२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

खेलकुदमा आयल निगमको पुनरागमन

काठमाडौँ — त्यो समयलाई नेपाली खेलकुदको स्वर्णिमकाल मान्ने धेरै छन्, जति बेला यसमा संस्थानहरू यसले खुलेर लगानी गर्थे । कुनै समय नेपाल आयल निगमको आफ्नै फुटबल टिम हुन्थ्यो अनि यसले अरू खेलकुदमा पनि सहभागिता जनाउने गर्थ्यो । यो त भयो सबै इतिहास । सम्भवतः ०४६ सालयता नेपाली खेलकुदमा संस्थानको सहभागिता हराउँदै गयो ।

खेलकुदमा आयल निगमको पुनरागमन

यही आयल निगमले लामो समयपछि नेपाली खेलकुदमा पुनरागमन गरेको छ । यसका लागि रोजेको छ नेपाली फुटबलकै सर्वाधिक सफल क्लब मनाङ मर्स्याङ्दीको मुख्य प्रायोजन । कीर्तिमान आठपल्ट सहिद स्मारक लिग ‘ए’ डिभिजन जितेको मनाङले आइतबार आयल निगमसँग एक वर्षको प्रायोजन अनुबन्ध गरेको छ । यसको रकम छ, ३५ लाख रुपैयाँ ।


आयल निगमले आफ्नो ५० औं वार्षिकोत्सवकै बेला यसको संकेत दिइसकेको थियो । जतिबेला अनुबन्धले आकार लियो, आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलको थप संकेत थियो, यो त सुरुआत मात्रै हो । त्यस अवसरमा उनले भने, ‘भविष्यमा हाम्रो अन्य खेलमा प्रवेश गर्ने सम्भावना पनि छ । विगतमा आयल निगमको आफ्नै गर्विलो खेल इतिहास थियो । भविष्यमा थप सहकार्य हुने विश्वास लिएको छु ।’


प्रायोजन सम्झौतामा पौडेलले मनाङका अध्यक्ष छिमी उर्गेनसँग हस्ताक्षर गरे । अबदेखि क्लबले एनओसी मनाङ मर्स्याङ्दीको नामले खेल्नेछ । कार्यक्रमकै अवसरमा अनुबन्धको पहिलो किस्ताका रूपमा प्रायोजनको आधा रकम पनि हस्तान्तरण गरिएको थियो । यस्तै कार्यकारी निर्देशक पौडेलले क्लबका कप्तान कमल श्रेष्ठ र उपकप्तान अन्जन विष्टलाई आयल निगमको लोगो अंकित जर्सी पनि हस्तान्तरण गरे ।


कार्यक्रमका अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले आयल निगमको प्रायोजन कार्यलाई नेपाली खेलकुदमो पुनरागमनको संज्ञा दिए र भने, ‘नेपाली फुटबललाई माथि उठाउने हो भने संस्थानहरूको लगानी निर्णायक हुनसक्छ । अहिलेको अनुबन्धलाई नेपाली फुटबलको पुनर्जीवन भन्दा हुन्छ ।’

प्रकाशित : माघ ७, २०७६ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?