मनाङ र थ्रीस्टारको शैली

काठमाडौँ — नेपाली फुटबलका दुई सफल क्लब मनाङ मर्स्याङदी र थ्रीस्टारबीचको खेलमा सधैं उच्चकोटीको प्रतिस्पर्धा हुने गरेको छ । मुख्य खेलाडीहरू बहिर्गमनका कारण यस सिजनको कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा दुवै टिमले नोक्सानी बेहोरिरहेका छन् । यी दुई टिमबीच लिगको सातौं चरणअन्तर्गत शनिबारको खेल २–२ गोलको बराबरीमा टुंगियो । नतिजा जस्तो भए पनि यो खेलले एक महिनादेखि जारी ‘निरस’ लिगमा उर्जा भरेको छ ।

मनाङ र थ्रीस्टारको शैली

एक भारतीयसहित तीन नयाँ खेलाडी अनुबन्ध गरेपछि सुधारिएको थ्रीस्टारको परम्परागत शैली काउन्टर एट्याकमा केन्द्रित हुनु हो । बल पोसेसन नियन्त्रण राख्दै बढीभन्दा बढी पास खेल्नु र गोल अवसरमा नचुक्नु मनाङको शैली हो । शनिबार दुवै टिम आफ्नो शैलीमा केन्द्रित रहे । खेलमा ४ गोल त भयो, हार–जित भएन ।

‘लिगमा मनाङ र थ्रीस्टारको खेलले अर्कै अर्थ राख्छ । यी दुईको खेल कहिल्यै अरुसँग तुलना हुँदैन । यो धेरै वर्षदेखि चलिआएको हो ।

आज मैदानमा दुवै टोलीले शतप्रतिशत मिहिनेत गरेर खेले । दुवैले केही गल्ती पनि गरे । समग्रमा आजको खेलले लिगको रौनक केही थपेको महसुस भएको छ,’ खेलपछि थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले भने, ‘आज जस्तो स्तरीय खेल हामीले यो लिगमा खेलेका थिएनौं । हाम्रो यसअघिको खेल र आजको खेलपछि मैले महसुस गरेको कुरा के भने टिमले विपक्षी हेरेर प्रदर्शन गर्दोरहेछ । आजको २ अंकभन्दा पनि अघिल्लो खेलमा फ्रेन्ड्ससँग ३ अंक गुमेकामा मलाई नराम्रो लागेको छ ।’

अग्रता लिएर पनि जोगाउन नसक्नुमा केसीको गुनासो थियो । थ्रीस्टारले दुवै गोल सेटपिसमा खाएको थियो । रक्षापंक्तिमा अझै सुधार हुनुपर्ने उनले बताए । ‘आजको खेल हामीले ३ अंक लिन सक्थ्यौं । पहिलो हाफमा हामीले अवसर खेर फाल्यौं, त्यसकै कारबाही बेहोरे जस्तो भयो । दोस्रो हाफमा हामीले गुमाइसकेको खेल फर्कायौं र १ अंक भए पनि लिन सक्यौं,’ उनले थपे, ‘हाम्रो रक्षापंक्तिमा केही तालमेल नमिलेको चाहिँ हो । पहिलो गोल पेनाल्टीमा थियो, त्यसमा मेरो गुनासो रहेन । दोस्रो गोल खाँदा मनाङका चार खेलाडी अनमार्क थिए । रक्षापंक्तिले उनीहरूलाई मार्क गर्न सकेनन् ।’


फ्रेन्ड्ससँग अप्रत्यासित पराजय बेहोरेको थ्रीस्टारले टिमको प्रदर्शन राम्रो बनाउन तीन नयाँ खेलाडी अनुबन्ध गरेको थियो । प्रशिक्षक केसीले उनीहरूकै कारण टिममा सुधार आएको र अग्रपंक्ति अझै बलियो बनेको बताए ।

बराबरीले शीर्षस्थानमा उक्लने मनाङको लक्ष्यमा भने धक्का लागेको छ । अघिल्लो दिन मछिन्द्र पराजित भएपछि मनाङले त्यसको फाइदा उठाउन सकेन । शीर्ष तीन स्थानमा आर्मी, मछिन्द्र र मनाङले समान १३ अंकसहित क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान ओगटेका छन् । आर्मीले १ खेल कम खेलेको छ ।


‘खेलमा हामीले जित्ने योजना बनाएर आएका थियौं । सुरुदेखि नै त्यसमा चुक्यौं । सुरुको १५ मिनेट हाम्रो रक्षापंक्ति तालमेल भइरहेको थिएन । मिडफिल्ड र अग्रपंक्तिमा राम्रो प्रदर्शन भयो । डिफेन्समा हामीले केही कमजोरी देखियो । त्यसमा सुधार गर्नुपर्छ,’ मनाङका प्रशिक्षक धनेश्वर प्रजापतिले भने । खेलमा मनाङका लागि दुई गोल गरेर म्यान अफ द म्याच चुनिएका स्ट्राइकर अन्जन विष्टले ३ अंकका लागि खेले पनि बराबरीमा चित्त बुझाउनुपरेको बताए ।

पछिल्लो दुई दिनको वर्षाले हिलाम्य बनेको दशरथ रंगशालाको मैदानमा थ्रीस्टारले सुरुमै अग्रता लियो । १९ औं मिनेटमा डेब्यू खेलमा भारतीय खेलाडी लाल राम्माभ्राले फ्रिकिकमा गोल गरे । करिब २० यार्डबाट गरेको प्रहार मनाङको पर्खालमाथिबाट गएर गोल हुँदा गोलरक्षक दीप कार्कीले पत्तै पाएनन् ।


पहिलो हाफमा थ्रीस्टारले गोलका थप दुई अवसर गुमाएको थियो । ३९ औं मिनेटमा राम्माभ्राको पासमा पेनाल्टी एरियामा अनमार्क शिव सुवेदीले अवसर गुमाए । पहिलो हाफको इन्ज्युरी समयमा निशान्त खड्काको क्रसमा राम्माभ्राले गरेको हेड मनाङका गोलरक्षक दीपले बचाए ।

मनाङले पनि पहिलो हाफमा तीन अवसर खेर फाल्यो । पाचौं मिनेटमै निशान लिम्बुको छोटो पासमा विमल रानाको प्रहार पोलमा लागेर बाहिरियो । ३० औं मिनेटमा अन्जन विष्टको फ्रिकिक थ्रीस्टारका गोलरक्षक गुइलाउमे प्रिसोले मुस्किलले बचाए । ४१ औं मिनेटमा निशानको ब्याकपासमा विमलको प्रहार पोस्ट माथिबाट आकासियो ।


दोस्रो हाफमा मनाङले सुधारिएको प्रदर्शन गरेको हो । दोस्रो हाफको सुरुमै मनाङले खेल बराबरीमा ल्यायो । अन्जन विष्टलाई शिव सुवेदीले बक्सभित्र लडाएपछि प्राप्त पेनाल्टीमा अन्जन चुकेनन् । ६२ औं मिनेटमा निशानले करिब २५ यार्डबाट गरेको प्रहार बार नजिकैबाट बाहिरियो । ६९ औं मिनेटमा मनाङले खेल बराबरीमा ल्यायो । यसपल्ट पनि अन्जन नै भाग्यमानी बने । अनुशासन कारबाहीमा परेर लिगका ४ खेल गुमाएका अन्जनले कमल श्रेष्ठको फ्रिकिकमा पेनाल्टी क्षेत्रबाट गरेको हेड पोलमा लागेर गोल भएको थियो । ‘मैले पोलमा लागेर बल बाहिरियो भन्ने सोचेको थिएँ । साथीहरूले गोल भनेपछि म सरप्राइज भएँ,’ अन्जनले भने ।

दोस्रो हाफमा रक्षात्मक बन्न बाध्य थ्रीस्टारले एउटै राम्रो अवसर पाएको थियो र त्यसलाई गुम्न दिएन । खेल सकिन ७ मिनेटअघि निशान्त खड्काले बायाँ क्षेत्रबाट गरेको क्रस अनन्त तामाङले गोललाइनबाट हेड गरे । मनाङका गोलरक्षक दीपले क्लियर गर्न नसकेको बललाई राम्माभ्रोले बराबरी गोलका लागि उपयोग गरे ।


जावलाखेलमाथि पुलिस हाबी

सातदाबाटोस्थित एन्फा कम्प्लेक्समा नेपाल पुलिस क्लब दिनको अर्को खेलमा जावलाखेल युथलाई २–० ले हराएर अंकतालिकाको पाँचौं स्थानमा उक्लिएको छ । जावलाखेलले भने लिगमा लगातार दोस्रो हार बेहोरेको छ । ७ खेलबाट पुलिसको ११ र जावलाखेलको ९ अंक भएको छ । समान ११ अंक भए पनि पुलिस थ्रीस्टारसँग गोलअन्तरमा पछि छ ।


पुलिसले हरेक हाफमा १–१ गोल गरेको थियो । २७ औं मिनेटमा सौजन राईले हेड गोलमार्फत पुलिसलाई अग्रता दिलाए । दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा कप्तान सुमन सुवेदीले पनि हेड गोल नै गरे । बाँकी समयमा दुवै तर्फबाट गोल हुन सकेन ।


भाेलिका खेल

एनआरटीविरुद्ध एपीएफ

फ्रेन्ड्स र सरस्वती युथ

एन्फा कम्प्लेक्स, सातदोबाटो

प्रकाशित : माघ ४, २०७६ २१:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?