कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मलेसियाविरुद्ध ३ खेलमै नेपाल विजयी

पोखरा — मलेसियाको राष्ट्रिय टिमविरुद्ध पोखरा मैदानमा नेपाली क्रिकेट टिमले एकदिवसीय शृंखलाका तीनवटै खेल जितेको छ । मलेसिया–११ लाई बिहीबार नेपालले ५ विकेटले पराजित गर्दै लगातार ३ खेलमा बाजी मारेको हो ।

मलेसियाविरुद्ध ३ खेलमै नेपाल विजयी

नेपाली टिम यतिखेर त्रिकोणात्मक शृंखलाको बन्द प्रशिक्षणमा छ । अन्तिम खेलमा रोहितकुमार पौडेलको उत्कृष्ट लय देखियो । उनले ८१ रनको इनिङ्स खेल्दा मलेसियाले दिएको १ सय ५९ रनको लक्ष्य घरेलु टोलीले ५ विकेट गुमाएर पूरा गर्‍यो । उनले ७० बल खेल्दै अनवर रहमानको बलमा एलबीडब्लू आउट हुनुअघि ८ चौका र ४ छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले कप्तानी सम्हालेको खेलमा व्यक्तिगत २८ स्कोर बनाए ।


उनले २४ बल खेल्नेक्रममा ५ चौका र १ छक्का प्रहार गरे । लोकेश बमको प्रदर्शन तारिफयोग्य नै रह्यो । उनले २६ रन बनाए । २७ बल खेल्दै दुई चौका र दुई छक्का हाने । ओपनर सुनील धमला ५ रनमा आउट हुँदा अर्का ओपनर कुशल भुर्तेलले खाता खोल्नबाट चुक्न पुगे । मलेसियाका विजय उन्नीले २, देवेन्द्र मोगन, मोहम्मद हफिज र अनवर रहमानले १–१ विकेट लिए ।


अघिल्ला दुई खेलमा टस जितेर फिल्डिङ रोजेको मलेसियाले बिहीबार भने टस जित्दै ब्याटिङ गर्न मैदान उत्रिएको थियो । मलेसिया ४३.५ ओभरमा अलआउट हुँदा १ सय ५७ रन बन्यो । भूषण सेभले सर्वाधिक ३० रन जोडे । उनले ४ चौका र १ छक्का प्रहार गरे । सार्विन मुनियन्डी २२, कप्तान अहमद फैज शून्य, वीरनदीप सिंह ९, अनूल हकीम ५, सैद अजिज १५, मोहम्मद आरिफ १७ र देवेन्द्र मोगनले २८ रन जोडे ।


नेपालका तीव्र गतिका बलर अविनाश बोहराले ९ ओभरमा ३० रन खर्चिएर ३ विकेट लिए । स्पिनर ललितनारायण राजवंशीले २९ रन खर्चेर २ विकेट लिए । बायाँहाते युवा अलराउन्डर कुशल मल्लले ३० रन खर्चिँदै २ विकेट लिए । किशोर महतो र कमलसिंह ऐरीले १–१ विकेट लिए ।


नेपाली राष्ट्रिय टोलीले माघ २२ देखि २९ सम्म कीर्तिपुर क्रिकेट मैदानमा ओमान र अमेरिकासँग एकदिवसीय त्रिकोणात्मक शृंखला खेल्ने छ । मलेसियन टिम मोरङमा भएको मनमोहन मेमोरियल एकदिवसीय क्रिकेट प्रतियोगिता खेल्न पुस अन्तिम साता नेपाल आएको थियो ।

प्रकाशित : माघ १०, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?