३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

खेलकुदमा ‘गुण्डाराज’

दीपक परियार

पोखरा — बक्यौता रकम तिर्नुको सट्टा कास्की जिल्ला फुटबल संघ अध्यक्ष मिलन गुरुङले आइतबार पोखरा क्रियटिभ अवार्ड हाउसका सञ्चालकलाई हातपात गरे । उनै गुरुङ मंगलबार गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) बाट कुटिए । मनाङेले पोखरामा भइरहेको मुख्यमन्त्री कप लिग फुटबलमा मनाङका खेलाडीको व्यवस्थापन नगरेको झोंकमा गुरुङलाई झापड र लात्ती प्रहार गरेका थिए ।

खेलकुदमा ‘गुण्डाराज’

त्यसो त संघका अध्यक्ष गुरुङ झगडामा मुछिएको पहिलोपल्ट भने होइन । प्रतियोगिता गर्ने, रकम बुझाउनुपर्ने ठाउँमा नबुझाउने र पैसा माग्दा गुण्डागर्दी शैली प्रदर्शन गरेर कुटपिटमै उत्रिने उनको स्वभाव हो । अपशब्द उनको मुखमै झुडिन्छ । २०७४ माघ २ मा कास्की फुटबल संघको सातौं अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भए । उनी अघि गोपीबहादुर भट्टराई अध्यक्ष हुँदा कार्यसमितिमा थिए । गुरुङको गुण्डागर्दी शैलीले आजित भएका भट्टराईले राजीनामा दिएपछि प्रथम उपाध्यक्ष धर्म लामिछानेले कार्यबाहक अध्यक्षको जिम्मा लिए । निर्वाचित भएपछि गुरुङ कार्यसमितिमा एक्लै हाबी हुने गरेका छन् । पदाधिकारीको भूमिका निष्क्रियजस्तै छ ।


उनी अध्यक्ष भएपछि दुईपल्ट मनकामना–पोखरा कप फुटबल प्रतियोगिता भयो । सातौं संस्करण फागुन १ देखि १० सम्म हुँदै छ । तयारी सुरु भइसकेको छ । तर अघिल्लो संस्करणकै तिनुपर्ने रकम बाँकी भएकाले विवाद उब्जिएको छ । पोखरा नयाँबजारमा रहेको पोखरा क्रियटिभ हाउसका सञ्चालक रामकृष्ण पौडेलका अनुसार संघबाट उनले १० लाख रुपैयाँ पाउनुपर्नेछ । अघिल्लो संस्करणमा संघले लगेको सिल्ड, मेडल, प्रमाणपत्र लगायत सामग्रीको झन्डै १२ लाख रुपैयाँमध्ये उनले २ लाखमात्रै पाएका छन् ।


गुरुङ एन्फा प्रदेश लिग समितिको कोषाध्यक्ष बनाइएका छन् । समितिले पोखराको भण्डारढिक रंगशालामा मंगलबारदेखि गण्डकी प्रदेशस्तरीय लिग फुटबल गरिरहेको छ । प्रतियोगितामा आवश्यक सामग्री लिन आइतबार गुरुङ क्रियटिभ हाउस पुगेका थिए । सञ्चालक पौडेलले पहिलेको बक्यौता रकम मागेपछि गुरुङ हातपातमै उत्रिए । पौडेलले आइतबार नै जिल्ला प्रहरी कार्यालयमा गुरुङविरुद्ध ठाडो उजुरी दिए । गुरुङले हातपात गर्दै गरेको सीसीटीभी फुटेज आफूसँग सुरक्षित रहेको उनी बताउँछन् । पदाधिकारीले भूमिका नपाउँदा संघको हिसाबकिताब भद्रगोल छ । पोखरा कप आयोजना गर्दा विभिन्न होटलमा खेलाडी राखेको खर्च गुरुङले अहिलेसम्म बुझाएका छैनन् । लेकसाइडको होटल गुडविलमा ४ लाख ८० हजार बुझाउन बाँकी छ । होटल टास्क, होली हेभेन, माउन्ट कैलाश, देउराली ट्राभल्समा समेत उनले उधारो तिरेका छैनन् । रकम माग्दा गुडविल होटलका म्यानेजरलाई उनले उल्टै मुक्का हानेका थिए ।


छैटौं संस्करणको प्रतियोगिताको उपविजेता एपीएफले पुरस्कारवापतको पूरै रकम एक वर्षपछि मात्रै पायो । उत्कृष्ट खेलाडी एपीएफकै राजु नगरकोटीले एक वर्षपछि आफ्नो पुरस्कार पाए । एपीएफका टिम म्यानेजर अमित मल्लले बल्लबल्ल एक वर्षपछि बाँकी रकम पाएको बताए । मनकामना–पोखरा कप घाटामा गएपछि रकम तिर्न केही ढिलो भएको संघ कास्की अध्यक्ष गुरुङ बताउँछन् । ‘केही होटललाई तिर्न बाँकी छ, यो ठूलो कुरा होइन,’ उनले भने, ‘क्रियटिभ अवार्ड हाउसको सामानमा महँगो रेट लगाएको आशंकामा अलि अलि भनाभन भएको हो ।’


बढी रकम माग्दा फाइल फर्कियो

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबल पोखरा रंगशालामा थियो । मैदान तयार भइसकेको थिएन । खेलाडीको चेन्जिङ रूमसमेत तयार थिएन । संघले मैदान व्यवस्थापनको जिम्मा लियो । काठको अस्थायी चेन्जिङ रूम बनायो । फुटबल मैदानको दुबो स्याहारसम्भार गर्ने, चेन्जिङ रूम बनाएवापत् संघले १८ लाख रुपैयाँबराबरको बिल पेश गर्‍यो । १० लाख ५० हजार रुपैयाँ सागअघि नै निकासा भइसकेको थियो । चेन्जिङ रूम बनाउने भारतीयले पैसा पाएनन् । संघसँग पैसा माग्दा गुरुङले ती भारतीयलाई पनि भकुरे । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका उपनिर्देशक कृष्ण तिमिल्सिनाले बिलभौचर खेलकुद मन्त्रालयमा पठाए पनि नमिलेको भन्दै फिर्ता आएको बताए । ‘उहाँहरू (संघ) लाई बिल भौचर मिलाउन पटक–पटक बोलाए पनि आउनुभएको छैन,’ उनले भने ।


सागकै बेलामा रंगशालाभित्र फुटबल प्रशिक्षण मैदान बनाउने जिम्मा संघले पायो । ९२ लाख रुपैयाँ बजेट विनियोजन भयो । मैदान बनाउन उपभोक्ता समिति गठन भयो । संघले ३० लाख रुपैयाँ पेश्की बुझ्यो । साग सकिएसँगै काम पनि रोकियो । राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य राजेश गुरुङले उपभोक्ता समितिले काम नगरेपछि दुई दिनअघि स्वतस्फूर्त रूपमा काम अगाडि बढाएको जानकारी दिए । ‘अब खेलकुदप्रेमी, विज्ञ, विभिन्न क्लब, सामाजिक संघसंस्थाको सहभागितामा प्रशिक्षण केन्द्र बनाउँछौं,’ उनले भने ।


विवादित मुख्यमन्त्री कप लिग

प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले एन्फा कास्की अध्यक्ष मिलन गुरुङलाई मैदानमै भकुरेपछि गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप विवादमा तानियो । आयोजकले भ्रष्टाचार गरेको तर आफ्ना खेलाडीको उचित व्यवस्थापन नगरेको मनाङेले आरोप लगाए । उनले आफूले झापड हानेर ठीकै गरेको सहर्ष स्वीकार्छन् । बुधबार उनले पोखरामा पत्रकार सम्मेलन गरेर आयोजकले मुख्यमन्त्रीकै बेइज्जत गरेको बताए । ‘४ गते खेल हुन्छ भनेर बोलाउने अनि फेरि खेल ७ गते सार्ने, टाइसिटमा पनि फिक्सिङ गर्ने, खेलाडीलाई लजिङ–फुडिङको व्यवस्था नगर्ने, खेलाडीलाई मैदान उपलब्ध नगराउने अनि ठूलो कुरा गरेर हुन्छ,’ उनले भने, ‘मुख्यमन्त्री कप भनेको छ, बद्‍नाम गरेको छ । झापड मैले होइन, अझै मुख्यमन्त्रीले हान्नुपर्ने हो ।’


सर्वसाधारणले नेतालाई कुट्दा समर्थन गर्ने पत्रकारले सांसदले ठगलाई कुट्दा ठूलो ईस्यु बनाएको उनको आरोप थियो । ‘मलाई कुटेकामा कुनै पछुतो छैन । तपाईहरूलाई कुटेर बेठीक गर्‍यो भन्ने लाग्छ भने तपाईहरूको प्रोबलम हो । मलाई एकदमै राम्रो लागेको छ,’ उनले भने । उनले एन्फा अध्यक्ष कर्मा छिरिङलाई झापड हान्न खोज्दा नभेटेपछि रिसको झोंकमा मिलन गुरुङलाई हानेको स्वीकारे । मिलनले बुधबारै उनीविरुद्ध कास्की प्रहरीमा उजुरी दिएका छन् ।


एन्फा केन्द्रीय उपाध्यक्ष कृष्ण थापा प्रदेश लिग समितिको अध्यक्ष भएर आएका छन् । अनियमिततामा मुछिएकै व्यक्तिलाई लिग समितिको कोषाध्यक्ष बनाइनु जायज नभएको उनले बताए । प्रदेश लिगअघि विभिन्न जिल्लामा भएका लिगमध्ये कास्कीका विजेता, उपविजेता र रेफ्रीले समेत हालसम्म रकम नपाएको उनको गुनासो छ । ‘एन्फाका सदस्य नभएका जिल्लाबाट पनि क्लबलाई खेलाइएको छ,’ उनले भने, ‘यो विधानविपरीत हो ।’


तर लिग समितिका अध्यक्ष थापाले सबै जिल्लाबाट सहभागी गराउने मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको चाहना भएकाले त्यसो गरिएको बताए । गण्डकीका ११ मध्ये मुस्ताङ, पर्वत र म्याग्दीमा जिल्ला फुटबल संघ छैन । प्रतियोगितामा तीन जिल्लाका क्लबलाई छनोट चरणमा प्रतिस्पर्धा गराएर एक जिल्ला सहभागी गराइएको छ ।

प्रकाशित : माघ ९, २०७६ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?