२०२१ ट्वान्टी–२० विश्वकपमा नेपाल सोझै ग्लोबल छनोटमा
काठमाडौँ — अर्को वर्ष भारतमा हुने आईसीसी पुरुष ट्वान्टी–२० विश्वकपका लागि नेपालले सिधै ग्लोबल छनोट खेल्ने भएको छ । सन् २०२१ मा हुने ट्वान्टी–२० विश्वकपमा कुल १६ राष्ट्रको सहभागिता रहने छ ।
यसै वर्ष अस्ट्रेलियामा ट्वान्टी–२० विश्वकप हुनेछ । त्यसको पुछारमा रहेका चार टोली, क्षेत्रीय छनोटबाट आएका टोलीहरुसहित जिम्बावे, नेपाल, युएई र हङकङले ग्लोबल छनोटमा सोझै खेल्ने भएको विश्व क्रिकेटको सर्वोच्च निकाय आईसीसीले जनाएको छ ।
२०२० को जनवरी १ यता ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरियताका आधारमा नेपालसहित जिम्बावे, युएई र हङकङलाई ग्लोबल छनोटमा सोझै प्रवेश दिइएको हो । हालको वरियतामा जिम्बावे ११, नेपाल १२, युएई १५ र हङकङ २० औं स्थानमा छ । ग्लोबल छनोटमा १६ टोलीले प्रतिस्पर्धा गर्नेछ र त्यसको शीर्ष चार टोली भारतमा हुने ट्वान्टी–२० विश्वकपमा पुग्ने छ ।
अस्ट्रेलियामा हुन लागेको ट्वान्टी–२० विश्वकपको दोस्रो चरणमा पुग्ने १२ टोली २०२१ मा हुने संस्करणका लागि स्वतः छनोट हुनेछ । अस्ट्रेलियालाई सोझै प्रवेश दिइएको छ । अस्ट्रेलिया हाल शीर्ष स्थानमा छ ।
गत संस्करणमा नेपाल रिजनल छनोटमै पराजित भएपछि ग्लोबल छनोटमा पुग्न सकेको थिएन् । रिजनल छनोटमा नेपालले कतार र सिंगापुरससँग हार बेहोरेको थियो ।
प्रकाशित : माघ ९, २०७६ २०:०६