कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आईसीसी लिग २ कान्तिपुर टीभीमा

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर टिभीले नेपालमा हुने आईसीसी विश्वकप क्रिकेट लिग २ का सबै खेलको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । लिग २ मा नेपालले पहिलो पटक खेल्न लागेको हो । नेपालसहित अमेरिका, ओमानसम्मिलित त्रिकोणात्मक प्रतियोगिता माघ २२ देखि २९ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । यस शृंखलामा ६ खेल हुनेछ ।

नेपालले घरेलु भूमिमा पहिलोपल्ट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । सन् २०१८ मा जिम्बावेमा भएको विश्वकप छनोटबाट एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाए पनि नेपालले घरेलु भूमिमा भने यो आधिकारिक खेल खेल्न पाएको थिएन ।


लिग २ का सबै खेल कान्तिपुर टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्न बिहीबार नेपाल क्रिकेट संघ (क्यान) र कान्तिपुर मिडिया ग्रुप (केएमजी) बीच सम्झौता भएको छ । क्यानका महासचिव अशोकनाथ प्याकुर्‍याल र केएमजीका नायब महाप्रबन्धक महेश स्वाँरले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार कान्तिपुर टीभीले लिग २ का सबै ६ खेलको प्रत्यक्ष प्रसारण गर्नेछ ।


त्यसमा नेपालले अमेरिका र ओमानसँग २–२ खेल खेल्नेछ । नेपालले माघ २२ मा ओमानसँग खेल्दै लिग २ को सुरु गर्नेछ । सन् २०२३ को विश्वकपको छनोट आधार रहेको ३ वर्षे यस प्रतियोगितामा अमेरिकाले ८ र ओमानले ६ खेल खेलिसकेका छन् । अमेरिका लिग २ मा ८ मध्ये ६ खेल जितेर शीर्षस्थानमा छ । ओमान ८ अंकसहित चौथो स्थानमा छ । प्रकाशित : माघ १०, २०७६ ०८:४८

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

भैरवीमा सुनको छाना हाल्न बाँकी

कान्तिपुर संवाददाता

नुवाकोट — विदुर नगरपालिका–२ स्थित पुरानो सदरमुकाम डाँडामा रहेको लिच्छविकालीन भैरवी मन्दिरको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । भूकम्पले मन्दिरको पूर्वीमोडामा क्षति पुगेको थियो । जिल्लाको ठूलो शक्तिपीठको रूपमा रहेको मन्दिरको पुनर्निर्माण ०७३ सालबाट पुरातत्व विभागले थालेको हो । मन्दिरको टुँडाल, काष्ठकलाका मूर्ति, तल्लो छाना र माथिल्लो छाना छाउन काठ राखिसकिएको छ । माथिल्लो छानाको लागि सुन लेपन गरिएको मोलम्बा छाना बाँकी रहेको निर्माण व्यवसायी ध्रुव श्रेष्ठले बताए ।

४ करोड ६३ लाख रुपैयाँ लागतमा मन्दिर पुनर्निर्माण भइरहेको छ । पुरानो डिजाइनमा जस्ताको तस्तै पुनर्निर्माण सकिने पुरातत्व विभागले जनाएको छ । विदुरबाट ६ किलोमिटर उत्तरपूर्वी पुरानो सदरमुकामस्थित नुवाकोट डाँडामा रहेको मन्दिर १४औं शताब्दीमा जगज्योति मल्लले पुनर्निर्माण गराएको इतिहासमा उल्लेख छ । नुवाकोट विजय गर्नुपूर्व गोरखाका राजा पृथ्वीनारायण शाहलाई नुवाकोटकी भैरवीले सपनामा पूजा गरेमा नुवाकोट राज्य विजयी हुने बताएपछि गोप्य रूपमा भैरवीको पूजा गर्न लगाएर कान्तिपुर अधीनस्थ नुवाकोट जितेको जनविश्वास यद्यपि छ ।

प्रकाशित : माघ १०, २०७६ ०८:४६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×