२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

आर्मीले गर्‍यो उपाधि रक्षा

मनमोहन मेमोरियल लिग

इटहरी — त्रिभुवन आर्मी क्लबले दोस्रो संस्करणको मनमोहन मेमोरियल लिग (एमएम कप) एकदिवसीय राष्ट्रिय क्रिकेटको उपाधि जतेको छ । इनरुवा रंगशालामा शनिबार सम्पन्न फाइनलमा विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ८५ रनले पराजित गर्दै आर्मीले उपाधि रक्षा गरेको हो । 

आर्मीले गर्‍यो उपाधि रक्षा

गत वर्ष पनि यी दुई टिमले फाइनल खेलेका थिए । दुवैपल्ट पुलिस उपविजेतामा समेटिएको छ । १ सय ८५ रनको लक्ष्य पछ्याएको पुलिसले २४.४ ओभरमा ९९ रनमात्र बनाउन सक्यो । पुलिसका लागि कुशल भूर्तेलले मात्र ३१ रन बनाए । अमित श्रेष्ठले २३ र अनिल शाहले २१ रन जोड्नुबाहेक अन्य ब्याट्म्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । पुलिसलाई सस्तैमा समेट्न आर्मीका देव्रेहाते स्पिनर सुसन भारीले ४ विकेट लिए । उनले ६ ओभरमा २४ रन खर्चिए । अर्का देव्रेहाते स्पिनर शाहब आलमले ३ विकेट लिए । उनले ६.४ ओभरमा १ मेडन राख्दै ३३ रन खर्चिए । कुशल मल्लले २ विकेट र विक्रम सोबले १ विकेट हात पारे ।

टस हारेर ब्याटिङ गरेको आर्मी भने ४८.५ ओभरमा १ सय ८४ रन बनाएर अलआउट भएको थियो । विनोद भण्डारीले ४० रनको योगदान गरे । उनले ६६ बल खेल्दा ४ चौका प्रहार गरे । राजेश पुलामीले ३१, राजु रिजालले २२ र विक्रम सोबले १५ रन बटुले । कुशल मल्लले १३ र रोहित पौडेलले ११ रन जोडे । पुलिसका देव्रेहाते स्पिनर ललितनारायण राजवंशी र स्पिनर दीपेन्द्रसिंह ऐरीले समान ३ विकेट लिए । ललितले १० ओभरमा १ मेडन राख्दै ३२ रन खर्चिए । दीपेन्द्रले ९.५ ओभरमा २७ रन दिए । अर्का देव्रेहाते स्पिनर सागर ढकालले ३ विकेट हात पारे । उनले १० ओभरमा १ मेडन राख्दै २९ रन खर्चे । पवन सर्राफले थप १ विकेट लिए ।

अलराउन्ड प्रदर्शन गरेका आर्मीका सुसन भारी म्यान अफ द म्याच घोषित भए । उनले २१ हजार र ट्रफी पाए । उत्कृष्ट खेलाडीसमेत उनी नै चयन भए । उनले ५५ हजार रुपैयाँ थप हात पारे । सुसनले ४ खेलमा १५ विकेट लिएका थिए ।

सुदूरपश्चिमका विनोद लामा उत्कृष्ट बलरमा चुनिए । उनले ३ खेलमा १४ विकेट लिएका थिए । आर्मीका कुशल मल्ल उत्कृष्ट ब्याट्सम्यान घोषित भए । उनले ४ खेलमा १ शतकसहित १ सय ९६ रन बनाएका थिए । कुशल र विनोदले जनही २१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । उपाधिसँगै आर्मीले ४ लाख ५ हजार रुपैयाँ र उपविजेता पुलिसले २ लाख ५ हजार रुपैयाँ पुरस्कार पाएका थिए । विजेतालाई प्रमुख नेकपाका प्रदेश १ इन्चार्च भीमप्रसाद आचार्य, आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टरका अध्यक्ष ठाकुर गैरे, इनरुवा नगरपालिकाका मेयर राजन मेहता, राष्ट्रिय खेलकुद परिषद्का सदस्य शम्भु आचार्य, आयोजक सेन्टर प्रदेश १ का अध्यक्ष विप्लव घोषले पुरस्कृत गरे ।

प्रकाशित : माघ ५, २०७६ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?