२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

सूर्य नेपाल इस्टर्न ओपन : बलभद्र च्याम्पियन

सुनसरी — धरानस्थित निर्वाणा कन्ट्री क्लबको गल्फ कोर्समा बिहीबार सूर्य नेपाल इस्टर्न ओपनको उपाधि प्रो बलभद्र राईले जितेका छन् । यो सूर्य नेपाल गल्फ टुर २०१९–२० अन्तर्गतको दोस्रो प्रतियोगिता हो । धरानका स्थानीय व्यावसायिक गल्फर बलभद्रले नेपालका नम्बर एक प्रो शिवराम श्रेष्ठलाई ४ स्ट्रोकले पछाडि उपाधि जितेका हुन् ।

सूर्य नेपाल इस्टर्न ओपन : बलभद्र च्याम्पियन

उनले १ लाख २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । बलभद्रको यो दोस्रो गल्फ उपाधि हो । उनले यसअघि २००८–०९ को वेस्टर्न ओपन उपाधि जितेका थिए । बलभद्रले अन्तिम दिन ३ अन्डर ६७ स्कोर जोड्दै समग्रमा ९ अन्डर २ सय १ को स्कोर बनाएर उपाधिमाथि कब्जा जमाए ।


निर्वाणा कन्ट्री क्लबको गल्फ कोर्समा उनले खेलको पहिलो दिन १ अन्डर ६९, दोस्रो दिन ५ अन्डर ६५, तेस्रो दिन फ्रन्टनाइनको चौथो होलमा बोगीसहित १ ओभर ३७ खेलेका थिए । उनले ११, १६, १७ र १८ औं होलमा उत्कृष्ट पटिङसहित बर्डी गर्दै ब्याकनाइनमा ४ बर्डीसहित ४ अन्डर ३० स्कोर बनाए ।


शिवरामले ६ अन्डर ६४ स्कोर गर्दै दोस्रो स्थानमा चित्त बुझाए । पहिलो र दोस्रो दिन औसत प्रदर्शन गरेका शिवरामले फ्रन्टनाइनमा २ अन्डर ३४ तथा ब्याकनाइनमा ४ अन्डर ३० स्कोरमात्र जोडे । उपविजेतामा सीमित शिवरामले ७५ हजार रुपैयाँ पाए ।


स्थानीय गल्फर नीरज तामाङ एमेच्योरतर्फ च्याम्पियन बने । उनले अन्तिम दिन १ ओभर ७१ स्कोर गर्दै समग्रमा ४ अन्डर २ सय ६ स्कोरसहित उपाधि हात पारे । एमेच्योरतर्फ अर्का स्थानीय गल्फर शुक्रराज राई १३ ओभर २ सय २३ स्कोर जोड्दै दोस्रो भए भने १५ ओभर २ सय २५ स्कोर जोडेका सुन्दर राई तेस्रो भए ।


बिहीबार अपेक्षा विपरीत खराब प्रदर्शन गर्दै ४ ओभर ७४ स्कोरमात्र जोडेका प्रोटर्न गल्फर शुक्रबहादुर तेस्रो स्थानमा रहे । उनले ५५ हजार रुपैयाँ हात पारे । धनबहादुर थापा (२१४) ले चौथो स्थान हासिल गरे । उनले ४५ हजार थापे । शिवकुमार माझी र सूर्यप्रसाद शर्माले ६ ओभर २ सय १६ स्कोरसहित संयुक्त पाँचौं स्थान ओगट्दै जनही ३५ हजार ५ सय रुपैयाँमा चित्त बुझाए । सातौं स्थानमा आएका दिनेश प्रजापतिले ३१ हजार तथा संयुक्त आठौं स्थानका जयराम श्रेष्ठ र रवि खड्काले २८ हजार रुपैयाँ पाए । सन्जय लामा र दीपक मगर संयुक्त दसौं स्थानमा रहेर २३ हजार २ सय ५० रुपैयाँ जित्न सफल भए ।


विजयी खेलाडीलाई सूर्य नेपालका मार्केटिङ म्यानेजर बालकिशन गुरुङ, धरान उपमहानगरका प्रमुख तथा नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राईलगायतले खेलाडीलाई पुरस्कृत गरे ।

प्रकाशित : माघ १०, २०७६ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?