कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

दिन्कर द लेजेन्ड

क्लबको नामबारे त्यति बेला धेरै सोचविचार चलिरहेको थियो । नाम जुराउन आयोजना भएको बैठकमा लेख्नका लागि दिन्करले प्रयोग गरेको कलमको नाम रहेछ, थ्रीस्टार ।
हिमेश

काठमाडौँ — अहिले कसैले सुनायो भन्ने लाग्दो हो, के यस्तो पनि हुन सक्छ र ? दिन्कर अमात्यले सन् अस्सीको दशकतिर फुटबल खेल्दा उनको खेल हेर्न मात्रै पूरा भित्री पाटन दशरथ रंगशालामा ओर्लिन्थ्यो । मंगलबजारलाई केन्द्र मानेर त्यसको छेउछाउको पूरा पाटन दिन्करले खेल्दै छ भनेपछि त्रिपुरेश्वरतिर पल्टिने समय थियो, त्यो । 

दिन्कर द लेजेन्ड

रंगशालादेखि घर फर्कंदाको हूल अहिलेको कोपुण्डोलको हिमालयन होटलसम्म पुग्थ्यो । त्यहाँ सडक विस्तार हुन अगाडिसम्म एउटा इनार थियो । त्यही इनारदेखि रंगशालासम्म थ्रीस्टारका समर्थकको बाक्लो आउजाउ चल्थ्यो । नेपाली घरेलु फुटबलमा लोकप्रिय क्लबमा पर्छ, थ्रीस्टार । अझै पनि थ्रीस्टारले खेलेको दिन दर्शकको अभाव हुने गर्दैन ।

यही क्लबका लेजेन्ड खेलाडी हुन्, दिन्कर । थ्री स्टारको स्थापना ०३१ सालतिर भएको थियो र त्यति बेलाका संस्थापक छ जनालाई मानिन्छ । यी ऐतिहासिक नाम हुन्, दिन्कर त भए नै, अरू केदारलाल ख्वसीं, कृष्ण मिश्र, मोतीकाजी शाक्य, राजकाजी लाखे र महबुब खान ।

क्लबको नामबारे त्यति बेला धेरै सोचविचार चलिरहेको थियो । नाम जुराउन आयोजना भएको बैठकमा लेख्नका लागि दिन्करले प्रयोग गरेको कलमको नाम रहेछ, थ्रीस्टार । सुरुमा नामलाई लिएर चलेको छलफलमा सुझाइएको थियो, इलेभेन स्टार भनेर । धेरैलाई यो मन परेन । अनि दिन्करले यही थ्रीस्टारको नाम प्रस्ताव गरे, सबैलाई राम्रो लाग्यो पनि । ‘त्यति बेला हामी केही किशोरले स्थापना गरेको क्लब अहिले समग्र नेपाली क्लब फुटबलकै लोकप्रिय टिम हो भन्दा खुसी र गर्व दुवै लाग्छ,’ उनी भन्छन् ।

त्यति बेला थ्रीस्टारले धेरै खेलमा सहभागिता जनाउने गर्थ्यो । त्यसमध्ये फुटबलको टिमको स्थापना भने यिनै दिन्करको प्रयासले भएको थियो । भित्री पाटनका केही किशोर खेलाडी नियमित फुटबल खेल्थे र यसै क्रममा अनुभव गरे, ‘हाम्रो पनि त फुटबल टिम हुनुपर्‍यो ।’ यसैको नतिजा हो, थ्रीस्टार । ललितपुरमा यसअघि नै दुई क्लब अस्तित्वमा आइसकेका थिए । जावलाखेल त त्यसमध्ये सबैभन्दा पुरानो नै भयो । अझ भनौं, यसको इतिहास त्यत्तिकै पुरानो छ, जति नेपालमा फुटबलको कालखण्ड ।

त्यसपछि फ्रेन्डस क्लब । यसले सन् २०३७ सालदेखि ए डिभिजन लिग खेल्न थालेको हो । थ्रीस्टारका सुरुआती कप्तान दिन्कर नै भए र उनको नेतृत्वमा ०३५ सालमा थ्रीस्टारले पहिलोपल्ट सहिद स्मारक लिगको डी डिभिजनमा सहभागी जनायो र एक वर्ष त्यसमै रह्यो । थ्रीस्टार ०३६ सालमा सी डिभिजन उक्लियो, अनि ०३७ सालमा बी डिभिजन । लगतै ०३८ मा ए डिभिजनमै उक्लियो पनि । यसरी थ्रीस्टारले ०३९ सालदेखि लगातार ए डिभिजन खेलिरहेको छ ।

त्यसभन्दा धेरैअगाडि यही भित्री पाटनको एउटा अर्कै क्लब थियो, फ्रेन्ड्स युनियनको नाममा । यसले ०२४ सालतिरै ए डिभिजन लिगको उपाधि जितेको थियो । त्यसयता क्लबको आरोलो लाग्ने दिन सुरु भए र तल्लो डिभिजन पुगेयता यो सधैंका लागि हरायो । दिन्कर आफैंलाई पनि राम्रोसँग सम्झना छैन, फ्रेन्ड्स युनियनबारे धेरै तथ्य । भलै उनी ५८ वर्षका भए । ललितपुरको अर्को क्लब हो सुनाखरी । शुभजन्मोत्सव कप जितेर तहल्का मचाएको यो क्लब पनि नेपाली लिग फुटबल संरचनामा छैन ।

थ्रीस्टारले ०३८ सालमा बी डिभिजन जित्दाका प्रमुख खेलाडी थिए, गोलरक्षकमा बेखाराज वाद्यकार । अनि डिफेन्समा राजबहादुर अमात्य, दिवाकर राजकर्निकार, कृष्णबहादुर श्रेष्ठ र किसान रानामगर । मिडफिल्डमा यिनै दिन्करसँगै चन्द्र केसी, भाष्कर अमात्य र टेन्डप लेप्चा थिए । फरवार्डमा भने प्रेम चित्रकार र धमेन्द्र शाक्यले खेल्थे । त्यति बेला खेलाडी सब्स्टिच्युट गर्ने चलन खासै थिएन् । बाँसबारीविरुद्धको सेमिफाइनलमा दिन्करले ८८ औं मिनेटमा कर्नरबाट निर्णायक गोल गरेका थिए र यो निकै सुन्दर थियो । फाइनलमा भने थ्रीस्टारले ठमेल ११ लाई हराएको थियो ।

स्कोर २–० रह्यो । त्यसमध्ये पहिलो गोल पवन रानामगरले गरेको थियो भने दोस्रो प्रेमबहादुरले । त्यति बेला थ्रीस्टारको जर्सी थियो, सेता र पहेँलो । थ्रीस्टारले जुन वर्ष पहिलोपल्ट ए डिभिजन खेल्यो, त्यस टिममा दिन्कर थिएन, उनी त्यही बेला अमेरिका पुगिसकेका थिए । एक प्रकारले उनी ऐतिहासिक अवसरबाट चुके । सन् १९८२ को एसियाली खेलकुदमा सहभागी हुने नेपाली टिमका लागि बोलाइएको सुरुआती समूहमा थिए, दिन्कर ।

अन्तिम छनोटको नाम घोषणा हुनुअगाडि नै उनी अमेरिका पुगिसकेका थिए । दिन्कर फेरि ०४३ साल नेपाल फर्के र खेले, ए डिभिजन । यो नै उनले खेलेको एक मात्र माथिल्लो डिभिजनको फुटबल रह्यो । यो यही वर्ष हो, जति बेला मनाङमर्स्याङ्दीले ए डिभिजनमा डेब्यू पनि गरेको थियो । लिग चरणमा दुवै क्लब एउटै समूहमा थिए । त्यसैले ०४३ असार २८ शनिबार यी दुई क्लब दशरथ रंगशालामा भिडे । यो नै यी दुई टिमबीचको पहिलो खेल हो र यसको नतिजा रह्यो, २–२ को बराबरी ।

त्यसमा दिन्करले नै थ्रीस्टारका लागि गोलको खाता खोले, आठौं मिनेटमा । संयोगले यो नै ए डिभिजन लिगमा मनाङले खाएको पहिलो गोल रह्यो । त्यसपछि उसको तर्फबाट मणि शाहले दुई गोल गरे । खेलको अन्त्यतिर ऋतु शाक्यले थ्रीस्टारका लागि बराबरी गोल गरे । यो निकै तनावपूर्ण खेल रह्यो । मनाङले अधिकांश समय १० खेलाडीमा सीमित भएर खेलेको थियो र उसका लागि ऐतिहासिक पहिलो रातो कार्ड खाने खेलाडी रहे, उनै विराटजंग शाही ।

अहिले पनि दिन्कर अमेरिका नेपाल आउने जाने गरिरहन्छन् । जति बेला थ्रीस्टारलाई कुनै सहयोग चाहियो भने सबैभन्दा हात बढाउने यिनै दिन्कर हुने गर्छन् । पछिल्लो समय थ्रीस्टारको कुनै कार्यक्रम हुनुपर्छ, अथवा कुनै खाले जमघट, त्यसका लागि प्रयोग हुने स्थान हो, प्रसिद्ध अशोक हल । त्यसो त अचेल यो हल रहेन, नाम भने कायम छ । दिन्करले नै केही वर्षअगाडि यो हल किनेका थिए । अचेल थ्रीस्टारको पर्यायीजस्तै छ, अशोक हल ।

भर्खरै यसपल्टको लिगको सातौं चरणमा थ्रीस्टार र मनाङ भिड्दा उनी दशरथ रंगशालाको दर्शकदीर्घामा थिए । पछि उनैले खेलका उत्कृष्ट खेलाडीलाई पुरस्कार पनि दिए । संयोग कस्तो रह्यो भने त्यो खेलको नतिजा पनि उही २–२ को बराबरी रह्यो । क्लबको स्थापनादेखि आजको दिनसम्म धेरै वर्ष बिते, तर दिन्करको मनमा अझै पनि केही छ भने त्यो थ्रीस्टारको माया नै हो । दिन्कर क्लब लेजेन्ड हुन् र उनीप्रति अहिलेका थ्रीस्टार समर्थक सबै ऋणी हुनैपर्छ ।

प्रकाशित : माघ ६, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?