कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

कीर्तिपुर रंगशाला (मैदान) : साफदेखि एकदिवसीय क्रिकेटसम्म

विनोद पाण्डे

काठमाडौँ — दुई महिनाअघि काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) को सम्झना इतिहासमा सधैं रहिरहने छ । छोटो समयको तयारी बाबजुद आयोजना र कीर्तिमानी पदकीय सफलताको हिसाबमा नेपालले सागको पछिल्लो संस्करण विगतभन्दा विशेष बनाएको थियो । 

कीर्तिपुर रंगशाला (मैदान) : साफदेखि एकदिवसीय क्रिकेटसम्म

दक्षिण एसियाली खेलकुद नेपालको परिकल्पना हो । नेपालकै पहलमा दक्षिण एसियाली खेलकुदको सुरुआत भई पहिलो संस्करण काठमाडौंमै भएको थियो । यसलाई सुरुमा साफ भनिन्थ्यो । सन् १९८४ मा काठमाडौंमा आयोजित दक्षिण एसियाली खेलकुदलाई अहिले आएर सम्झनुपर्ने खास कारण छ ।


पहिलो दक्षिण एसियाली खेलकुदमा समावेश पाँचमध्ये एक खेल फुटबलको आयोजना दशरथ रंगशालामा मात्र सीमित भएन । यसका केही खेल कीर्तिपुर रंगशालामा भएका थिए । मनाङ मर्स्याङ्दी क्लबका हस्ती मुकेश शाहीले हालै विगतको आफ्नो फुटबल यात्रा स्मरण गर्दै कीर्तिपुर रंगशालामा फुटबल खेलिरहेको तस्बिर उत्खनन गरेका थिए ।

कीर्तिपुरमा फुटबल र क्रिकेट दुवै खेलिन लागियो । क्रिकेटका स्थानीय प्रतियोगिताहरू यही आयोजना भए । सन् १९९८ मा नेपालले दोस्रो एसीसी ट्रफी क्रिकेट आयोजना गर्ने भएपछि यस मैदानले काँचुली फेर्‍यो । जी टीभी (जी नेटवर्क) ले दूरगामी सोच राख्दै यसलाई क्रिकेट रंगशालाको रूपमा विकास गर्ने भयो । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वामित्वमा रहेको उक्त जग्गामा त्यसको सुरुवात जी टीभीले १९९९ मा टेम्पो लिजेन्ड कपको आयोजना गर्‍यो । भारत, पाकिस्तान र रेस्ट अफ द वर्ल्डका भेट्रान खेलाडी आएर कीर्तिपुरमा प्रतिस्पर्धा गरे ।


कीर्तिपुरलाई तटस्थ भूमि बनाउँदै जी टीभी भारत–पाकिस्तानको राष्ट्रिय टोलीको खेल आयोजना गर्न लागिपरेको थियो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले यसलाई ‘असुहाउँदो मैदान’ घोषणा गरिदियो र जी टेलिभिजनको भारत–पाकिस्तानलाई कीर्तिपुरमा खेलाउने योजनामा ठूलो झट्का लाग्यो । जी टीभी यसबाट पछाडि हट्यो र मैदानको आकारमै छाडिदियो । अन्तर्राष्ट्रिय क्रिकेटलक्षित गरी बनाइएको यो भूमि मैदानमै सीमित रहयो । दुई दशक बितिसक्दा पनि यसले रंगशालाको आकार कहिल्यै लिएन ।

०००


कीर्तिपुर रंगशालाको स्तम्भ अहिले पनि त्यही स्थानमा यथावत् छ । त्यससँगैको स्थान भने अहिले कीर्तिपुर रंगशालाबाट त्रिवि क्रिकेट मैदान कीर्तिपुर भएको छ । केहीले यसलाई कीर्तिपुर क्रिकेट रंगशाला पनि भन्छन् । कीर्तिपुर रंगशालाबाट क्रिकेट मैदान बनेको यही स्थलमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल आयोजना हुँदै छ । आईसीसी विश्वकप क्रिकेट लिग २ ले अवसर जुराइदिएको हो ।


तस्बिर : हेमन्त श्रेष्ठ

नेपालसहित अमेरिका र ओमानसम्मिलित त्रिकोणात्मक लिग २ माघ २२ देखि हुँदै छ । नेपालले पहिलोपल्ट लिग २ मा प्रतिस्पर्धा गर्दै छ । नेपालले घरेलु भूमिमा पहिलोपल्ट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाए पनि नेपालले घरेलु भूमिमा भने यो आधिकारिक खेल खेल्न पाएको थिएन ।


‘विगत तुलनामा बाहिर र भित्र हेर्दा धेरै परिवर्तन गरेका छौं । तारजाली, बाउन्ड्री निर्माण, प्लेयर्स बक्समा सुविधा थपेका छौं । भीआईपी बक्स र पेभेलियनको पनि सुधार गरेका छौं । रंगरोगनको काम पनि भइरहेको छ,’ नेपाल क्रिकेट संघका कोषाध्यक्ष रोशन सिंहले भने, ‘आईसीसीले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आयोजना गर्ने भनेपछि केही मापदण्डहरू तोकेको थियो, त्यसअनुरुप हामीले मैदान र प्लेयर्स बक्समा सुधार गर्दै छौं । मैदान तयार भइसकेको छ, अन्य सम्पन्न हुनेक्रममा छ ।’


अहिलेसम्म २ सय ८ मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय खेल आयोजना भइसकेको छ । माघ २२ मा नेपालले ओमानसँग खेलेपछि त्रिवि क्रिकेट मैदान पनि यो सूचीमा समावेश हुनेछ । ओमान मस्कटस्थित अल एमेराट क्रिकेट रंगशाला एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट आयोजना गर्ने पछिल्लो मैदान हो । ओमानले आफ्नो पछिल्लो एकदिवसीय अन्तर्राष्ट्रिय यही मैदानमा खेलेर नयाँ एकदिवसीय अन्तर्राष्ट्रिय मैदानमा नेपालसँग खेल्न काठमाडौं आउन लागेको हो ।


पिच खनेर नयाँ बनाइएको क्युरेटर मधु तामाङ बताउँछन् । यो पनि एकदिवसीय अन्तर्राष्ट्रिय मापदण्डअनुरुप नै कार्य रहेको सिंह जनाउँछन् । सागलगत्तै पिच खनेर नयाँ बनाउन लागिएको थियो । क्यानको माग बमोजिम आईसीसीले मैदान र पिचको निर्माणका लागि श्रीलंकाका बन्दुला वार्नापुरालाई झिकाइएको सिंहले जनाए । श्रीलंकाका पहिलो टेस्ट कप्तान वार्नापुराको निर्देशनमा तामाङलगायतले पिच र मैदानको कार्य गरिरहेका छन् । पहिलोपल्ट नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय आयोजना गर्न लागेकाले कुनै हिसाबमा नचुक्न वार्नापुरा ल्याइएको जनाउँदै सिंहले आईसीसीले भनेभन्दा अझ राम्रो गर्न आफूहरू लागिपरेको बताउँछन् । वार्नापुरा तीन सातादेखि कीर्तिपुर मैदानमा लागि परेका छन् । दर्शकका लागि मैदानको दक्षिणी भागमा महिला र पुरुषको छुट्टाछुट्टै शौचालय पनि बनाइएको छ ।

तस्बिर : हेमन्त श्रेष्ठ

गएको एक महिनमा दुईपल्ट काठमाडौंमा परेको वर्षाले मैदानमा घाँस केही देखिए पनि पिच वार्नापुरा र तामाङले सोचेजस्तो हुन सकेको छैन । ‘रातिको शीत हिउँजस्तो परेकाले मैदान बिहान सेताम्ये हुने गर्छ । यसले मैदान र पिचमा घाँस राम्रोसँग उम्रन दिएको छैन । पिचमा घाँस रोपेर घाँस काटिसक्यौं, जुन हरियो घाँस आउनुपर्ने हो त्यो आएको छैन । अब त्रिपालले छोपेर बिहीबारदेखि पिचमा घाँस हरियो बनाउन लागेका छौं,’ क्युरेटर तामाङले भने ।


कीर्तिपुर मैदान परम्परागत रूपमा स्पिनमैत्री विकेट हो । वार्नापुरा घाँसेविकेट बनाउने उद्देश्यमा देखिन्छन् । शीतले घाँस राम्रोसँग उम्रन नदिएपछि उनले तामाङलाई फ्ल्याट विकेटका लागि पनि विकल्प हेरिहेका छन् । नेपाल, अमेरिका र ओमानले एकआपसमा गरी २–२ खेल खेल्ने छन् । माघ २९ सम्म चल्ने लिग २ मा कुल ६ खेल हुनेछन् । नेपालको विकेट कन्डिसन हेरेर अमेरिकाको टोलीले एक साता मुम्बईमा प्रशिक्षण गर्दै छ र सोक्रममा मुम्बई क्रिकेट संघको टोलीसँग ३ अभ्यास खेल खेल्दै छ ।

०००


अमेरिका १० वर्षपछि नेपाल आएर खेल्न लागेको हो । सन् २०१० मा अमेरिका विश्व क्रिकेट लिग डिभिजन ५ खेल्न पछिल्लोपल्ट नेपाल आएको थियो । ६ राष्ट्रसम्मिलित प्रतियोगिताको फाइनलमा नेपाल र अमेरिका नै पुगेका थिए । अमेरिकालाई फाइनलमा पराजित गरी नेपालले पहिलोपल्ट जितेको आईसीसीको प्रतियोगितालाई लिग चरणको खेलले नै ओझेल पारिदिएको थियो । नेपाल र अमेरिका लिग चरणको अन्तिम खेलमा भिड्दै थिए । जित्ने टोली फाइनलमा पुग्ने निश्चित थियो । हार्ने टोलीको टुंगो हुँदैन थियो । एउटा निश्चित नतिजा आएमा यो समीकरणले सिंगापुरलाई पनि फाइनल पुर्‍याउँथ्यो । आर्मी स्कुल भक्तपुरमा सिंगापुरले जर्सीलाई पराजित गरी नेपाल र अमेरिकाबीचको खेल कुरिरहेको थियो । टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ९ विकेट गुमाई १ सय ६२ रनमात्र बनाउन सक्यो ।

अमेरिका सजिलै विजय लक्ष्यतर्फ पुगेको अवस्थामा नेपाल बाहिरिने निश्चितजस्तै भइसकेको थियो । दर्शकले कीर्तिपुर मैदानमा ढुंगा प्रहार गर्न लागेपछि खेल अवरुद्ध बन्न पुग्यो । अवरुद्ध समयको ओभर घटाउँदा हारका बाबजुद नेपाल फाइनल पुग्यो । सिंगापुर हिस्स बन्यो । सिंगापुरले यसमा उजुरी हाल्यो । आईसीसीले कीर्तिपुर ढुंगा प्रहार काण्डका कारण छानबिन समिति बनायो । आईसीसीले कीर्तिपुर मैदानको स्थिति सुधार नभएसम्म अर्को अन्तर्राष्ट्रिय क्रिकेट खेल्न यहाँ खेल्न प्रतिबन्ध लगायो ।


तस्बिर : हेमन्त श्रेष्ठ

तारजाली हालेर केही सुविधा थपेपछि आईसीसीले शर्तसहित प्रतिबन्धमा फुकुवा गरिदियो । तर त्यो पनि लिस्ट ‘ए’ मान्यता प्राप्तका लागि पर्याप्त भए । विश्व क्रिकेट लिगको संरचनामा डिभिजन २ मै रहेसँगै नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न पायो । यसमा खेलिएका खेलहरू लिस्ट ‘ए’ मान्यताका हुन्थे । यो भनेको एकदिवसीय अन्तर्राष्ट्रियभन्दा एक तहको मान्यता । कीर्तिपुर मैदानको सुविधा च्याम्पियनसिप खेलका लागि पर्याप्त भएन । जसका कारण नेपालले पपुवा न्युगिनीसँगको खेल तटस्थ भुमिको रूपमा यूएईमा गएर खेल्नुपर्‍यो । चेन्जिङ रुम, अफिसियल रुम, डाइनिङ हल लगायतका सुविधा थपिएपछि मात्र नेपालले नामिबिया र केन्यासँगको च्याम्पियनसिप खेल कीर्तिपुरमा खेल्न पाएको थियो ।

च्याम्पियनसिपबाट नेपाल एक कदम माथि उठ्दै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त राष्ट्र बन्यो । कीर्तिपुर मैदानले अझै रंगशालाको रूप लिन सकेको छैन । न्युनतम सुविधामात्र कीर्तिपुर मैदानमा थपिएका छन् । यही पूर्वाधारमा कीर्तिपुर मैदानले एकदिवसीय क्रिकेट अन्तर्राष्ट्रिय आयोजना गरेर इतिहास रच्दै छ ।

प्रकाशित : माघ ११, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?