मुस्लिम स्वादको फुटबल

‘हाम्रो पूर्खा कश्मीरबाट आए पनि हामी पक्का नेपाली मुसलमान हौं । अझ मैले त नेपाली फुटबल टिमबाट पनि खेलें ।’ 
हिमेश

काठमाडौँ — कमलाक्षीबाट असन झर्दा त्यहाँको आरसीटी भइहाल्यो । जनबहालतर्फ पुग्दा मछिन्द्र । ढोका टोलतिर काठमाडौं क्लब । अनि पाकोतिर ब्वाइज स्पोर्टस । टेबहालको संकटा क्लब भइहाल्यो । सँगै एनआरटी । ठ्याक्कै भित्री काठमाडौंमा ‘ए’ डिभिजनका क्लबको कुनै कमी छैन । अथवा भनौं कम्तीमा कुनै न कुनै समय ‘ए’ डिभिजन खेलेका धेरै क्लब यता छन् । अब प्रश्न मखन इन्द्रचोकको चाहिँ कुनै फुटबल क्लब थियो त ? कि छैन नै ?

मुस्लिम स्वादको फुटबल

मखन इन्द्रचोक भनेपछि छेउकै कश्मीरी बजारको नाम आइहाल्छ । त्यहाँ धेरै अगाडि कश्मीरबाट आएर व्यापार गरेका मुस्लिम समुदाय पाइन्छ । यी मुस्लिम त हुन्, तर व्यापार गर्छन्, विवाहित नारीका लागि अत्यावश्यक पोतेको । त्यति मात्र कहाँ हो, उनीहरू मज्जाले नेपाल भाषा बोल्छन् र आफूलाई नेवार मुस्लिम समेत भन्न गर्व गर्छन् । गज्जब छैन र यो सबै तथ्य ? गज्जब त के छ भने उनीहरूको आफ्नै फुटबल क्लब पनि थियो । २००७ सालको छेउछाउ ।


खुबै लोकप्रिय थियो भनिन्छ, यो क्लब । अनि नाम ? आकाश भैरव क्लब । अब यसलाई मखन इन्द्रचोकको फुटबल टिम नभनेर सुख छ र ? यसको स्थापना गर्ने खेलाडी थिए, समसुद्दिन । उनलाई यो नामले कमैले जान्छन् । बरु शम्भु भनेपछि सबैले चिन्थे, त्यो ताका । यस्तो किनभने उनी आफ्नो जमानाका तगडा फुटबल खेलाडी थिए । त्यसमाथि उनी परे, राजा त्रिभुवनका मिल्ने साथी । समसुद्दिनको गुच्चाटोलमा घर थियो, अझ ठ्याक्कै हेंग्वा गल्लीमा घर थियो भन्दा हुन्छ ।


त्यहाँ त्रिभुवन आफैं आउने जाने गर्थे, समसुद्दिनलाई भेट्न । उनले आकाश भैरव टिमबाट मात्र खेलेनन्, त्यो बेलाको नामी नरेश एघारबाट पनि खेले । अहिले यो सबै चर्चा किनभन्दा यिनै समसुद्दिनका छोरा अफ्ताब उद्दिन त्यो समयको नेपाली फुटबलको इतिहास बताउन सक्ने थोरै स्रोतमध्ये एक हुन् । खुबै चाख मानेर उनी त्यो समयको फुटबल इतिहास भन्ने गर्छन् । उनी अचेल ७६ वर्षका भए । उनलाई पनि धेरैले खास नामबाट चिन्दैनन् ।


‘नेवाः मुस्मां’ भन्नुपर्छ, त्यसपछि भने सबैले चिन्ने हुन्छ, त्यसो भनेको नेवार मुसलमान । ‘ओहो, उब्लेया फुटबल’ उनी दोहोर्‍याएर नेपाल भाषामा यस्तै भन्न गर्छन् । अर्थात् ‘त्यो समयको फुटबल’ । उनको परिचय यत्तिकैमा मात्र टुंगिन्न । अहिले सहिद स्मारक लिग ‘ए’ डिभिजनको फुटबल चलिरहेको छ । यसको लामो न लामो इतिहास छ । लिग त ०११ सालदेखि सुरु भएको हो । सुरुआती वर्षमा कुन टिमले लिग जितेको थियो । खाली त्यसको नाम मात्र छ, अरू थुप्रै जानकारी अब रहेन ।


त्यसमध्ये ०२२ सालको लिग जित्ने टिम थियो, विद्या व्यायाम मन्दिर । यसका एक प्रमुख खेलाडी थिए, प्रसिद्ध योजनाविद् हर्क गुरुङ । सुशील राणाले बागदरबारमा हुर्काएको बढाएको यो क्लबका अर्का प्रमुख खेलाडी हुन्, यिनै अफ्ताब । जब्बर डिफेन्डर थिए । त्यति बेला डिफेन्डरको काम नै डरलाग्दो ट्याकल हान्ने हुने गर्थ्यो । जसले जति बढी डरलाग्दो ट्याकल गर्न सक्थ्यो, त्यो उत्तिकै राम्रो डिफेन्डर हुन्थ्यो । अफ्ताब यस्तै खेलाडी थिए, विपक्षीका फरवार्ड उनीसँग जुध्न पनि डराउँथे । त्यसैले उनी कुनै समय ज्यानमारा डिफेन्डर भनेर पनि बदनाम भए । तर उनी सधैं यस्तै खेलाडी रहेनन्, उनको विद्या व्यायाम मन्दिर जनताले मन पराएको क्लब थियो, किनभने यसले पस्कने खेल सफा र सुग्घर हुन्थ्यो । त्यसो भनेका विद्या व्यायामले खेल्ने शैलीमा भलादमीपन पाइन्थ्यो । यी बाउछोराले एकपल्ट फरक फरक टिमबाट पनि खेले । समसुद्दिन पनि आफैंमा डिफेन्डर थिए, बुवाकै खेल पछ्याएर उनी पनि डिफेन्डर भएका थिए । यी दुई खेलाडीमा एउटा ठूलो अन्तर पनि थियो । त्यो थियो, बुवा समसुद्दिनले कहिले पनि बुट लगाएर खेलेनन्, खाली खुट्टा नै खेले ।


अफ्ताबले भने कहिले पनि खाली खुट्टा खेलेनन्, बुट लगाएरमात्र खेले । उनले सबैभन्दा पहिले संकटाबाट खेले । पछि एनआरटीबाट । विद्या व्यायामसँग पनि जोडिए र बाँकी खेलजीवन त्यही टिमबाट मात्र खेले । उनको परिचय यत्तिमै मात्र टुंगिएन । खासमा उनी हुन्, नेपाली राष्ट्रिय टिमबाट खेल्ने पहिलो पुस्ताका खेलाडी ।



सन् १९६३ मा नेपालले आगा खाँ गोल्डकप खेलेको थियो, त्यो बेलाका पूर्वी पाकिस्तानमा । अब त यो बंगलादेश भयो नै । यो नै नेपाली टिमले खेलेको पहिलो प्रतियोगिता हो । आरबी राजाको नेतृत्वमा १८ सदस्यीय टिम ढाका गएको थियो । प्रशिक्षकदेखि टोली नेता सबै नरशम्शेर थिए । साता दिनको अभ्यासपछि नै नेपाली टिम ढाका उडेको थियो । छोटो समयको तयारी कारण टिमबीच खासै तालमेल भने हुन सकेको थिएन ।


पहिलो खेल ढाका वन्डर्सविरुद्ध थियो, त्यसमा नेपाल ७–१ ले पराजित रह्यो । त्यसमा नेपालका तर्फबाट एकमात्र गोल गर्ने खेलाडी थिए, प्रकाश राणा । त्यसपछि ढाका पुलिसविरुद्ध खेल थियो, जसको नतिजा २–२ को बराबरी रह्यो । त्यसमा नेपालबाट एक गोल त प्रकाशले नै गरे, अर्को गोल बच्चु राणाले । नेपालको तेस्रो खेल इन्डोनेसियाली टिमविरुद्ध थियो । ढाकाबाट फर्केयता उनले केही समय फुटबल खेले र त्यसपछि संन्यास जस्तै लिए ।


यस्तोमा उनी नेपाली राष्ट्रिय टिमबाट खेल्ने पहिलो मुस्लिम खेलाडी हुन् । अझ भनौं, अहिलेसम्मकै एकमात्र मुस्लिम खेलाडी । यसमा भने उनलाई खुबै गर्व छ । नेपाल खेलकुद पत्रकार मञ्चको त्रिपुरेश्वरस्थित कार्यालयमा उनी मंगलबार आए र खुबै छाए । आफ्नो अनुभव उत्तिकै चाख मानेर सुनाए । त्यसक्रममा उनले अन्त्यमा भने, ‘हाम्रो पूर्खा कश्मीरबाट आए पनि हामी पक्का नेपाली मुसलमान हौं । अझ मैले त नेपाली फुटबल टिमबाट पनि खेलें । यो आफैंमा ऐतिहासिक उपलब्धि हो ।’

प्रकाशित : माघ ८, २०७६ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?