कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अर्थमन्त्रालय गएर रोकियो सागको पुरस्कार रकम 

नमिता दाहाल

काठमाडौँ — १३ औं सागमा नेपालले अहिलेसम्मकै ठूलो सफलता पाएपछि सरकारले खेलाडीलाई प्रोत्साहन गर्न पुरस्कार घोषणा गर्‍यो । पुरस्कार घोषणा गरेको ४० दिन बितिसक्यो । पदक विजेता खेलाडीहरुलाई सरकारले दिने भनेको पुरस्कार रकम हालसम्म पनि सरकारी प्रक्रियामै अल्झिरहेको छ । जसले सरकारको निर्णयमा खेलाडी शंका गर्न थालेका छन् ।

अर्थमन्त्रालय गएर रोकियो सागको पुरस्कार रकम 

मंसिर २५ गते पदक विजेता खेलाडीलाई वालुवाटार बोलाइ प्रधानमन्त्री केपी शर्मा ओलीले रकमको घोषणा गरेका थिए । उनले स्वर्ण पदक विजेता खेलाडीलाई प्रति स्वर्ण ९ लाख रुपैयाँ, एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रति स्वर्ण ११ लाख, रजतलाई ६ लाख र कांस्य पदक विजेतालाई ३ लाख रुपैयाँ दिने घोषणा गरेका थिए ।

पुरस्कारको घोषणा भए लगत्तै पनि धेरै खेलाडी तथा प्रशिक्षकहरु असन्तुष्ट थिए । सरकारले स्वर्ण पदक विजेता टिमलाई मात्रै प्राथमिकतामा राखी पुरस्कार रकमको घोषणा गरेको र सरकारले रजत र कांस्य पदक विजेता टिमलाई पक्षपात गरेको भन्दै असन्तुष्टि पोखेका थिए ।


‘नपाउनेले त पाएनन् पाएनन्, पाएकाले पनि समयमा पाएनन्,’ एक प्रशिक्षक सरकारको ढिलासुस्ती माथि आक्रोश पोखे, 'अब त हुँदाहुँदा पाउने/नपाउने भन्ने शंका पो बढ्न थाल्यो ।'


राष्ट्रिय खेलकुद परिषदले पुरस्कार रकमको सूची र खेलाडीको नाम तालुक मन्त्रालय पठाइसकेको छ । उक्त पुरस्कार रकमका लागि युवा तथा खेलकुद मन्त्रालयले पनि स्वीकृत गरी आइतबार अर्थ मन्त्रालय पठाइसकेको छ ।


खेलकुद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपाने भन्छन्, ‘हामीले प्रधानमन्त्रीले घोषणा गरे अनुरुप नै खेलाडीहरुको पुरस्कार रकम अर्थ मन्त्रालय पठाएका छौं । अब अर्थबाट सहमति भएर आए पछि मात्रै पूर्ण रुपमा रकमको छिनोफानो हुन्छ ।’


खेलाडीले पाउने भनेको पुरस्कार रकमको लामो सरकारी प्रक्रियाकाले गर्दा अहिलेसम्म पनि उक्त रकम खेलाडीहरुको हातमा पुग्न नसकेको सहसचिव न्यौपानेले बताए ।


नेपालले १३ औं सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य जितेको थियो ।

प्रकाशित : माघ ६, २०७६ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?