२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

इस्टर्न ओपनमा बलभद्र अगाडि

सुनसरी — धरानमा जारी सूर्य नेपाल इस्टर्न ओपन गल्फको दोस्रो दिन बुधबार स्थानीय गल्फर बलभद्र राईले अग्रता लिएका छन् । उनले अर्का स्थानीय एमेच्योर नीरज तामाङलाई एक स्ट्रोकले पछि पारेका छन् । पहिलो दिन नीरज अगाडि थिए ।

इस्टर्न ओपनमा बलभद्र अगाडि

निर्वाणा कन्ट्री क्लबको गल्फ कोर्समा बलभद्रले बुधबार ५ अन्डर ६५ स्कोर जोड्दै समग्रमा ६ अन्डर १ सय ३४ स्कोर बनाए । उनले फ्रन्टनाइनमा ३ अन्डर ३३ र ब्याकनाइनमा २ अन्डर ३२ स्कोर बनाए । फ्रन्टनाइनको दोस्रो, पाँचौं, छैटौं र नवौं होलमा बर्डी गरेका उनले चौथो होलमा बोगी खेप्न पुगे । ब्याकनाइनको १७ र १८ औं होलमा बर्डी खेल्दै बलभद्र शीर्षस्थानमा पुग्न सफल भए ।


एमेच्योर नीरज तामाङ १ ओभर ७१ स्कोर जोडे । उनले समग्रमा ५ अन्डर १ सय ३५ स्कोर बनाए । उनलाई धरानकै प्रोटर्न शुक्रबहादुर राईले ३ अन्डर १ सय ३७ स्कोरसाथ पछ्याएका छन् । शुक्रले दोस्रो दिन इभन पार ७० स्कोर जोडे । प्रोतर्फ तेस्रो स्थानमा रहेका शिवराम श्रेष्ठले इभन पार खेल्दै समग्रमा १ ओभर १ सय ४१ स्कोर बनाए ।


कुल ४ ओभर १ सय ४४ स्कोर जोड्दै संयुक्त चौथो स्थानमा शिवकुमार माझी, दिनेश प्रजापति र धनबहादुर थापा छन् भने ५ ओभर १ सय ४५ स्कोरसहित भुवन नगरकोटी र सन्जय लामा संयुक्त सातौं स्थानमा छन् । ६ ओभर १ सय ४६ स्कोर जोड्दै जयराम श्रेष्ठ र दीपक मगर नवौंमा रहँदा एमेच्योरतर्फ नीरजपछि दोस्रो स्थानमा रहेका सुन्दर राईले ७ ओभर १ सय ४७ स्कोर जोडेका छन् ।


कट स्कोर १३ ओभर १ सय ५३ रहेकामा २५ व्यावसायिक र ६ एमेच्योर गल्फरले अन्तिम दिन प्रतिस्पर्धा गर्नेछन् । कट बनाउनेमा प्रोतर्फ विपीन तामाङ, विनोद तामाङ, कृष्णमान राजवाहक, पशुपति शर्मा, टंकबहादुर कार्की, सूर्यप्रसाद शर्मा, रवि खड्का, भुवन रोक्का, रामे मगर, दीपक आचार्य, देवराज पाख्रिन, थामबहादुर राई, संजिवबहादुर नेपाली, भीमसेन चौलागाईं र सुनील केसी छन् । एमेच्योरतर्फ नीरज र सुन्दरसँगै शुक्रराज राई, युवराज भुजेल, जीवन राई र रितेश तामाङले प्रतिस्पर्धा गर्नेछन् ।

कुल पुरस्कार राशि ७ लाख रुपैयाँ रहेको सूर्य नेपाल गल्फ टुर २०१९–२० अन्तर्गत यो दोस्रो प्रतियोगिताको हो । सूर्य नेपाल प्रालिको प्रायोजन तथा नेपाल व्यावसायिक गल्फर्स संघको आयोजनामा जारी प्रतियोगिता विजेताले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले ७५ हजार तथा तेस्रोले ५५ हजार पाउने छन् । शीर्ष २४ प्रो गल्फरले नगद पुरस्कार जित्नेछन् ।

प्रकाशित : माघ ९, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?