२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

हेल्प नेपाल र एपीएफ विजेता

काठमाडौँ — पाँचौं आरबीबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा हेल्प नेपाल स्पोर्ट्स क्लब र नेपाल एपीएफ क्लब च्याम्पियन भएका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा शुक्रबार पुरुषतर्फ फाइनलमा हेल्प नेपालले एपीएफलाई निरीह पार्दै सोझो सेटमा जित निकालेको थियो ।

हेल्प नेपाल र एपीएफ विजेता

तीन भारतीय र इन्डियन आर्मीमा कार्यरत नेपाली खेलाडी उतारेको हेल्प नेपालले सजिलो जित पायो । टोलीले २५–१७, २५–१४, २५–२१ को नतिजा निकालेको थियो । त्रिभुवन आर्मीले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई २५–१८, २५–१८, २५–२० ले पराजित गर्दै तेस्रो स्थान हात पार्‍यो ।

महिलातर्फ चिरपरिचित प्रतिद्धन्द्धी न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा हराएर एपीएफले उपाधि जित्यो । एपीएफको यो सिजनको चौथो उपाधि हो । एपीएफले आठौं राष्ट्रिय खेलकुद, शेरबहादुर खड्का स्मृति भलिबल र न्यु डायमन्ड कप जितेको थियो । एपीएफले २५–२३, २५–२१, २३–२५, २५–१८ ले सेट जितेको थियो । तेस्रो सेटमा २२–२० को अवस्थामा डायमन्डकी प्रतिभा मालीले चोट बोकेकी थिइन् । स्पाइक हान्ने क्रममा लड्दा गम्भीर चोट बोकेपछि उनलाई हस्पिटल लगिएको थियो ।

आर्मीले पुलिसलाई २५–२२, २५–१३, २५–२१ ले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।


दुवैतर्फका विजेताले २ लाख उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाए । तेस्रो हुने टिमले ५० हजार पायो । पुरुषतर्फ हेल्प नेपालका अमित र महिलामा न्यु डायमन्डकी प्रतिभा माली सर्वोत्कृष्ट खेलाडी घोषित भए । दुवैले समान २५ हजार हात पारे । व्यक्तिगत विधातर्फ पुरुषमा आर्मीका राजेन्द्र विष्ट उत्कृष्ट स्पाइकर, हेल्प नेपालका याम क्षत्री उत्कृष्ट ब्लकर, विकास कुमार उत्कृष्ट सेटर, एपीएफका विनोद चन्द उत्कृष्ट लिबेरो, एपीएफका विजय थापा उत्कृष्ट सर्भर र हेल्प नेपालका स्वमभिराम बलवानसिंह उत्कृष्ट प्रशिक्षक घोषित भए ।


महिलातर्फ डायमन्डकी प्रतिभा माली उत्कृष्ट सर्भर पनि भइन् । एपीएफकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर, आर्मीकी सुनिता खड्का उत्कृष्ट ब्लकर, एपीएफकी विनिता बुढाथोकी उत्कृष्ट सेटर, न्यु डायमन्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो र एपीएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक चुनिए । उनीहरूले जनही १० हजार रुपैयाँ पाए ।

प्रकाशित : माघ ११, २०७६ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?