कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ओलम्पिकलाई करातेको कसरत

विनोद पाण्डे

काठमाडौँ — नेपाली करातेले जापानमा यसै वर्ष हुने टोकियो ओलम्पिकमा स्थान पाउने ठूलो आशामा राखेको छ । टोकियोमा जुलाई २४ देखि अगस्ट ९ सम्म हुने आउँदो ओलम्पिक संस्करणमा ११ हजारभन्दा बढी खेलाडी सहभागी हुँदैछन् । जहाँ नेपाली कराते खेलाडी पनि प्रतिस्पर्धा गर्ने दाउमा छन् ।

ओलम्पिकलाई करातेको कसरत

ओलम्पिकमा कराते पहिलोपल्ट समावेश हुँदै छ । तर टोकियो ओलम्पिकसम्म पुग्न करातेको आफ्नै मापदण्ड रहेकाले नेपाली कराते खेलाडीले निकै पसिना बगाउनुपर्नेछ । यही झिनो आशामा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जितेका नवीन रसाइली र अनु अधिकारी छन् । मंसिरमा काठमाडौंमा सम्पन्न सागमा नेपालले करातेको १९ मध्ये १० स्वर्ण जितेको थियो । तर ओलम्पिक छनोट प्रतियोगिताका लागि साग इभेन्टलाई मान्यता छैन ।


वर्ल्ड सिरिज गेममा भाग लिएको, प्रिमियर लिग खेलेको, एसियाली खेलकुद खेलेको, एसियन कराते च्याम्पियनसिप खेलेको हुनुपर्ने ओलम्पिकमा छनोटका लागि राखिएको करातेका मापदण्ड हुन् । यी इभेन्ट्समा सहभागी भएपछि मात्र खेलाडीहरूले वरीयता पाउँछन् । वर्ल्ड सिरिज, प्रिमियर लिगमा एक खेल जितेमा १ सय स्कोर र हार्‍यो भने १५ स्कोर पाउँछन् । यही आधारमा वरीयता निकालिन्छ र त्यसैबाट ओलम्पिकका लागि खेलाडी छनोट हुन्छ । यस्ता प्रतियोगिताहरूमा भने नेपाली खेलाडीले कमै प्रतिस्पर्धा गर्ने गरेका छन् ।

अनु र नवीनसहितको टिम उज्वेकिस्तानमा एसियन कराते च्याम्पियनसिप आफ्नै खर्चमा खेल्न गएको थियो । ओलम्पिक सोलिडारिटीमा परेका कारण अनु र नवीनले टिकट खर्च पाएका थिए । सागमा उज्वेकिस्तान गएको टोलीका अनु र नवीनले मात्र स्वर्ण जितेका थिए । तेक्वान्दोका वीरबहादुर महरा, सुटिङका कल्पना परियार र सुस्मिता नेपाल, भारोत्तोलनका सञ्जु चौधरी र कमला श्रेष्ठ, आर्चरीका तिलक पुन र ज्ञानु अवाले, पौडीका गौरिका सिंह र शुभम् श्रेष्ठ, जुडोका इन्द्रबहादुर श्रेष्ठ ओलम्पिक सोलिडारिटी पाइरहेका खेलाडी हुन् । उनीहरूले मे महिनाबाट सुरु भई ओलम्पिकका लागि छानिनु अघिसम्म सोलिडारिटीबाट आईओसीबाट प्रतिमहिना ५ सय डलर पाउँछन् ।

टोकियो ओलम्पिकका लागि प्रयासरत करातेका नवीन रसाइली फाइल तस्बिर


नवीनको ५ सय ४० र अनुको २ सय ८५ अंक छ । न्यूनतम ५ सय अंक हुनेले मात्र ओलम्पिकमा करातेको सहभागिता जनाउने सम्भावना रहन्छ । एसियाली राष्ट्रबाट ८ खेलाडीले मात्र करातेमा प्रतिस्पर्धा गर्न पाउने छ । त्यसमा ४५ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् । दक्षिण एसियाबाट एकजना खेलाडीमात्र वरीयताभित्र छन् । वरीयताप्राप्त पाकिस्तानका गुलाम अब्बासले नेपालका गंगाराम कुसुवारलाई ५० सेकेन्डभित्र ८–० ले नकआउट गरी १३ औं सागमा स्वर्ण जितेका थिए । अब्बासले दुबईमा बसेर वर्ल्ड सिरिज र प्रिमियर लिग खेल्ने गर्छन् ।


लगातार आन्तरिकसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताको विवादलाई किनारा लगाउने आशामा हाल नेपाल कराते महासंघ तदर्थ समितिमा रहेको छ । तदर्थ समितिमा भए पनि अहिले पनि अन्तर्राष्ट्रिय मान्यता पुरेन्द्रविक्रम लाखेको नेतृत्वमा रहेको विगतकै समितिलाई छ । लाखे नेपाली खेलाडीलाई ओलम्पिकमा पुर्‍याउने प्रयास भइरहे पनि झिनो आशामात्र रहेको जनाउँछन् ।


संघबाट ओलम्पिक सोलिडारिटीका लागि अनु र नवीनको नाम पठाइएको बताउँदै लाखेले त्यसमध्ये एक जना ओलम्पिक जाने सम्भावना देखाउँछन् । वरीयतामा कोही नेपाली खेलाडी नरहेकाले दुवैलाई वाइल्ड कार्डबाट पठाउन प्रयास गरिरहेको लाखेले जनाए । यसको टुंगो भने नेपाल ओलम्पिक कमिटी (एनओसी) ले लगाउने छ । ‘सरकारले पनि कराते खेलाडीलाई ओलम्पिकमा प्रतिस्पर्धा गराउन सहयोग गरिरहेको छ, आयोजक राष्ट्र जापानसँग पनि कुरा गर्न सकिन्छ, तर वाइल्ड कार्ड सिधा बाटो नेपाल ओलम्पिक कमिटी हो,’ लाखेले कान्तिपुरसँग भने, ‘२०२४ को फ्रान्स ओलम्पिकमा पनि कराते समावेश छैन, त्यही भएर यसपालिको ओलम्पिकमा नेपाली खेलाडीलाई समावेश गर्ने हाम्रो प्रयास जारी छ ।’

२०१८ मा इन्डोनेसियामा एसियाली खेलकुद खेलेका अनु अधिकारी र सुनीता महर्जनले सागमा स्वर्ण जितेका थिए । नवीनले एसियाली खेलकुद खेलेका थिएनन् । उनले उज्वेकिस्तानमा एसियन कराते च्याम्पियनसिप, जोर्डनमा सिनियर एसियन च्याम्पियनसिप, जापानमा एकेएफ च्याम्पियनसिप यू–२१, मलेसियामा एकेएफ च्याम्पियनसिप, इन्डोनेसियामा एकेएफ च्याम्पियसिप खेलेका थिए । त्यही कारण उनको अंक ५ सयभन्दा माथि छ ।‘ओलम्पिकमा छनोट हुने लक्ष्य लिएर च्याम्पियनसिप खेल्दै आएको छु,’ नवीनले भने, ‘संघले नाम सिफारिस गरेर पठाएको छ भन्ने सुनेको छु । अरु कोही थाहा छैन । त्यही आशामा बालाजु डोजोमा नियमित प्रशिक्षण गरिरहेको छु ।’

प्रकाशित : माघ ७, २०७६ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?