आईसीसी लिग २ को तयारी : प्रमुख खेलाडीबिना उत्रने सम्भावना

विनोद पाण्डे

काठमाडौँ — आईसीसी विश्वकप क्रिकेट लिग २ को आफ्नो पहिलो चरणको खेलमा नेपाली टोली केही प्रमुख खेलाडीबिनै उत्रने सम्भावना बढेको छ । नेपालसहित अमेरिका र ओमानसम्मिलित त्रिकोणात्मक लिग २ माघ २२ देखि काठमाडौंमा हुँदै छ । नेपालले पहिलोपल्ट लिग २ मा प्रतिस्पर्धा गर्न लागेको हो ।

आईसीसी लिग २ को तयारी : प्रमुख खेलाडीबिना उत्रने सम्भावना

सन् २०२३ को विश्वकपको छनोट आधार रहेको तीनवर्षे यस प्रतियोगितामा अमेरिकाले ८ र ओमानले ६ खेल खेलिसकेको छ । सहभागी ३ टोलीले एकअर्कासँग त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा २–२ खेल खेल्नेछ । नेपालले अमेरिका र ओमानसँग २–२ खेल खेल्नेछ । नेपालले ओमानसँग माघ २२ मा खेलेर प्रतियोगिताको सुरु गर्नेछ । अर्को दिन ओमानको भेट अमेरिकासँग हुनेछ ।


प्रतियोगिताका लागि नेपालको तयारी हाल पोखरामा चलिरहेको छ । पोखराको बन्द प्रशिक्षण सकिनेक्रममा रहे पनि खेलाडीहरू अझै प्रशिक्षणमा पुगिसकेका छैनन् । पोखरामा नेपालले मलेसियासँग दुई अभ्यास खेलिसकेको छ । बिहीबार तेस्रो तथा अन्तिम अभ्यास खेल खेलेर काठमाडौं फर्किने तयारी गरिरहेको छ । सम्भवतः शुक्रबार नेपालको १४ सदस्यीय अन्तिम टोली घोषणा पनि हुनेछ ।


भेट्रान स्पिनर वसन्त रेग्मी र अलराउन्डर सोमपाल कामी अझै प्रशिक्षणमा पुगिसकेका छैनन् । पुत्रीलाभका कारण वसन्त हाल नेपालगन्जमा छन् । चोटका कारण सोमपाल अझै मैदानबाहिर छन् । उनले चोटकै कारण पोखरा प्रिमियर लिग (पीपीएल) को पनि सबै खेल खेलेका थिएनन् भने इनरुवामा शनिबार सम्पन्न मनमोहन मेमोरियल लिग पनि गुमाएका थिए । दाइको निधनका कारण शरद भेषावकर शनिबार भारतको मुम्बई जानुपरेको छ ।


‘अहिले नेपाली टोलीबारे केही भन्ने सक्ने स्थिति छैन । क्याम्पमा आउन नसकेका खेलाडीहरूलाई रिपोर्ट लेखेर दिन भनेका छौं,’ नेपाल क्रिकेट संघ (क्यान) का सदस्य एवं टिम व्यवस्थापक ऋषि गौतमले कान्तिपुरसँग भने, ‘यो विषयमा क्यानसँग सल्लाह हुन बाँकी छ । के गर्ने भन्ने हो भन्नेमा बीचको बाटो हेरिरहेका छौं । विकल्प पनि हामीले हेरिरहेका छौं । वसन्तले छोरीको न्वारन सकेर १२ गतेपछि मात्र आउँछु भनेको छ, सोमपाललाई चोटबाहेक उसको घरायसी कारण पनि छन् ।’


नेपाली क्रिकेट टोलीका फिजियो विक्रम न्यौपानेले सोमपाल अझै पूर्ण फिट हुन नसकेकाले खेल्न सम्भावना कम रहेको जनाए । ‘भिटामिन डी–३ कमीको कारण उनलाई अझै दुखाइ छ । मसल्सहरू कमजोर हुने गरेको छ । रिह्याब काठमाडौंमै भइरहेको छ, ८० प्रतिशत रिकोभरी भएको छ, पूर्ण फिट भइसकेका छैनन्,’ न्यौपानेले भने, ‘त्यसैले जोखिम नलिने कुरा छ, आधिकारिक निर्णय भने भएको छैन ।’ सोमपाललाई पीपीएल दौरान ढाडमा समस्या देखिएको थियो ।


अस्ट्रेलियाको बिग–बासमा खेलिरहेका लेग स्पिनर सन्दीप लामिछाने नेपाल कहिले फर्किन टुंगो लागिसकेको छैन । उनले मेलबर्न स्टार्सबाट खेल्दै १३ विकेट लिइसकेका छन् । उनको प्रदर्शनमा मेलबर्नले ३ खेलअगावै प्लेअफमा स्थान पक्का गरिसकेको छ । मेलबर्न स्टार्सले अझै दुई लिग खेल्न बाँकी छ । स्टार्सको लिगको अन्तिम म्याच सकेर आउने उनको सम्भावना छ । नेपाली टोली व्यवस्थापक गौतमले सन्दीप फेब्रुअरी २ अर्थात प्रतियोगिता सुरु हुनु तीन दिनअघि नेपाल आउनसक्ने जनाए ।


अमेरिकी टोली घोषणा

नेपालमा हुने लिग २ त्रिकोणात्मक शृंखलाका लागि अमेरिकाले १४ सदस्यीय टोली घोषणा गरेको छ । पोखरामा मलेसिया–११ सँग तीन ५० ओभरको म्याच खेलेर तयार गरिरहेको नेपाल र ओमानसँग खेल्न अमेरिका भने मुम्बईमा अभ्यास खेल खेल्नेछ । भारतीय क्रिकेट बोर्ड र मुम्बई क्रिकेट संघको सहयोगमा अमेरिकाले सचिन तेन्दुलकर जिमखाना मैदानमा मुम्बई क्रिकेट एसोसियसन ११ सँग तीन ५० ओभरको अभ्यास खेल खेल्ने अमेरिकी क्रिकेटले जनाएको छ ।


अमेरिका लिग २ मा ८ मध्ये ६ खेल जितेर शीर्षस्थानमा छ । हालै यूएईमा भएको लिग २ को दोस्रो चरणमा अमेरिकाले यूएई, स्कटल्यान्डसँग ४ मध्ये तीन खेल जित्दै शीर्षस्थानमा पुगेको हो । वेस्ट इन्डिजका पूर्व ब्याट्सम्यान एवं अमेरिकी क्रिकेट छनोट प्रमुख रिकार्डो पावेलले नेपालमा गएर खेल्नुपर्ने अवस्था र दुई टिमको स्थितिबारे पूर्ण जानकार भएर अमेरिकी टिम छनोट गरिएको जनाए । यूएईमा अघिल्लो चरण खेलेको टोलीबाट अमेरिकाले नेपाल आउने टोलीमा कुनै परिवर्तन गरेको छैन ।


स्टिभ टेलरलाई उपकप्तानबाट हटाइए पनि टोलीमा यथावत राखिएको छ ।


अमेरिकी टोली : सौरभ नेत्राभल्कर (कप्तान), स्टिभ टेलर, करिमा गोरे, इयान हल्यान्ड, अक्षय होमराज, इल्मोर हुचिन्सन, एरोन जोन्स, नोस्ठुस केन्जिगे, जेभियर मार्सल, मोनाङ्क पटेल, निसारग पटेल, तिमिल पटेल, क्यामरन स्टेभेन्सन, रस्टी थेरोन ।

प्रकाशित : माघ ८, २०७६ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?