर्छ भन्ने थियो । कीर्तिपुर मैदानमा खेल्न पाउनु अर्को उल्लेखनीय पक्ष हो । कीर्तिपुर मैदानले एकदिवसीय मान्यता पाउनु अझ ठूलो सफलता हो हाम्रा लागि । कीर्तिपुर अन्तर्राष्ट्रिय रंगशाला अब एकदिवसीय अन्तर्राष्ट्रिय मैदान भएको छ । एकदिवसीय मान्यता भएकाले हामीमाथि दबाब जति छ, जिम्मेवारी पनि त्यत्तिकै छ । नेपाली क्रिकेट र खेलाडीप्रति आशा धेरै छ । त्यो आशा कायम राख्नुपर्छ । कहिलकाहिँ हामीले खेलमा एकरूपको प्रदर्शन दिन सकेका छैनौं, तर आफ्नो तर्फबाट कोसिस गरिरहेका छौं । टिममा एकरुपता अहिले पनि छ । नतिजामुखि विचारहरू धेरै हुने गरेका छन् नेपाली क्रिकेटबारेमा ।

हामीले यो स्तरमा अझ मिहिनेत गरिरहेका छौं । खेलाडीलाई नेतृत्व स्थानमा पुर्‍याउन प्रयास गरिरहेका छौं, जिम्मेवार अनुभव गराउन प्रयास गरिरहेका छौं । अहिले हाम्रो निकै युवा टोली छ । क्रिकेटकै अनुभवका हिसाबमा हेर्ने हो भने पनि यो राम्रो युवा टोली हो । यो टोलीलाई माथि आउन अझै केही समय लाग्नसक्छ । एउटा अनुभवी खेलाडीको रूपमा हामीले अहिले पनि उदाहरण प्रस्तुत गर्नुपर्नेछ । हामीजस्ता अनुभवी खेलाडीले राम्रो खेल प्रस्तुत गरेर एउटा विजय पथ बनाउने हो भने र युवा खेलाडीले जसरी प्रदर्शन गर्दै आएका छन् त्यसैलाई निरन्तरता दिने हो भने यो मिश्रणले राम्रो नतिजा दिनसक्छ ।

कीर्तिपुर मैदानको सुविधा
कीर्तिपुर मैदानबारे ठूलो प्रश्न तेर्सिन सक्छ । बीचमा साढे ३ वर्ष क्यान निलम्बनमा रह्यो । त्योभन्दा अघि कीर्तिपुर मैदानको सुधार हुनुपर्ने थियो । यो सुरुमा जी स्पोर्ट्सले बनाइदिएको हो, यस मैदानमा भएका भौतिक पूर्वाधार राष्ट्रिय खेलकुद परिषद्ले थपेको हो । सुरुदेखि यो मैदान लिजमै छ । क्यानले यो मैदान अब आफूले लिनुपर्ने बेला आइसकेको छ । यो मैदानसँग नेपाली क्रिकेटको धेरै इतिहास जोडिइसकेको छ । नेपाल क्रिकेटको इतिहास जहिले पनि कीर्तिपुर रंगशालाबाट सुरु हुन्छ । त्यसैले यो मैदानले अझ विकसित रूप लिओस् ।

पहिला आर्थिकदेखि स्रोतको ठूलो कमी थियो । एकदिवसीय मान्यताप्राप्त राष्ट्रको हैसियतमा अहिले त्यसको कमी छ जस्तो मलाई लाग्दैन । यो कसरी खोज्ने, कहाँ खोज्ने र काम गर्नेको जिम्मेवारी कसले लिने भन्ने हो । विशेषगरी दर्शकका लागि यो मैदानको स्तरोन्नति हुन जरुरी छ । यो राम्रो र सुविधासम्पन्न मैदान बन्नसक्छ भन्ने यो सोच साथ अगाडि बढ्नुपर्छ । यो योजना लिएर अगाडि बढ्ने हो भने अब एक वर्षमा अन्तर्राष्ट्रिय स्तरको मैदान हुनसक्छ ।

अमेरिका र ओमानको दबाब
अमेरिका र ओमानले यसअघि नै लिग २ का खेल सुरु गरे पनि हामीलाई कुनै दबाब छैन । हामीले यो तीनवर्षे यात्राको साइकल सुरु गरेका पनि छैनौं । कसरी सुरुआतभन्दा पनि कसरी अन्त्य ठूलो हो । तर सबै खेल महत्त्वपूर्ण छ । घरेलु मैदानमा खेलिने भएकाले अझ महत्त्वपूर्ण हुनेछ । हामीले यो अवसरको फाइदा लिन्छौं भन्ने विश्वास छ । कीर्तिपुर मैदानमा हाम्रो रेकर्ड राम्रो छ । त्यसैले यसको सक्दो फाइदा लिनुपर्छ । अमेरिका र ओमान अहिले राम्रो टोली हुन् ।

अहिले हामीलाई चाहिएको भनेको चार जित हो । त्यो नतिजा निकाल्ने हो भने हामी पनि राम्रो स्थितिमा आउँछौं । नामिबियामा विगतमा डिभिजन २ खेल्दा हामी लिगको अन्तिम म्याच खेल्नु अघिसम्म पहिलो र दोस्रो स्थानमा थियौं । अन्तिम खेल हारेपछि चौथो स्थानमा झर्‍यौं । चौथो स्थानमा झरेपछि मुखैमा आएको एकदिवसीय अन्तर्राष्ट्रिय पनि गयो । त्यसको चार वर्षपछि बल्ल बल्ल गएर विश्वकप छनोटबाट हामीले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पायौं । सुरुआतभन्दा अन्त्य कस्तो भन्ने पनि उत्तिकै महत्त्वपूर्ण छ । राम्रो सुरुआत गर्ने हो भने हाम्रो आत्मविश्वास पनि बढ्ने र राम्रो सन्देश पनि दिनेछ । यो स्त्तरमा राम्रो गर्दै गएपछि विपक्षीमाथि डरत्रास पनि बनाउनुपर्छ । सबै टोली यहाँ आएर नेपाललाई कसरी हराउने भन्ने योजनामा हुन्छन् । त्यसैले हामीले घरेलु खेलहरू जित्नु धेरै नै महत्त्वपूर्ण छ ।

प्रकाशित : माघ १४, २०७६ ०९:०६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

परदेशमा पञ्चेबाजा

नारायण खड्का

(एडिलेड) — सन् १७८८ मा पहिलो डुंगा आइपुगेको थियो अस्ट्रेलियाको न्यु साउथ वेल्समा । यही दिनको स्मृतिमा बहुसांस्कृतिक चिनारीसहित ‘अस्ट्रेलिया डे’ मनाइँदै आएको छ । पछिल्लोपटक यो सांस्कृतिक परेडमा थपिएको छ– नेपाली चिनारी । यसपटक पनि यहाँका नेपालीहरू पञ्चेबाजासहितको परेडमा उत्रिए ।

एक सयभन्दा बढी मुलुकका नागरिकले भाग लिएको सांस्कृतिक परेडमा नेपाली कलासंस्कृति र लोकबाजाको सान भिन्न थियो ।

दक्षिण अस्ट्रेलियामा आयोजित परेडमा सहभागी नेपालीको यस वर्षको मुख्य आकर्षण नै परम्परागत पञ्चेबाजा थियो । त्यसमा दौरा–सुरुवाल, गुन्यूचोली, ढाका टोपी त छुट्नै कुरै भएन । बालबच्चा, बाआमा मात्र नभएर युवाले समेत परेडमा उत्साहसाथ सहभागिता जनाए । नेपालीलाई संयोजन गरिरहेका एडिलेड नेपाली समाजका अध्यक्ष सुरेन रेग्मीले यो कार्यक्रम नेपाल र नेपाली चिनाउने महत्त्वपूर्ण अवसर भएको सुनाए । उनले यस वर्ष नेपालीहरूले ल्याएको पञ्चेबाजाप्रति सर्वसाधारणले धेरै चासो देखाएको दाबी गरे । ‘यसपालि पर्यटन प्रवर्द्धनको पनि राम्रो अवसर बन्यो,’ उनले भने, ‘विदेशीहरूले नरसिंगाप्रति देखाएको चासो रोचक थियो ।’

मुख्य सहरमा करिब ३ किलोमिटरसम्म चलेको यो सांस्कृतिक पदयात्रामा मन्त्री, सांसदका साथै विभिन्न उच्च व्यक्ति पनि थिए । परेडकै क्रममा नेपाली सहभागीले नेपाल भ्रमण वर्षको समेतप्रचारप्रसार गरे ।

प्रकाशित : माघ १४, २०७६ ०८:४०
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×